खरसाङ, (निसं)ः खरसाङृको पार्क लोकेशन मुनि मन्टभियट रोडदेखि हरिजन बिल्डिङ तर्फ जाने बाटो अति जीर्ण बनेको छ। यहाँको बाटो भत्किएर खाल्डा बनेको छ भने भत्किएको बाटोमा गिटी-बालुवा निस्किएकोले पैदल हिँड़ने मानिस अनि गाड़ीको निम्ति समस्या भइरहेको छ।
विगत वर्षमा यहाँको बाटो साह्रै भत्किएकोले स्थानीय मानिसहरूले मिलेर बाटोको मरम्मती गरेका थिए। सिमेन्ट लगाएर मरम्मती गरिएको बाटो धेरै दिन टिक्न सकेन। वर्तमानमा यो बाटो भत्किएर पुनः खाल्डा बनेको छ। हरिजन बिल्डिङ क्षेत्रका मानिसहरू विभिन्न सामग्रीहरू ल्याउन यही बाटोको प्रयोग गर्ने गरेका छन् भने यस क्षेत्रमा बिमारी भएका मानिसहरूलाई गाड़ीमा अस्पताल लैजानको निम्ति यही बाटोको प्रयोग गरिन्छ।
स्थानीय एक चालकले बाटो भत्किएकोले समस्या भइरहेको बताउदै गाड़ी मन्टभियट रोडमा निकाल्नको निम्ति उकालो चढ़ाउँदा बाटो भत्किएको कारण पछितिर चिप्लिने गरेको बताए। बाटो भत्किएकोले रातिको समयमा पैदल हिँड़ा खाल्डामा पस्ने, गिटी-बालुवामा चिप्लिने गरेको पनि कतिपयले बताएका छन्। यो बाटोमा कतिपय सेण्डिकेटका गाड़ीहरू आफ्नो पालो पर्खनलाई पार्किङ पनि गरिने गरिन्छ।












