खरसाङ, (निसं)ः खरसाङमा अहिले क्रिशमसको तयारी धमाधम चलिरहेको छ। क्रिशमसको अवसरमा यहाँका गिर्जाघरहरू सिँंगार्ने कार्य चलिरहेको छ। क्रिशमसको आगमनलाई ध्यानमा राखेर यहाँको विभिन्न दोकान, होटल, क्याफेहरू पनि सिँगार्ने कार्य गरिएको छ।
क्रिशमसको पूर्व संध्यामा खरसाङ्को विभिन्न स्थानमा प्रि-क्रिशमस कार्यक्रमहरूको पनि आयोजना भइरहेको छ। क्रिशमस नजिक रहेकोले खरसाङ्का धेरै इसाई धर्मवालम्बीहरूले आफ्नो घरको सफाई गर्ने, रङ्ग लगाउने, घरमा तारा झुण्डाउने, रङ्ग-विरङ्गका बिजुली बत्तीहरू जड़ान गर्ने कार्य गरिरहेका छन्। क्रिशमस मनाउन अनि क्रिशमसमा आफ्नो प्रियजन, साथी-भाई, शुभचिन्तकहरूलाई उपहार प्रदान गर्न भनी मानिसहरूको विभिन्न सामग्रीहरू पनि खरिद गरिरहेका छन्। क्रिशमसको अवसरमा खरसाङको रेल स्टेशन यस वर्ष निकै सुन्दर तरिकाले सिँगारिएको देखिएको छ।
क्रिशमसको बारेमा बताउदै युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर एसोसिएशन खरसाङ्का सचिव दीपक लेप्चाले भने, क्रिशमसको तयारी दिसम्बर महिनाको पहिलो हप्तादेखि आरम्भ भएको हो। दिसम्बरको पहिलो हप्तामा इशाई विश्वासीहरूले आ-आफ्नो घरमा तारा झुण्डाएर प्रभु ईशूको जन्मको स्वागत गरेका छन्। यसरी दिसम्बरको पहिलो हप्तादेखि इशाईहरूले आफूलाई आध्यात्मिक रुपमा क्रिशमसको निम्ति तयारी गर्ने गर्छन् अनि दान गर्ने, उपहार प्रदान गर्ने कार्य गर्छन्। खरसाङ्को सन्त पावल गिर्जा घर, सन्त एड्य्रु गिर्जा घर, हिमालय फ्री चर्च, न्यूलाईट चर्च, सन्तमेरिजको सन्त जोहन गिर्जा घर अनि अन्य विभिन्न गिर्जाघरहरूमा क्रिशमसको तयारी धमाधम चलिरहेको छ।
क्रिशमसको अवसरमा सन्त पावल गिर्जा घर अनि सन्त पावल क्याथोलिक समाजको पहलमा एउटा टोली तीनधारेको वृद्धाश्रममा पुगेर त्यहाँका वृद्धा-वृद्धाहरूसित भेट गरेर क्यारोल खेलेका छन्। यसै गरी सन्त पावल गिर्जाघरको करिश्मा समूहका सदस्यले तकदाहाको वृद्धाश्रममा गएर त्यहाँका वृद्ध-वृद्धाहरूसित भेट गरेर क्रिशमसको खुशियाली साझ गरेका का छन्। यसरी नै फातिमा समूहका युवाहरूले मानिसहरूको घरमा गएर वृद्ध-वृद्धा अनि बाल-बिलाकाहरूलाई केक् अनि अन्य उपहार प्रदान गर्दै प्रि-क्रिशमस कार्यक्रमहरू गरिरहेका छन्। सन्त हेलेन्स कनभेन्टका सिस्टरहरूले क्रुशवीर समूहका नानीहरूलाई लिएर प्रि-क्रिशमस कार्यक्रम अन्तर्गत क्रिशमस ट्री उत्सव पालन गरेका छन्। यस समय खरसाङ्का सबै इसाईहरूले आ-आफ्नो घरको सफाई, रंङ्ग लगाउने, क्रिशमसको निम्ति तयारी गर्ने कार्य गरिरहेका छन्।












