खरसाङ, (निसं): खरसाङको ब्याङ्क डाँड़ा अथवा कप्तान रामसिंह ठकुरी चोकबाट चिया बगान क्षेत्र, राजबारी, रानीकुप हुँदै दुर्बिन डाँड़ा पछिल्तिरबाट खरसाङ थाना नजिक दोकान डाँड़ा निस्कने लिङ्क रोडको रानीकुप नजिक हावा घर छेउबाट माटो फ्याँकिने कार्य भइरहेको छ। यहाँ माटो फ्याँकिने कार्य भइरहेकोले रोडको यो स्थान जोखिमपूर्ण बनेको छ। यहाँ माटो फ्याँकिएकोले अघिबाटै रोडको यो स्थान खतरनाक अवस्थामा पुगेको थियो भने गत वर्षाकालमा रोडको माथि गएको पैह्रोको माटो पनि सोहोरर यहीँ फ्याँकिएकोले रोडमुनिको अवस्था अझ खतरनाक बनेको छ।
यस स्थानमा भेटियका रानीकुप क्षेत्रका केही महिलाहरूले यस स्थानमा माटो फ्याँक्ने कार्य अघिबाटै भइरहेको बताए। तिनीहरूले यस स्थानमा स्थानीय मानिसहरूको अतिरिक्त बाहिरबाट पनि माटो ल्याएर फ्याँकिने गरिएको पनि बताए। यहाँ माटो फ्याँकिएकोले रोडदेखि मुनि ठूलो भीर बनेको छ, यो भीरमा कुनै मानिस खसेको खण्डमा आफ्नो बचाउको निम्ति समात्ने अथमा अड़कने कुनै रुखपात छैन। यहाँ बाटो मुनि माटो फ्याँकिएकोले यो स्थान ठूलो भीर बनेको छ र रुख-पात सबै निमिट्यान्न भएको पाइएको छ। कुनै गल्तीले मानिस बाटो मुनि खसेको खण्डमा सौझै हजार-बाह्रसय फीट मुनि खस्ने स्थिति देखिएको छ।
यहाँ माटो फ्याँकिने गरिएकोले वर्षाकालमा फालिएको माटो सोहोरिएर तल जाने र यसको तल्लो क्षेत्रबाट मकैबारी चिया बगान, सातघुम्ती अनि लङ्भ्यू क्षेत्रमा लगिएको पानीको पाइपहरू पनि सबै सोहोरेर लगिदिने गरेको त्यस क्षेत्रका मानिसहरूको गुनासो छ। गत वर्षाकालमा पनि यस्तै स्थिति बनेको सातघुम्ती अनि फुलबारीका मानिसहरूले बताएका छन्। यस स्थानमा यसरी माटो फ्याँक्ने कार्यलाई बन्द गर्न पर्ने आवश्यकता देखिएको छ भने धेरै मानिसहरूले यस स्थानमा माटो फ्याँक्ने कार्य बन्द गरिनु पर्ने माग गरेको छ। यहाँ माटो फ्याँक्ने कार्य भइरहेकोले भविष्यमा फालिएको माटोको कारण ठूलो पैह्रो जान सक्ने सम्भावना रहेको पनि मानिसहरूले बताएका छन्।












