Anupama Poojan music journey Darjeeling
Anupama Poojan music journey Darjeeling

नेपाली सुगम संगीतका समर्पित यात्री : पूजन–अनुपमा

Authored By: सञ्जय प्रधान  

Share this news

परिवार, सरकारी सेवाको जिम्मेवारी र संगीतप्रतिको गहिरो प्रेम- यी तीन संसारलाई सन्तुलनमा राख्दै अघि बढ़िरहेका छन् अनुपमा प्रधान र पूजन लोहागन। पेशाले सरकारी कर्मचारी भए पनि उनीहरूको पहिचान नेपाली सुगम संगीतसँग जोड़िएको छ। दशकभन्दा बढ़ी समयदेखि संगीत साधनामा सक्रिय यी दम्पतीमध्ये अनुपमा समर्पित गायिका हुन् भने पूजन गायक मात्र होइनन्, संगीतकार र गीतकारका रूपमा पनि परिचित छन्। बिहेअघि शुरु भएको उनीहरूको सांगीतिक यात्रा दाम्पत्य जीवनपछि अझ परिपक्व बनेको छ, जहाँ व्यस्त जीवनबीच पनि संगीत उनीहरूको साझा सपना र पहिचान बनेको छ।

मिरिकको सिङ्गबुली गाउँमा जन्मिएकी अनुपमा प्रधानको सांगीतिक यात्रा करिब ३० वर्ष पुगेको छ। लोक गायिका आमा राधिका प्रधानकै मार्गदर्शनमा आठ वर्षको उमेरदेखि नै उनले गाउन थालेकी हुन्। उनले करिब ८० वटा गीत रेकर्ड गरिसकेकी छिन्। सन् २०११ मा निस्किएको उनको एल्बम ‘दक्षिणा’ले राम्रो चर्चा पाएको थियो। स्कूल पढ़्दा युथ फेस्टिवलका प्रतियोगिताका लागि आमा स्वयंले उनलाई संगिनी गीत सिकाउँथिन्। पहिलोपटक मञ्चमा उत्रिँदा आमाले मादल बजाइदिएको सम्झना उनी आज पनि स्नेहपूर्वक सुनाउँछिन्।

बाबु देवीलाल प्रधान पनि साहित्य र संगीतका अनुरागी भएकाले घरमै सिर्जनात्मक वातावरण थियो। मिरिकमा अरुण चन्द्र, डी. के. गिरी, थुप्देनला शेर्पा, बिकाश बराइली र सुरेश लाबरहरूको पहलमा खोलिएको मिरिक सुर संगम संगीत महाविद्यालयमा हाल काठमाड़ौ बस्दै आएका सोनादा पचेङ निवासी कैलाश राईबाट शास्त्रीय संगीतको तालिम लिइन्। ‘‘मेरो संगीतको यात्रा घरेलु वातावरणमा शुरु भयो’’, उनी भन्छिन्।

सन् १९९९ मा दार्जीलिङमा गोर्खा दु:ख निवारक सम्मेलनद्वारा आयोजित लोकगीत प्रतियोगितामा उनी विजयी बनिन्। सन् २००८ देखि स्टुडियो रेकर्डिङ शुरु भएको अनुपमा बताउँछिन्। संगीतकै यात्रामा जीवनसाथी भेटिन्-सिक्किमको जोरथाङ निवासी गायक, संगीतकार गीतकार पूजन लोहागन। सन् २०१४ मा दाम्पत्य जीवन शुरु भएदेखि उनीहरूको सिर्जनात्मक संगीत यात्रा निरन्तर चलिरहेको छ। अनुपमा दार्जीलिङ सरकारी महाविद्यालयमा अंग्रेजी विषयकी प्राध्यापिका हुन् भने हिमालयन लिटरेचर एण्ड ट्रान्सलेसन स्टडिज क्षेत्रमा पीएचडी शोधार्थी हुन्।

पूजन लोहागन सिक्किमका सुपरिचित नाटककार तथा अभिनेता स्व. ध्रुव लोहागन र बालकुमारी लोहागनका छोरा हुन्। छ-सात वर्षको उमेरदेखि गीत गाउन थालेका पूजनको सांगीतिक यात्रा करिब ३५ वर्ष बढ़ी भएको छ। उनी सिक्किम सरकारको वाटर वर्कस डिपार्टमेन्ट, गान्तोक जिल्ला मुख्यालयमा वाटर क्वालिटी म्यानेजर पदमा कार्यरत छन्। पूजन र अनुपमा एक छोरी र एक छोराका बाबुआमा हुन्।

श्रीमानसँगै संगीतमा काम गर्दाको अनुभवबारे अनुपमा स्पष्ट भन्छिन्, ‘‘हामीले संगीतलाई पूर्ण पेशा बनाएर अघि बढ़ेका छैनौं- न बिहेअघि, न बिहेपछि। हाम्रो पेशा सुनिश्‍चित भएकाले त्यहाँबाट संगीतका लागि धेरै काम गर्नसक्यौँ।’’ उनी थप्छिन्, ‘‘हाम्रो लक्ष्य संख्या होइन, गुणस्तर हो। वर्षमा एक-दुईवटा भए पनि राम्रो संगीत गर्ने प्रयास गर्छौं। हामीलाई मनपर्ने सुगम संगीत हो।’’

व्यस्त जीवनबीच चुनौती पनि छन्। ‘‘कहिले श्रीमानले, कहिले मैले नानी काखमा लिएर गीत रेकर्ड गर्ने र अन्तर्वार्ता दिने परिस्थिति पनि आएको छ’’, उनी हाँस्दै सम्झिन्छिन्। संगीतमा व्यक्तिगत पहिचानको कुरा गर्दा अनुपमा भन्छिन्, ‘‘दुईजनामा मलाई अलग्गै होस् भन्ने भावना आउँदैन। मेरो व्यक्तिगत पहिचान गायिकाको रूपमा छँदैछ। हामी दुईजनालाई हेर्दाखेरि म पूर्ण रूपमा गायिका मात्र हुँ। श्रीमान गायक, संगीतकार र गीतकार हुन्।’’

श्रीमानको संगीत र अरुको संगीतमा गाउँदाको फरकबारे उनी भन्छिन्, ‘‘अरुको कम्पोजिसन एउटा पूर्ण रूपमा तयार गरेर पस्किएको खाना जस्तै हो। श्रीमानको कम्पोजिसन शुरुदेखि नै सुन्दै आएको हुनाले कतिवटा ठाउँमा सजिलो पनि पर्छ, कतिवटामा अप्ठ्यारो पनि। अप्ठेरो चाहिँ कस्तो भने मैले सुनेर सिकिसकेको, तर कतिवटा स्टुडियोमा बदलिन्छ।’’

बिहेपछि विशेष गरी कला, खेलकुद वा अन्य क्षेत्रमा महिलाको यात्रा रोकिने धारणा समाजमा अझै छ। अनुपमाको माइती र ससुराली दुवै परिवार कलाका साधक भएकाले संगीतको यात्रा रोकिएन। ‘‘तिमी अझै गाउँदैछौ, छोड़ेकी छैनौ?’’ भन्ने प्रश्‍न भने उनले बाहिरबाट सुन्छिन्। अनुपमा भन्छिन्, ‘‘छोरी मान्छेले बिहेपछि संगीत छोड़्नुपर्छ भन्ने धारणा अझै समाजमा छ। यस्ता कुराले कलाकारलाई मनोवैज्ञानिक असर पार्छ। यदि कलालाई साँच्चिकै पहिचान बनाएको हो भने, र बिहेपछि साथ पाइयो भने अझ राम्रो हुनसक्छ।’’ उनी थप्छिन्, ‘‘एउटी महिला कलाकार आमा पनि हुन्छिन् भन्ने कुरा बुझ्न जरुरी छ। संघर्ष त हामीले नै गर्नुपर्छ।’’

पूजन लोहागनले पहिलोपटक मञ्चमा गीत गाउँदा उमेर करिब सात वर्षको थियो। स्कूल पढ़्दा उनले नाटकहरूका लागि गीतहरू रेकर्ड गरेका थिए। सन् २०११ मा निस्किएको आठवटा गीत समेटिएको उनको पहिलो एल्बम ‘निनाद’ले राम्रो चर्चा पायो। त्यसमा रहेको ‘तिम्रो मनमा’ गीत पूजन र अनुपमाले गाएका छन्, जसको शब्द र संगीत स्वयं पूजनकै हो। यसअघि सन् १९९९ मा ‘पश्‍चताप’ एल्बमका लागि उनले स्टुडियोमा गीत रेकर्ड गरेका थिए, जसमा स्वर्गीय विमल सुब्बा र पूजनले स्वर दिएका थिए। पूजन संगीतकार, गायक र गीतकार तीनै रूपमा सक्रिय छन्, तर उनी गायनलाई नै आफ्नो प्रमुख पहिचान मान्छन्। आफ्नै संगीतमा आधारित ‘डायरी’ र ‘झरी’ नामक दुई एल्बम पनि निस्किसकेको छ।

पूजन र अनुपमाको पहिलो एकल कन्सर्ट ‘तिम्रो मेरो गीत’ सन् २०२५ सेप्टेम्बरमा दार्जीलिङ र मिरिकमा भएको थियो। कार्यक्रममा दुवैले आफ्नै गीतहरू गाएका थिए र यसले राम्रो चर्चा कमायो। पूजन आफ्नै सिर्जनाप्रति आत्मलोचना गर्न रुचाउँछन्। ‘‘आफ्नो भूल कति भयो, कति विकास गर्नुपर्छ, के सिक्नुपर्छ- यी कुराहरू नियाल्न मनपर्छ’’, उनी भन्छन्।

पूजनका अनुसार, आफ्नो प्रोजेक्ट गर्दा आफ्नै प्यारामिटर, सीमितता र इच्छाअनुसार गीत जन्मिन्छ। अनुपमाका लागि गीत बनाउँदा गीतमा अनुपमाकै झल्को आउनुपर्छ भन्ने उनको चाहना हुन्छ। कतिपय गीत भने अन्य गीतकारले लेखेका हुन्छन् र त्यस्ता गीतमा अनुपमा मात्र होइन, अन्य गायिकाले पनि स्वर दिएका हुन्छन्। गीत बनाउँदा आफूले पहिला गीतकारसँग सल्लाह गर्ने र त्यसपछि गायिकासँग कुरा गर्ने उनी बताउँछन्, जसले टिमवर्कको अनुभूति दिलाउँछ। कम्पोजरका रूपमा अनुपमालाई मात्र ‘बेस्ट’ बनाउने सोच नभई गायक-गायिकाले सहज रूपमा निर्वाह गर्न सकून् भन्ने चाहना रहने उनको भनाइ छ।

हालसम्म पूजनले करिब ३० वटा गीत गाइसकेका छन् भने ५० भन्दा बढ़ी गीतमा संगीत दिएका छन्। साझा एल्बममा काम गर्दा संगीतकार र श्रीमान्- यी दुई भूमिकाबीच सन्तुलन मिलाउनुपर्ने हुन्छ कि? पूजन हाँस्दै भन्छन्, ‘‘श्रीमतीलाई गाउन लगाउँदा फरक त पर्छ। बुझाइ भए ब्यालेन्स मिल्छ। स्टुडियोमा कहिलेकाहीँ मैले सोचेको जस्तो हुँदैन, तर उसले गरेको परिवर्तन पछि सुन्दा अझ राम्रो लाग्ने पनि हुन्छ। त्यसैले पारस्परिक सहमति महत्त्वपूर्ण हुन्छ। गीत गायक-गायिकाको पनि उत्तिकै हो। जति गीतकार, संगीतकारको अधिकार हुन्छ त्यति नै अधिकार गायक-गायिकाको पनि हुनुपर्छ।’’

परिवार, पेशा र संगीतबीच सन्तुलन राख्दै अनुपमा प्रधान र पूजन लोहागनले आफ्नो सांगीतिक यात्रालाई निरन्तर अघि बढ़ाइरहेका छन्। गुणस्तरीय सिर्जनाका माध्यमबाट नेपाली सुगम संगीतलाई प्रवर्द्धन गर्ने उनीहरूको प्रयास नै आज उनीहरूको पहिचान बनेको छ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ