भारतको नेशनल टेस्टिङ एजेन्सी (एनटीए) ले मई ३ मा सम्पन्न ‘नीट (यूजी) २०२६’ परीक्षा प्रश्नपत्र चुहावटको आरोपपछि रद्द गरेको छ। मंगलबार जारी आधिकारिक विज्ञप्तिमा एनटीएले परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेकाले परीक्षा रद्द गर्ने निर्णय गरिएको जनाएको हो। चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस तथा अन्य स्नातक तहका स्वास्थ्यसम्बन्धी पाठ्यक्रममा भर्नाका लागि सञ्चालन हुने उक्त परीक्षामा यस वर्ष देशभरबाट २२ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। परीक्षा रद्द भएसँगै लाखौँ विद्यार्थी तथा अभिभावकमाझ अन्योल र चिन्ता बढेको छ। एनटीएले पुनः परीक्षा सञ्चालन गरिने स्पष्ट पार्दै नयाँ मिति, परीक्षा केन्द्र तथा प्रवेशपत्रसम्बन्धी सम्पूर्ण जानकारी छुट्टै सूचनामार्फत सार्वजनिक गरिने जनाएको छ।
एनटीएका अनुसार विभिन्न राज्यबाट प्रश्नपत्र चुहावट तथा अनियमिततासम्बन्धी उजुरी प्राप्त भएपछि केन्द्रीय निकायहरूसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा केही संगठित गिरोहको संलग्नता देखिएको र प्रारम्भिक प्रतिवेदनले परीक्षा प्रणाली प्रभावित भएको संकेत गरेपछि भारत सरकारको सहमतिमा परीक्षा रद्द गर्ने निर्णय लिइएको बताइएको छ। घटनाको विस्तृत अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई जिम्मा दिइएको छ। यस घटनापछि विपक्षी दलहरूले शिक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् भने विद्यार्थी संगठनहरूले पनि निष्पक्ष पुनः परीक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।












