सिद्राबुङ शाखाका प्रतिनिधिहरुद्वारा गोरामुमो अध्यक्ष मन घिसिङसँग भेटघाट, सांङ्गठनिक विषयमा महत्वपूर्ण छलफल। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ऋषिहाट–रक गार्डन–ब्लुम्फिल्ड समष्टि अन्तर्गत सिद्राबुङ शाखाका प्रतिनिधिहरुले समष्टि सचिव सत्यन राईको नेतृत्वमा दार्जीलिङस्थित गोरामुमो केन्द्रीय कार्यालयमा गोरामुमो अध्यक्ष मन घिसिङ सँग भेटघाट तथा शिष्टाचार संवाद गरेका छन्। उक्त भेटघाटका क्रममा संगठन सुदृढीकरण, शाखास्तरीय गतिविधि, जनसम्पर्क विस्तार तथा समष्टिभित्र पार्टीलाई अझ मजबुत बनाउने विषयमा विस्तृत चर्चा परिचर्चा भएको बताइएको छ। प्रतिनिधिहरुले स्थानीय स्तरमा संगठन विस्तारलाई तीव्रता दिँदै जनताको भावना अनुरूप कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए। यस अवसरमा अध्यक्ष मन घिसिङले पार्टीका कार्यकर्ताहरुलाई एकजुट भई जनताको पक्षमा निरन्तर कार्य गर्न आह्वान गर्दै संगठनलाई जरा स्तरसम्म सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए। साथै उनले युवावर्ग तथा नयाँ कार्यकर्ताहरुलाई पार्टीको विचारधारासँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।












