नारी दर्पण
सञ्जय प्रधान⇒
विदेशमा केही विशेष गर्ने ठूलै सपना लिएर पुगेकी रीना राईलाई आफ्नै गाउँको माटोको सुगन्धले फर्काइल्यायो। आज उनी माटोलाई नै जीवनसित जोड़ेर गाउँका महिलाहरूलाई आत्मनिर्भरताको बाटो देखाइरहेकी छिन्। हरेक महिला आर्थिक रुपले स्वतन्त्र हुनुपर्छ भन्ने उनको सपना छ, र यही सपनालाई अभियान बनाएकी छिन्।
विद्यार्थी हुँदा रीना राई आर्किटेक्ट अर्थात् वास्तुकार बन्न चाहन्थिन्। तर बनिन् समाज निर्माण गर्ने आर्किटेक्ट। आज उनी पूर्व सिक्किमको पाक्योङ जिल्लाको नाम्चेबुङमा ‘स्टुडियो माटो’मा आफ्नै हातले गाउँको माटोबाट कप-प्लेट, पिग्गी ब्यांक (कन्तुर), धुपदानी, फूलदानी, गमला, पाला, स्मृतिचिन्हहरू लगायत विभिन्न किसिमका सुन्दर भाँड़ाकुँड़ाहरू बनाउँछिन्। यही माटोको कला गाउँका महिलाहरूलाई पनि सिकाउँदै आत्मनिर्भरताको बाटो देखाउँछिन्। पश्चिम सिक्किमको पेलिङ निवासी कमल कुमार राई र कुमा राईकी छोरी रीनाले प्राथमिकदेखि बाह्र कक्षासम्म गान्तोकको टाँसी नामग्याल एकाडेमी (टीएनए)मा पढ़िन्। यसपछि कलकताको लरेटो कलेजबाट स्नातक गरिन्। घरको नक्सा बनाउने, घर सजाउने इच्छा हुँदा कलेजमा हुँदै इन्टेरियर डिजाइनरको डिप्लोमा गरिन्।

अस्सीको दशकमा सानो हुँदा हिउँदको छुट्टिमा आफ्नो घर पेलिङ जाँदा भाँड़ाकुटी खेल्दै माटो खेलाउँदै हुर्किन्, कहिले हजुरआमालाई खुशी पार्न दाउराहरू ल्याउँथिन्। पेलिङको सुन्दर वातावरणमा हुर्केकी रीनाले मानव र माटोको सम्बन्ध गहिरो रुपमा बुझेकी छिन्। घरमा हजुरआमा, आमा, काकी सबै नै सिलाइबुनाइमा सिपालु थिए। बाजे ब्रिटिश फौजमा थिए, चियापत्ती घरकै बारीमा उमार्थे- कुरै कुरामा रीना सम्झिन्छिन्। रीना भन्छिन्, ‘‘बोज्यूले हामीलाई बाँसको काँटा बनाउनु लगाएर बुन्न लगाउँथिन्। जसले राम्रो बुन्थे उसले काँटा चलाउन पाउँथे।’’ यस्तै पारिवारिक वातावरणले रीना हातको काममा सिपालु बनिन्।
सन् २००३ तिर अमेरिकामा डाक्टर रहेकी फुपूले उच्च अध्ययनका लागि बोलाइन्। जीवनको उच्च आकांक्षा लिएर ठूलो सपना देखेर अमेरिका गइन्। अमेरिकामा उनको जीवनमा रोचक किसिमले नयाँ मोड़ आयो। एकदिन त्यहाँ ‘आमिश कम्युनिटी’का एक सदस्यले फुपूलाई घरमा बोलाउँदा रीना पनि साथमा थिइन्। अत्याधुनिक प्रविधिले विकसित अमेरिकाजस्तो देशमा पनि ‘आमिश कम्युनिटी’ साधारण पारम्परिक जीवनशैली, साधारण पहिरन र घोड़ागाड़ी प्रयोग गर्छन्, गहिरो धार्मिक आस्थाका लागि परिचित छन्। उनीहरू समुदाय, परिवार र विनम्रतालाई प्रमुखता दिन्छन्। उनीहरूको साधारण जीवनशैलीले रीनालाई आफ्नै ठाउँ सिक्किमको सम्झना गरायो। आफ्नै गाउँको प्राकृतिक सौन्दर्य, संस्कार र संस्कृतिको सुगन्धले उनलाई सात समुद्र पारिबाट खिच्न थाल्यो।

अमेरिकाको रंगीन संसारभन्दा बढ़ी सिक्किमकै हरियाली डाँड़ाकाँड़ाहरू र सानोमा खेलेको माटोमा रीनाले आफ्नो भविष्यसँगै गाउँका महिलाहरूलाई सम्झिन्। एक वर्षमै अमेरिकाबाट फर्किन्, नयाँ सोच लिएर- आफूले सिकेर अरुलाई पनि सिकाउने। अमेरिकाबाट फर्केपछि टीएनएमा शिक्षण पेशामा लागिन्। टीएनएमा किन्डरगार्डनमा पढ़ाउँथिन्, अनि विभिन्न किसिमका हस्तशिल्पहरू सिकाउँथिन् र यसबाट आनन्दित हुन्थिन्।
सन् २००६ मा भारत-चीन व्यापारका लागि नाथुला सीमा खोलिँदा साथीहरूबीच सिक्किमलाई अझ दिगो बनाउनेबारे चर्चा हुन्थ्यो। यसको व्यापार सूचीमा चाइना क्ले (चिनियाँ माटोका सामग्रीहरू) देख्दा रीना आकर्षित भइन्। केही नयाँ सोचकी उनले बाबुलाई माटोका सामग्रीहरू बनाउने पोटरी कला अर्थात् कुम्हार कला सिक्न जाने निर्णय सुनाइन्। निर्णय सुनेर बाबुले छक्क पर्दै भने, ‘‘गुरुमादेखि कुम्हाले हुने हो!’’ यो कला सिकेर आएर अरुलाई पनि सिकाउने निर्णय फेरि सुनाइन्। सिक्किममा पारम्परिक रूपमा नभएको कला हो- पोटरी कला।

पोटरी कला सिक्न सिक्किमको खादी विभागमा जानकारी लिइन्। टीएनएको स्थायी काम छोड़ेर आफूले जमा गरेको रुपियाँ लिएर पोटरी कला सिक्न कर्नाटकतिर लागिन्। कर्नाटकको खानापुरमा सेन्ट्रल भिलेज पोटरी इन्स्टिच्युटमा डिप्लोमा गरिन्। खानापुर पारम्परिक कुम्हार कलाको गाउँ हो। यहाँ उनले देशकै अनुभवी कलाकारहरूबाट उच्च स्तरको पोटरी कला सिकिन्। तालिमको अवधिमा सबै प्रशिक्षणार्थीहरूले आफै माटो बोक्थे, चाल्थे, मुछ्थे र भट्टीको लागि दाउरा बोक्थे, रीनाले पनि यस्तै गरिन्। शिक्षकको स्थायी काम छोड़ेर जीवनको करियरमा जोखिम उठाएको नयाँ मार्ग थियो। कतिले त ‘‘किन बौलाएको?’’ भन्ने प्रश्न गर्थे। कुम्हालेको कामलाई हेर्ने समाजको फरक नजरलाई उनले यो कला हो भन्ने बुझाएकी छिन्।
पोटरी कलामा डिप्लोमा गरेपछि अझ उच्च स्तरमा सिक्ने चाहनाले सन् २००८ मा गोवामा सेरामिक कलाको तालिम लिइन्। गोवामा सेरामिक कलाका सोभिनियरहरू पर्यटकहरूले किनेको देखिन्। यसबाट उनले दिगो जीविकोपार्जनको बाटो देखिन्। उनी भन्छिन्, ‘‘पोटरी वा कुनै पनि कला जबसम्म आफैले प्रयास गर्दैन, शुरु गर्दैन, तबसम्म सिक्दैन। थियोरिटिकली मात्र सिकेर हुँदैन, प्र्याक्टिकल पनि गर्नुपर्छ।’’ सबै तालिम सकेर सिक्किम फर्किइन्।

सिक्किममा पोटरी कला स्थापना गर्न कागजी प्रक्रियाहरू पूरा गर्न चक्कर लगाइन्। काम शुरु गर्न सरकारी लोनका लागि आवेदन फारमहरू बुझाइन्। सन् २००९ मा आफ्नो पुस्तैनी थलो दक्षिण सिक्किमको नाम्ची नजिक गाउँ किताममा किरायमा जमिन लिएर ‘स्टुडियो माटो’ स्थापित गरिन्। कितामबाट शुरु गर्नुको कारण एउटा हो रीनाको पुस्तैनी थलो अर्को हो यहाँको माटो। माटोबारे उनी पुराना कुरा सम्झिन्छिन्, ‘‘किताममा निक्कै रातो माटो छ। हामी सानोमा दशैं-तिहारमा जाँदा यो माटो किन यति साह्रो रातो है! भन्दा काकाले मलाई जिस्क्याउनु हुन्थ्यो- यो चाहिँ हाम्रो पूर्खाहरूको खुन-पसिना भिजेको माटो हो भन्थे।’’ यसैले कितामको माटो रीनाको मनमा बस्यो। पोटरी कलामा मेहनत निक्कै कठिन हुन्छ। यसमा माटो खन्ने, चाल्ने, मुछ्ने, भट्टीमा आगो खेलाउने काम गर्नुपर्छ।
सिक्किममा फरक कला भएको हुनाले उनले प्रशिक्षण गराउनका लागि अनुदान पाइन्। यो अनुदानले मशिनहरू किन्न धेरै सहयोग भयो। यसमा २० जनालाई छ महिनाको प्रशिक्षण गराएर काम शुरु गरियो। यसरी सिक्किममा शुरु भयो पोटरी कला र उत्तरपूर्वीय क्षेत्रमा पहिलो स्टुडियो पोटरी कला। पारम्परिक पोटरी कला र स्टुडियो कलामा फरक हुन्छ। स्टुडियो पोटरीमा रंग गरेर ग्लेज-चमकदार, ग्लास कोटिङका साथ विभिन्न आकर्षक कलाकृति बनाइन्छ भने पारम्परिकमा एकै किसिमको रातो रंग प्रयोग गरिन्छ। शुरुमा उत्पादित माटोका विभिन्न किसिमका आकर्षक सामग्रीहरू सिक्किममा हुने प्रदर्शनीहरूमा लगिन्थ्यो। सिक्किमकै माटोले बनिएका सामग्रीहरू देख्दा सबै खुशी भए। सबैलाई माटो र स्टुडियोको कथा भनिन्।
किरायको जमिनमा एक वर्ष चलाएर किताममै राम्रो माटो भएको जमिन किनेर ‘स्टुडियो’ बनाइन्। नाम्चीबाट उत्पादित सामग्रीहरूको ढुवानीमा असुविधा थियो। सन् २०१९ देखि रीनाकी श्रीमान प्रणित प्रधानको घर प्याक्योङको नाम्चेबुङमा ‘स्टुडियो माटो’ सारियो। सिक्किमको गृह विभागमा कार्यरत् प्रणित प्रधानले रीनालाई हौसला दिन्छन्, धेरै सहयोग गर्छन्। नाम्चेबुङमा सारिएपछि कार्यशालाहरू गर्न थालियो, जसमा पोटरी कलाबारे जानकारी दिइन्छ। रीनाले कयौं महिलाहरूलाई पोटरी कलाको तालिम दिएकी छिन्, अनि यो कार्य निरन्तर चलिरहेको छ। माटो कितामको आफ्नै जमिनबाट चलाउँछिन् र गुजरातबाट पनि किनेर ल्याउँछिन्। यहाँबाट उत्पादित सामग्रीहरूको सिक्किम साथै अन्य राज्यहरूमा माग रहेको छ।
रीना हरेक महिलालाई सिकाएर उद्यमी बनाएर आत्मनिर्भर बनाउन कार्यरत् छिन्। यसको लागि पोटरी क्लस्टर घर घरमा बनाएर नाम्चेबुङलाई ‘पोटरी भिलेज’मा विकसित गर्ने तयारीमा छिन्। उनको यो अभियान सिक्किमको पर्यटनमा नयाँ आयाम बन्नेछ। रीना राईको ‘स्टुडियो माटो’ केवल कार्यशाला होइन, यो महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियान हो- जहाँ माटोले मात्र होइन, जीवनले पनि नयाँ रूप पाउँछ।












