मञ्चमा चम्किने मनमा बस्ने प्रबलको सांगीतिक यात्रा

Share this news

सञ्जय प्रधान  

दार्जीलिङको संगीत-आकाशमा आफ्नो मेहनत, स्वच्छ स्वर र मन छुने प्रस्तुति लिएर उदाएका कलाकार हुन् प्रबल थापा। मञ्चमा उभिँदा उनी दर्शक-श्रोतालाई छचल्किएको खुशी दिन्छन्, तर त्यो चमक पछाड़ि लुकेको संघर्ष कमैले मात्र बुझ्छन्। परिवारको संगीतमय वातावरणमा हुर्किएका प्रबल आज दुई दशक लामो यात्राबाट दार्जीलिङका चर्चित गायकका रूपमा स्थापित भइसकेका छन्।

स्व० महेशमान थापा र लता थापाका छोरा प्रबललाई संगीतको प्रभाव परिवारबाटै पर्‍यो। डुवर्सको लंकापाड़ामा बाबु थिए चियाबारीका चिया विशेषज्ञ ‘टी टेस्टर’। बाबुले उच्च गुणस्तर चियाको स्वाद कयौंलाई चखाए भने आज छोरा प्रबलले हजारौं दर्शक-श्रोताहरूलाई नयाँ नयाँ गीतहरू सुनाएर मनोरञ्जन दिइरहेका छन्। प्राथमिक शिक्षा डुवर्समा पूरा गरेर स्कूल कलेज दार्जीलिङमै पढ़े।

दार्जीलिङको तुङसुङ स्थित घरमा प्राय: सबै नै संगीतसितै जोड़िएका हुँदा परिवारको वातावरण संगीतमय थियो। मामा गणेश राई गायक-संगीतकार हुन् भने नेपाली संसारका लोकप्रिय गायक स्व0 अरुण थापा पनि आमापट्टिबाट मामा पर्थे। अरुण थापालाई उनले भेट्न त पाएनन्, तर परिवारमा उनका बारेका र उनका गीतहरू सुने। बाबुले पनि गाउँथे, नाटकहरू गर्थे अनि आमाले पनि गाउँथिन्। कलाकारले भरिभराउ भएको परिवार। घरमा ठूलाहरूले गएको सुन्थे, बाजा बजाएको हेर्थे, र एकदिन आफू पनि गायक बन्ने लक्ष्यलाई मनमा खोपेर राखे। बाल्यकालका कुराहरू सम्झिन्छन् प्रबल।

कलाकार भनेको दु:खमा छ भने पनि खुशी हुनुपर्छ’’

सानो विद्यार्थी हुँदा गाउँका दाज्यूहरूले खोलेको ब्याण्डमा गाउन थालेको प्रबल बताउँछन्। कक्षा सात-आठमै कलिलो उमेरमा सार्वजनिक मञ्चमा गाउन निस्किए। सानो उमेरमै मञ्चको अनुभव बटुले। गाउँदागाउँदै आफ्नो एल्बम निकाल्ने विचार पलायो। आफ्नै कम्पोजिसनका एक-दुईवटा गीत घरमै रेकर्ड गरे। तीनधारेका गायक ग्यालसेन तामाङसँग मिलेर पहिलो एल्बम ‘माया’ निकाल्दै अघि बढ़े। प्रबल भन्छन्, ‘‘यो एल्बम खासै चलेन, रहरमै सीमित भयो।’’ त्यसपछि एकल एल्बम निकाल्ने तयारी शुरु गरे। सन् २००५ मा ‘एम्ब्लेज’ नामको अर्को एल्बम ल्याए। यसैको गीत ‘म मरि गए’ निकै चलेर उनको जीवनमा नयाँ मोड़ बन्यो। यही गीतले उनलाई गायकका रूपमा स्थापित गर्‍यो।

सन् 2005 मा साथीहरूसित मिलेर ‘परिचय’ ब्याण्ड स्थापना गरे। सदस्यहरू छन्-  प्रबल थापा, लगन थापा, अमित दर्नाल, सुशान्त लोहार, प्रशान्त लकान्द्री र पलास बर्मन। प्रशान्त लकान्द्री अहिले इजरायलमा कार्यरत छन्। दुई दशकदेखि ‘परिचय’ले निरन्तर कार्यक्रम दिँदै आएको छ। पछिल्ला तीन वर्षमा टियुन्स नाम जोडियो, र नाम ‘परिचय टियुन्स’ बनेको छ। कार्यक्रमहरूमा ‘प्रबल विथ् परिचय टियुन्स’ भनेर प्रस्तुति हुन्छ।

प्रबल मञ्चमा गाउँदासम्म गायनका लागि कुनै औपचारिक तालिम लिएका थिएनन्, कसैलाई गुरु पनि थापेका थिएनन्। सन् २००८ मा पहिलोपटक नेपाली संगीतका सुपरिचित संगीतकार मणिकमल छेत्रीबाट डेढ़ वर्ष संगीत सिके। त्यसपछि दार्जीलिङका अर्का सुपरिचत संगीतकार प्रदीप छेत्रीबाट तीन वर्ष शास्त्रीय गायनको तालिम लिए। उनले दार्जीलिङका विभिन्न ठाउँसहित डुवर्स, सिक्किम, दिल्ली, असम, बंगलोर, कलकता र विदेशमा सिङ्गापुर, हङकङ, दुबई, नेपाल, भुटानमा कार्यक्रम प्रस्तुत गरिसकेका छन्।

प्रबल गायक मात्र होइन, कम्पोजर पनि हुन्। उनका करिब ११ वटा एल्बम निस्किसकेका छन्। दुई दशकको यात्रामा डेढ़ सयभन्दा बढ़ी गीत गाएर रेकर्ड गरिसकेका छन्, जसमा धेरै गीतका संगीत उनले नै कम्पोज गरेका छन्। ‘माया’, ‘कल्पना’, ‘एम्ब्लेज’, ‘लभ रोड़’, ‘उन्मुक्ति’, ‘उपासना’, ‘एटर्निटी’, ‘माइ ड्रिम्स’, ‘परिचय’, ‘आश्रित’, ‘ट्राफिक’ आदि एल्बमहरू उनका प्रमुख हुन्। उनले चलचित्र ‘तुवाँलो’लगायत टेलिफिल्महरू ‘यहाँ यस्तै छ’, ‘भाग्य विधाता’, ‘निक्की: एउटा तितो सत्य’मा गएका छन् भने गोस्पेल गीतहरू पनि गएका छन्। उनी आकाशवाणी खरसाङका मान्यता प्राप्त गायक हुन्। गीतमा उनी नयाँ प्रयोग रुचाउँछन्। हिन्दी गीतलाई नेपाली शब्द भरेर गाएको गीत ‘क्या मज्जा आउँछ’ निकै चल्यो। यसको शब्द-संगीत दार्जीलिङका संगीतकार इजाज अलिले भरेका हुन्। आज पनि यो गीत युट्युबमा धेरैले सुन्छन्।

दार्जीलिङमा संगीतलाई पेशा बनाउनु निक्कै गाह्रो रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘‘साइडमा एउटा नोकरी हुनेपर्छ। अहिले नयाँ गीतहरू निकाल्नु पनि आर्थिक व्यवस्था जरुरी छ। यसको लागि पनि साइडमा एउटा काम छ भने धेरै राम्रो हुन्छ’’, उनी भन्छन्। युट्युबबाट धेरथोर पैसा पाउने उनी बताउँछन्। पहिला युट्युब नहुँदा एल्बम निकालेर दैलो दैलोमा पुगेर बिक्री गर्नुपर्थ्यो, तर अहिले सजिलो भएको उनी बताउँछन्। ‘‘हिजोआज एउटा मार्केटिङ कम्पनीलाई सम्पर्क गरेर प्रसारण गर्छौं। भ्यूज राम्रो भए पैसा आउँछ। अहिले सुविधा भएको छ, पहिला गाह्रो पर्थ्यो’’, उनी भन्छन्। तर उनको कुराअनुसार, पहिला आठवटा गीत रेकर्डिङमा जति खर्च लाग्थ्यो अहिले एउटा गीत रेकर्डिङमा त्यति नै खर्च लाग्छ। ‘‘अहिले सोसल मिडियाले गर्दा, छिटो उठ्छ’’, उनी भन्छन्।

उनी नेपाली गीत मात्र होइन आफ्नै कम्पोजमा हिन्दी गीतहरू पनि गाउँछन्। हिन्दी गीत ‘तेरे संग’को म्यूजिक भिडीयो हङकङमा छायांकन गरेका छन्। सन् २०२३ मा हङकङमा कार्यक्रम गर्न जाँदा छायांकन गरेका हुन्। उनी एकजना व्यस्त गायक हुन्, प्राय: वर्षभरि नै विभिन्न ठाउँहरूबाट कार्यक्रमको अफर आइरहन्छ। धेरैको भनाइ छ, दार्जीलिङमा संगीतलाई पेशा बनाएर अघि बढ़्नु गाह्रो हुन्छ। यसबारेमा प्रबल भन्छन्, ‘‘यहाँको मार्केट सानो छ। आफ्नो ओरिजिनल गीत हुनु जरुरी छ।’’

दर्शक-श्रोतालाई मनोरञ्जन गराउने प्रबल एकजना गजबकै कलाकार हुन्। सन् २०१४ मा उनको गीत ‘क्या मज्जा आउँछ’ रिलिज भएको थियो। तर, रिलिजको एकदिन अघि बाबुको देहवासन भयो। निक्कै खर्चिएर भव्य कार्यक्रम तयार गरिएको हुँदा सार्न मिल्ने स्थिति थिएन। भोलिपल्ट कार्यक्रममा प्रबल पुगे खादा-माला लगाएनन्, तर एउटा भावनात्मक गीत गाए। सो बेला उनले गाउँदा उनको मनभित्रको पीड़ाबारे कल्पना गर्न सकिँदैन। मनभित्र आफ्नो पीड़ालाई दबाएर गीतबाटै दर्शकहरूका लागि खुशी छरे, अनि कठिन परिस्थितिलाई पार गर्नसक्ने कलाकार बने। ‘‘कलाकार भनेको दु:खमा छ भने पनि खुशी हुनुपर्छ’’, उनी भन्छन्।

अब लोकगीतमा आधारित आधुनिक गीत आउने तयारीमा छ। दुई दशकदेखि उनी संगीतको यात्रामा संघर्षरत् छन्। यस अवधिमा उनले होटलहरूमा पनि गीत गाए। नेपाली संसारलाई राम्रा राम्रा गीतहरू दिन उनी निरन्तर लागिरहेका छन्। अहिलेका युवा पुस्ताले रुचाउने गीतहरू प्रस्तुत गर्ने तयारीमा छन्। ‘‘अहिले आउने नयाँ पुस्ताले धेरै कुरा जानेका छन्। तर, आफ्नो मौलिकता हराउनु भएन’’, उनी भन्छन्। भारतका लोकप्रिय गायक सोनु निगम र नेपाली संसारका लोकप्रिय गायक सुरेश कुमारबाट आफू प्रेरित भएको उनी बताउँछन्। सुरेश कुमारलाई मामा भन्छन्, र प्रत्येक कार्यक्रममा उनको एउटा गीत गाउँछन्।

प्रबल थापाले मौलिकता र मेहनतलाई आधार बनाएर आफ्नो छुट्टै पहिचान सिर्जना गरेका छन्। गीतमार्फत खुशी बाँड़िरहने उनको यात्रा निरन्तर छ- उनका आउँदो सिर्जनाहरूले पनि धेरैको मन छुने विश्‍वास गर्न सकिन्छ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ