गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ ब्लक–१ अन्तर्गत ३६ नम्बर समष्टिका प्रतिनिधिबर्ग, गोर्खा राष्ट्रिय नारी संगठनका पदाधिकारी तथा सक्रिय कार्यकर्ताहरूले पार्टी अध्यक्ष मन घिसिङ सँग दार्जीलिङ स्थित गोरामुमो केन्द्रीय कार्यालयमा महत्वपूर्ण शिष्टाचार तथा संगठनात्मक भेटघाट गरेका छन्।उक्त भेटघाटका क्रममा पार्टीको वर्तमान संगठनात्मक अवस्था, आगामी राजनीतिक कार्यक्रम, जनसम्पर्क अभियान तथा समष्टिस्तरमा संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ। प्रतिनिधिहरूले आफ्नो क्षेत्रका विभिन्न जनसमस्याहरू, कार्यकर्ताहरूको भावना तथा संगठन विस्तारसम्बन्धी सुझावहरू अध्यक्ष मन घिसिङ समक्ष राखेका थिए। भेटघाटमा अध्यक्ष मन घिसिङले पार्टीको मूल विचारधारा, गोर्खा जातिको अधिकार तथा गोर्खा समुदायको राजनीतिक अस्तित्वको पक्षमा गोरामुमो निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै संगठनलाई गाउँ–गाउँसम्म मजबुत बनाउँदै लैजान सबै कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। यस अवसरमा गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरूले महिलाहरूको राजनीतिक सहभागिता र संगठनात्मक भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए। साथै, पार्टीको आगामी रणनीतिलाई सशक्त बनाउन महिला शक्ति र युवावर्गको सक्रिय सहभागिता आवश्यक रहेको कुरामा पनि विशेष जोड दिइएको थियो। भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको साथै यसले पार्टी संगठनलाई अझ मजबुत, गतिशील र जनमुखी बनाउने विश्वास व्यक्त गरिएको छ।












