खरसाङ, (निसं): दिन प्रतिदिन जताभावी ठूला-ठूला विभिन्न कम्पनीका विज्ञापन होर्डिङ अनि ब्यानरहरूको वृद्धि भइरहेको भए तापनि स्थानीय प्रशासन अहिले पनि मौन देखिएको छ।
गत केहि वर्षदेखि खरसाङ संग्लग्न क्षेत्र सहित दार्जीलिङ पहाड़को विभिन्न ठाँउमा जताभावि ठूला-साना विभिन्न विज्ञापनको होर्डिङ अनि ब्यानरहरू लगाइएको कारण पर्यावरण संगै प्राकृतिक मनोरम दृश्य अवलोकनमा पनि धेरै बाधा देखा परिरहेको छ।
खरसाङ्मा पत्रकारहरूसित बोल्दै कतिपय स्थानीय मानिसहरूले बताए अनुसार, गत केहि वर्षदेखि दार्जीलिङ पहाड़को विभिन्न ठाँउमा जताभावी विभिन्न व्यवसायिक विज्ञापनको होर्डिङ लगाइएको देखिन्छ। उक्त होर्डिङ अनि ब्यानरहरू शहर-बजार संगै पहाड़को विभिन्न प्रमुख मार्गहरूको किनारमा लगाइएको देखिन्छन्। त्यति मात्र होइन, सड़क नजिक रहेको विभिन्न घर, सड़क किनार, मोड़हरूमा ठला होर्डिङहरू लगाइएका हुन्छन्। घरको छतहरू बाहेक सड़क किनारको नजिकमा रहेको विभिन्न सरकारी जमिन पीडब्लुडी, एनएच, चिया कमान, वन विभाग आदि ठाँउहरूमा विभिन्न कमर्शियल विज्ञापनको होर्डिंग लगाइएको देखिन्छ। उक्त जड़ानले अवश्य कतिपय व्यक्ति विशेषलाई फायदा हुने भए पनि, समग्र रूपमा बढ्दो होर्डिंगले वर्तमानमा प्राकृतिक मनोरम दृश्य हेर्नमा बाधा पुऱ्याइरहेको छ भने आउँदो दिनमा पनि पहाड़को पर्यटन व्यवसायमा असर पार्ने प्रबल सम्भावना देखिएको छ ।
उक्त होर्डिङ जताभावी कसले अनि कसको अनुमतिमा लगाइएको हो, कुन स्थानमा लगाउनु पर्ने हो, यी विषयहरूमा पनि सम्बन्धित विभागहरूले उचित पाइला चाल्न पर्ने आवश्यक रहेको कतिपय सचेत नागरिकहरूले बताए छन्। तर यहाँ दुःखको विषय यो हो कि विभिन्न विभाग अन्तर्गत पर्ने विभिन्न स्थानमा होर्डिंग लगाइए तापनि कसैले उक्त विषयमा कुनै ठोस पाइला चालेको देखिएको छैन। यहाँसम्म कि खरसाङ मोटर स्ट्याण्ड साथै विश्व विरासत खरसाङ रेलवे स्टेशन परिसरमा पनि निजी कम्पनीहरूको विज्ञापनको सानो ठूलो बोर्ड एवं होर्डिङ लगाइएको देखिन्छ ।
स्थानीय मानिसको भनाइ अनुसार, पहाड़का मानिसहरूले बुझ्नु पर्छ कि पहाड़मा पर्यटकहरू प्राकृतिक मनोरम दृश्य हेर्न आउने गर्छन्। पहाड़को हरियो वन-जंगल आदि प्राकृतिक दृश्य हेर्न आउँछन्। यस्ता ठूलो-साना ब्यानर अनि होर्डिंगले गर्दा पर्यटकहरूले प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्न सक्दैनन्, जसले गर्दा पहाड़को पर्यटन उद्योगमा आउँदो दिनहरूमा व्यापक प्रभाव पर्ने सम्भावना बढ़ेर जाने सम्भावना रहेको छ। सबैलाई अवगत भएको कुरोनै हो, दार्जीलिङ पहाड़को धेरै वटा राम्रो भ्यू पोइन्ट नजिक ठूला-साना भवनहरू निर्माण भएकोले विगतमा धेरै वटा त्यस्ता भ्यू पोइन्टहरू प्रभावित भइसकेको छ। अर्थात् उक्त विषय एउटा सोचनीय विषय रहेको मन्तव्य स्थानीयहरूले प्रकट गरे।
त्यति मात्र होइन् पर्यावरणसित सम्बन्धित जानकार व्यक्तिहरूले बताए अनुसार, जताभावी लगाइएको होर्डिङ वा ब्यानरले न केवल पहाड़को प्राकृतिक सुन्दरतालाई प्रभावित बनाउछ, तर यस्ता होर्डिङ वा ब्यानरमा लगाईएको रसायनयुक्त रंग वा पदार्थहरूले गर्दा पर्यावरणमा वा पर्यावरण सन्तुलनमा पनि विभिन्न प्रकारले प्रभावित हुने गरेको छ भनी कतिपयको मत छ। जसको कारण दार्जीलिङ पहाड़को स्वच्छ हावा-पानी वा परिवेश पनि बिग्रेर जान्छ। स्थनीय प्रशासन संगै विभिन्न सरकारी विभाग, सचेत नागरिकहरू जताभावी लगाइएको विभिन्न विज्ञापनका होर्डिङहरूलाई लिएर अघि आउनु जरूरी रहेको छ।












