इण्डियन गोर्खा जनशक्ति फ्रन्टका केन्द्रीय प्रवक्ता तथा सभासद जितेन राईको टोलीले जिल्ला प्रशासनसमक्ष ज्ञापन पत्र चढाएको छ।
पूर्वघोषित कार्यक्रमअनुसार आज दार्जीलिङ पहाडका विभिन्न क्षेत्रमा रहेका फरेस्ट भिलेजहरूमा बसोबास गर्दै आएका बासिन्दाहरूलाई टाइटल डिड अविलम्ब प्रदान गर्नुपर्ने माग गर्दै सम्बन्धित विभागीय अधिकारीहरूलाई ज्ञापन बुझाइएको हो।
यसै क्रममा आइजीजेएफका केन्द्रीय प्रवक्ता तथा निर्वाचित सभासद जितेन राई तथा केन्द्रीय कार्यकारिणी सदस्य एवं निर्वाचित नगरपार्षद गोपाल परियारको टोलीले अतिरिक्त जिल्ला अधिकारी राम तामाङसँग भेट गरी ज्ञापन पत्र हस्तान्तरण गरेको छ। जिल्ला अधिकारीसँग भेट हुन नसकेपछि टोलीले अतिरिक्त जिल्ला अधिकारीसँग भेट गरेर छलफलसमेत गरेको थियो।
फरेस्ट भिलेजहरूमा बसोबास गर्दै आएका बासिन्दाहरूले आफ्नो जग्गा–जमिनको टाइटल डिड अविलम्ब पाउनुपर्छ भन्ने हाम्रो माग रहेको छ। फरेस्ट राइट्स एक्ट, 2006 मा राज्य सरकारलाई वन बस्ती तथा फरेस्ट भिलेजहरूमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षा प्रदान गर्ने निर्देश जारी गरिएको छ। उक्त एक्टले फरेस्ट भिलेजहरूमा बसोबास गर्ने जनजाति तथा अन्य वर्गका मानिसहरूलाई जग्गा–जमिनको टाइटल डिड प्रदान गर्ने व्यवस्था गरेको छ।
छलफलका क्रममा अतिरिक्त जिल्ला अधिकारी तामाङले फरेस्ट भिलेजहरूमा बसोबास गर्ने अधिकांश जनजातिहरूले टाइटल डिड प्राप्त गरिसकेको जानकारी गराएका थिए। तर 2006 को एक्टअनुसार अन्य वर्गका मानिसहरूले 75 वर्षभन्दा अघिदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने प्रावधान रहेकाले आवश्यक कागजात प्रस्तुत गर्न नसक्दा टाइटल डिड प्राप्त गर्न असुविधा भइरहेको बताइएको छ।
हामी धेरै वर्षअघिदेखि फरेस्ट भिलेजहरूमा बसोबास गर्दै आएको भए पनि आवश्यक कागजात संरक्षण गर्न नसक्दा यस्तो स्थिति सिर्जना भएको हो। तर यसको समाधान पनि निकाल्न सकिन्छ। फरेस्ट भिलेजमा ग्राम सभा गठन भई वास्तविक बसोबासकर्ताको पहिचान गरेर टाइटल डिडको मार्ग प्रशस्त गर्न सकिने प्रावधान रहेको जानकारी हामीले पाएका छौँ।
फरेस्ट भिलेजहरूमा बसोबास गर्ने मानिसहरूको सुविधालाई ध्यानमा राख्दै सडक लगायतका पूर्वाधार निर्माण कार्य भइरहे पनि वन विभागबाट अनुमति नपाउँदा त्यहाँका बासिन्दाहरू आधारभूत सुविधाबाट वञ्चित भइरहेका छन्। त्यसैले जिल्ला प्रशासनले यस विषयमा उचित प्रावधानको व्यवस्था मिलाइदिनु पर्ने अनुरोध अतिरिक्त जिल्ला अधिकारी तामाङसमक्ष राखिएको छ।












