दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्ट आज बिजनबारीमा, दार्जीलिङ विधानसभा क्षेत्रबाट भाजपा गठबन्धनका उम्मेदवार श्री नोमन राईको समर्थनमा निर्वाचन अभियानमा सहभागी भए।बिजनबारी बङ्गालको सबैभन्दा ठूलो ब्लकहरुमध्ये एक हो। यो दार्जीलिङ, तराई र डुवर्स क्षेत्रको खाद्य भण्डार हो। जैविक उत्पादनमा समृद्ध र महान् गोर्खा साहित्यकार तथा विचारकहरूको विरासत बोकेको यो क्षेत्र पर्यटन र आर्थिक विकासको अपार सम्भावनाले भरिएको छ। तर टीएमसी सरकारले यो सम्भावनालाई साकार हुन दिएको छैन। जीटीए चलाउनेहरूले व्यक्तिगत लाभमा मात्र ध्यान केन्द्रित गरेका छन्, जनताको कल्याणप्रति उनीहरूको कुनै चासो छैन। सन् २०२५ को भूस्खलन र बाढीले उनीहरूको पूर्ण असफलता उजागर गरेको छ।
पुलबजार पुल भत्किएपछि सम्पूर्ण बिजनबारी क्षेत्र काटियो, थाना लाइन गाउँ अझै अलग्गिएको छ र धेरै परिवारले घर गुमाएका छन्। फेंचेटार र फेदी खोला जस्ता क्षेत्रमा कुनै राहत पुगेन, सड़कहरू अझै क्षतिग्रस्त छन् र लोधोमा पब्लिक ग्राउन्ड पहिरोले पुरिएको छ। राज्य सरकार र जीटीए दुवै अनुपस्थित रहे। यसको विपरित, भाजपा र हाम्रो गठबन्धन नेताहरूले प्रभावित परिवारहरूसम्म पुगेर सहयोग गरे। दुर्गम गाउँहरूमा पुगेर पीडित परिवारहरूको साथमा उभिए। हामीले पूर्वाधार पुनर्निर्माणका लागि कोष स्वीकृत गर्यौं, तर टीएमसी सरकारले आजसम्म ती रकम रोकेर राखेको छ। यसका बाबजुद हाम्रा कार्यकर्ताहरू घर-घर पुगेर राहत वितरणमा जुटिरहे। सम्पूर्ण बिजनबारी ब्लकमा स्वास्थ्य सेवालाई पूर्ण रूपमा बेवास्ता गरिएको छ। सड़क, शिक्षा र यातायात बेवास्ता गरिएका छन्। यहाँ शिक्षा, सम्पर्क (कनेक्टिभिटी), सड़कलाई बेवास्ता गरिएको छ। हाम्रो पहाड़ी क्षेत्रका मानिसहरूलाई अनन्त रूपमा दुःख भोग्न बाध्य बनाइएको छ।
तर केन्द्र सरकारका योजनाहरू मार्फत बिजनबारी ब्लकमा प्रगति भइरहेको छ। पीएमजीएसवाई अन्तर्गत १७३ करोड रुपैयाँको लागतमा २३० किलोमिटर ग्रामीण सडक निर्माण गरिएको छ। कैंजले देखि माने भञ्ज्याङ्ग (बिहिबारे-रेलिङ हुँदै), बिजनबारी देखि लोधोमा (कैंजले हुँदै) र लेबोङ देखि यांकु जोडिने सड़कहरू निर्माणाधीन छन्। पीएमएवाई-ग्रामीण अन्तर्गत २०५० भन्दा बढी घरहरू निर्माण भएका छन्। “हर घर जल” योजनाअन्तर्गत १२७१५ घरहरूका लागि पानी जडान स्वीकृत गरिएको छ। हामी आउने दिनहरुमा राम्रो सड़क र कनेक्टिभिटी, पर्यटन विकास, मजबुत आपदा व्यवस्थापन, किसानहरूलाई सहयोग, विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा र युवाहरूका लागि रोजगारी सिर्जना गर्नेछौं। सरकारी कर्मचारीहरूका लागि हामी सातौं वेतन आयोग लागू गर्नेछौं र यससँग सम्बन्धित सुविधाहरू प्रदान गर्नेछौं। हामी चिया बगानका कर्मचारीहरूलाई परजा पट्टा अधिकार प्रदान गर्नेछौं र सरकार गठन भएपछि नयाँ श्रम संहिताहरू तुरुन्त लागू गर्ने बिष्टले बताए। हाम्रो दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनता न्याय, सम्मान, विकास र राम्रो शासनको हकदार छन्। वास्तविक परिवर्तनका लागि म बिजनबारी क्षेत्रका प्रत्येक मतदातालाई भाजपा गठबन्धनको समर्थन गरि श्री नोमन राईलाई विजयी बनाउन आह्वान गरे।












