संघर्षको लयबाट प्रकाशको सांगीतिक यात्रा

Share this news

सञ्जय प्रधान 

सानोमा आकाशमा ताराहरू हेर्थे, अनि वैज्ञानिक बन्ने सपना देख्थे। मशिनको कामसँग लगाव राख्थे अनि इन्जिनियर बन्ने सपना देख्थे। नियतिको बाटो फेरियो- तर सपना मरेन। ग्यारेजको धुलो र हम्मरको आवाजबीच गीत गाइरहँदा, प्रकाश सुन्दास ‘सकिब’लाई आफ्नै स्वरले सिक्किमको चर्चित गायक बनायो। संघर्षको लयमा संगीतको यात्रा शुरु भयो।

गान्तोकको गैरी गाउँ, तादोङ निवासी बेलमान सुन्दास र कमला सुन्दासका छोरा प्रकाश सानैदेखि गाउँथे, तर घरमा संगीतको वातावरण थिएन। बाल्यकाल कठिन संघर्षमा बित्यो। तीनजना छोरा, एकजना छोरी रहेको परिवारमा बाबुले ग्रिल, वेल्डिङको काम गर्थे। हिउँदमा दुई महिना स्कूल छुट्टि हुँदा बाबुलाई सघाउँथे, र पढ़ाईको खर्च निकाल्थे। समस्याका कारण सन् २००३ मा पढ़ाई रोकिए पनि शिक्षाको आवश्यकता बुझेर ओपन स्कूलबाट सन् २०१२ मा १० कक्षा पास गरे। सानै उमेरमा ग्यारेजमा भारी काम गर्दा गायक बन्छु भन्ने उनले कहिल्यै सोचेका थिएनन्, तर गीत गाउने इच्छा भने थियो।

‘‘संगीत मेरो औषधी हो, जीवनसाथी हो। संगीतले नै मलाई कलाकार बनाएको हो’’

बाबुले गान्तोककै बाइपासको एउटा ग्यारेजमा काम लगाइदिएका थिए। त्यहाँ गाड़ी मुनि पसेर उत्तानो फर्केर सुतेर गीत गाउँदै काम गर्थे। गाड़ी मरम्मतको काम छ वर्ष गरे, इन्जिनहरू बनाउँथे। प्रकाश भन्छन्, ‘‘गुरुजी मदन छेत्रीले मलाई गाड़ीको काम सिकाउनुभयो। पहिलो पटक मारुतीको इन्जिन सफलतापूर्वक बनाउँदा रोएको थिएँ। कहिले दश रुपियाँ पाउँथे, कहिले दुई रुपियाँमै दिन बित्थ्यो। कहिले पानी र बिस्कुट खान्थे। पचास रुपियाँ पाउन ग्यास वेल्डिङको सिलिन्डर आफैँ बोकेर लाने गर्थेँ।’’ उनी भन्छन्, ‘‘सानैदेखि मशिनेरी चीजमा रुचि थियो। गाड़ी बनाउने काममा मजा लाग्थ्यो। मेरो सपना इन्जिनियर र साइन्टिस्ट बन्ने थियो। आकाशका तारा हेर्थें। अरूको घरमा टीभी हेर्दा प्लानेट देखाउँदा ध्यान दिएर हेर्थें।’’ उनले गाड़ी र मोटरबाइकका मोडलहरू पनि राम्रो बनाउँछन्, र बनाएर घरमा संग्रह गरेर राख्छन्।

प्रकाशले काम गर्दै गीत गाउँदा सुपरिचित गायक देवकुमार दुमीले सुने, र गाउने प्रोत्साहन दिए। ‘‘स्कूलमा मातेको अभिनय गर्थेँ, मिमिक्री गर्थेँ, चित्र बनाउँथेँ’’, विद्यार्थी जीवन सम्झँदै उनी हाँस्छन्, र भन्छन्, ‘‘सबैले राम्रो गाउँछ भन्थे। त्यतिबेला दर्शक, रचनाकार, शब्दकार भन्ने के हो थाहा थिएन, गीत मात्रै गाउँथें।’’

घरको आर्थिक अवस्थालाई टेवा दिन सन् २००६ मा नेशनल बिल्डिङ कन्स्ट्रक्सन कम्पनी (एनबीसीसी)मा गाड़ी चालकको नोकरीमा लागेपछि नयाँ मोड़ आयो। उनी भन्छन्, ‘‘मैले गाड़ी चलाउँदा गीत सुनाउँथे। परिमल कुमार दास एनबीसीसीका प्रोजेक्ट म्यानेजर थिए। उनी भन्थे, गाड़ी मात्र होइन, गीत पनि गाउनु। उनले १४ सय रुपियाँ दिएर कोलकातामा इण्डियन आइडलको अडिसनमा पठाए। म गएँ तर छनोट भइनँ।’’ उनको सहयोगलाई सम्झिन्छन्, ‘‘अझै पनि उनले सहयोग गर्छन्।’’ सन् २०१० मा ‘सिक्किम रक स्टार’ प्रतियोगितामा चयन भए, त्यो बेला उनी ट्याक्सी चलाउँथे। सोनिया शेखले संगीतको क्षेत्रमा धेरै सहयोग गरेको उनी बताउँछन्। रियाज घरमै गरे, यसको लागि बाबुले सानो कोठा बनाइदिएका थिए। सन् २०१० मा फेरि इण्डियन आइडलको अडिसन दिएर मुम्बई राउण्डसम्म पुगे। जी सारेगमाप र द् भ्वाइस अफ इण्डियामा पनि छनोट भएर मुम्बई पुगे। परिमल कुमार दासकै सहयोगमा गान्तोक नजिक स्वस्तिकमा छ महिना गायनको प्रशिक्षण लिए।

सन् २०१२ मा दूरदर्शन गुवाहाटीमा गीत गाउन जाँदा सिक्किमकी सुपरिचित गायिका तथा चित्रकार बिमला सी. प्रधान र श्याम प्रधानले सहयोग गरेको प्रकाश बताउँछन्। आफूलाई सहयोग गर्नेहरूप्रति आभार जनाउँछन्, र भन्छन्, ‘‘सिङताममा ‘बसिबियाँलो’का आयोजक मोहन प्रधान निरज, शितल प्रधान, प्रवीण प्रधानले सहयोग गरेका छन्। लोकप्रिय गायक रामकृष्ण ढकालको गीत ‘चरीले त छाड़ेर गइ गयो’ घरमै परफ्युमको डब्बालाई माइक्रोफोन बनाएर गाएका थिए। त्यो भिडियोबारे उनी भन्छन्, ‘‘२०१० तिर भाइरल रिल्स भन्ने थिएन। मैले भिडियो शितल सरलाई पठाएको थिएँ, उनले नयुमा च्यानलमा सुपरिचित पत्रकार निर्मल मगरलाई दिनुभएछ। त्यसपछि निर्मल मगरले मलाई अन्तर्वार्ता लिनुभयो।’’

सन् २०१२ मा नेपालका ठूला उद्योगपति तथा कवि-गीतकार बसन्त चौधरी गान्तोक आउँदा अर्गनाइजेसन अफ् मुजिक्सियन एण्ड आर्टिस्ट अफ् सिक्किम (ओमास)को कार्यक्रममा प्रकाशको गीत मन पराएर काठमाड़ौं बोलाए। बसन्त चौधरीको एल्बम ‘कुच ख्वाइसे कुच बंदिशे’मा ‘तुम्हारी ख्वाइसे’ र ‘जिंदगी से आजकल’ गीत गाए। सन् २०१६ मा शिला वाङ्छेनले एउटा गीत दिएका थिए। उनी भन्छन्, ‘‘सन् २०१८ मा एल्बम निकाल्न तीन लाखको लोन लिएको थिएँ, जुन २०२४ मा तिरें।’’ एल्बम थियो ‘खुला आकाश’, जसका कम्पोजर कल्याण सिंह, एरेन्जर गोपाल रसाइली, निर्देशन छिरिङ एन्जल र रेकर्डिङ एनोक लेप्चाले गरेका हुन्।

सन् २०१६ मा गुवाहाटीमा भएको ‘नर्थ ईष्ट गट ट्यालेन्ट-सिजन २’ मा विजेता बनेका प्रकाश भन्छन्, ‘‘विजयी हुँदा मञ्चको पछि हमाला भयो।’’ सन् २०१५ मा नाम्ची महोत्सवमा पनि १५ हजार रुपियाँको पुरस्कार जितेका थिए। ‘‘संगीत मेरो औषधी हो, जीवनसाथी हो। संगीतले नै मलाई कलाकार बनाएको हो’’, उनी भन्छन्। सन् २०१३ देखि सेन्ट्रल वाटर कमिशनमा गाड़ी चालकका रूपमा कार्यरत उनी गायनबाट विभागमा परिचित छन्, र ‘सर्वश्रेष्ठ कर्मचारी’को सम्मान पाइसकेका छन्। दिल्ली, कलकतामा विभागीय कार्यक्रमका लागि पुग्छन्, र केन्द्रीय मन्त्रीहरूसँग पनि भेट गर्ने मौका पाउने गरेको बताउँछन्। सामाजिक कार्यमा रुचि राख्ने उनी भन्छन्, ‘‘सहयोगका लागि गरिने च्यारिटी शो गर्न रुचाउँछु।’’ पत्नी शेली प्रधानको हौसला पाउँछन्, अहिले सानो छोरालाई गीत सिकाउँदैछन्। नागाल्याण्ड, शिलङ, छत्तीसगढ़, मुम्बई र नेपालका मञ्चमा प्रस्तुति दिइसकेका छन्। सन् २०१७ मा ओडिशाको ‘कलिङ्गा बलियात्रा म्युजिक फेस्टिवल’मा पनि प्रस्तुति दिएका थिए। ‘‘दार्जीलिङको चौरास्तामा गाउने ठूलो इच्छा छ’’, उनी भन्छन्।

गाड़ी मरम्मत गर्ने हातहरू आज माइक समातेर हजारौँ मन जितिरहेका छन्। जीवनका हरेक कठिनाइलाई संगीतको सुरमा पगाल्दै, प्रकाश सुन्दासले प्रमाणित गरेका छन्- सपना जुनसुकै भूमिमा पनि उम्रिन सक्छ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ