सिक्किमकी छोरी प्रेरणा विष्ट 2026 मा दमन दिउमा आयोजना हुने दोस्रो खेलो इन्डिया बिच गेम्सका लागि छनोट भएकी छिन्। उक्त प्रतियोगिता आगामी 5 देखि 11 जनवरीसम्म सञ्चालन हुनेछ। प्रेरणा बिष्ट हि- गाउँ निवासी पिता सुजन बिष्ट र माता रुपा बिष्टकी कान्छी छोरी हुन् भने उनी नरबहादुर भण्डारी सरकारी डिग्री कलेजमा अध्यनरत छात्रा हुन्।
विष्टले हालै वरिष्ठ महिला वर्गअन्तर्गत 55 किलोग्राम पेनकाक सिलाट (टान्डिङ्ग/फाइट इभेन्ट) मा सिक्किमको प्रतिनिधित्व गर्नेछिन्।
उनको छनोट 23औँ वरिष्ठ राष्ट्रिय पेनकाक सिलाट च्याम्पियनसिप 2025 मा प्रस्तुत उत्कृष्ट प्रदर्शनको आधारमा भएको हो। उनले आफ्नो तौल वर्गमा शीर्ष 8 भित्र स्थान हासिल गरेकी थिइन्। विष्टले यसअघि पनि विभिन्न राष्ट्रिय तथा राज्यस्तरीय प्रतियोगितामा सहभागिता जनाउँदै सिक्किमको नाम उच्च पार्दै आएकी छन्।
सिक्किम पेनकाक सिलाट सङ्घले उनको निरन्तर मेहनत, लगनशीलता र समर्पणको प्रशंसा गर्दै भविष्यमा पनि उनले राज्यलाई थप गौरव दिलाउने विश्वास व्यक्त गरिएको छ। सङ्घले भारतीय पेनकाक सिलाट महासङ्घ खेलकुद तथा युवा मामिला विभाग, सिक्किम सरकार साथै उनका अभिभावकहरूलाई निरन्तर सहयोगका लागि कृतज्ञता समेत ज्ञापन गरेको छ।
सिक्किमेलीहरूका तर्फबाट विष्टलाई आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरिएको छ। उनी सफल भई पदकसहित फर्किउन् भन्ने कामना गरिएको छ।












