मिरिक अन्तर्गत थर्बु चियाबारीको निगाले गाउँस्थित ‘निगाले पुरुमछा चामलिङ समाज’ को वर्ष २०२६ को वार्षिक साधारण सभा सम्पन्न भएको छ। यस शुभ अवसरमा समाजले यस वर्षको आई.एस.सी. (I.S.C.) २०२६ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी गाउँ तथा समाजको नाम उच्च राख्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ।
समाजले विद्यार्थीहरूको मेहनत, अनुशासन, लगनशीलता तथा आत्मविश्वासको उच्च प्रशंसा गर्दै सम्मान-पत्र प्रदान गरेको हो। यस वर्षको परीक्षामा:
-
रियन राई: ९५.२५ प्रतिशत अंक (उत्कृष्ट सफलता)
-
बृन्दा चाम्लिङ: ९१ प्रतिशत अंक
-
कृष्ण राई: ८९ प्रतिशत अंक
-
साईदीप राई: ८४ प्रतिशत अंक
उनीहरूलाई समाजका वयोवृद्ध सदस्यहरूको बाहुलीबाट सम्मान-पत्र हस्तान्तरण गरिएको थियो।
विद्यार्थीहरूको यस उल्लेखनीय सफलताले सम्पूर्ण गाउँ र समाजलाई गौरवान्वित बनाएको समाजले जनाएको छ। कार्यक्रममा समाजका सभापति दल बहादुर चामलिङ राई तथा सचिव लक्ष्मण चामलिङ राईले सम्मानित विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। साथै, उनीहरूले आगामी दिनमा पनि समाज र राष्ट्रको विकासमा यी विद्यार्थीहरूले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यसका साथै, निगाले पुरुमछा चामलिङ समाजले गाउँका विद्यार्थीहरू, खेलाडीहरू तथा बिरामीहरूको उपचारमा सहयोग गर्नुका साथै आपत्कालीन अवस्थामा खाद्यान्न सामग्री वितरण गर्दै सामाजिक सेवामा सदैव सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी पनि दिइएको छ।












