गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङ ब्रान्च कमिटी अन्तर्गत तक्दाह–ग्लेनबोर्ण समष्टिका अध्यक्ष श्री तेन्जिङ भोटियाको नेतृत्वमा समष्टि कमिटी तथा समष्टि गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरुले आज दार्जीलिङस्थित गोरामुमो केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष श्रीमान् मन घिसिङसँग महत्वपूर्ण भेटघाट गरेका छन्।
भेटघाटका क्रममा समष्टि क्षेत्रभित्र संगठनलाई अझ सुदृढ तथा व्यापक बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ। प्रतिनिधिहरुले विभिन्न गाउँ तथा क्षेत्रहरूमा पार्टीप्रति जनसमर्थन बढिरहेको जानकारी गराउँदै संगठन विस्तार अभियानलाई अझ तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
अध्यक्ष मन घिसिङले संगठनलाई जनताको भावना र आकांक्षासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै पार्टीका कार्यकर्ता तथा नारी संगठनको सक्रिय भूमिकाको प्रशंसा गरे। उनले पार्टीको सिद्धान्त र उद्देश्यलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउँदै एकताबद्ध भएर कार्य गर्न सबैलाई आह्वान पनि गरे।
उक्त भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको साथै आगामी दिनमा तक्दाह–ग्लेनबोर्ण समष्टिमा संगठनात्मक गतिविधिलाई अझ प्रभावकारी बनाउने निर्णयसमेत गरिएको जानकारी प्राप्त भएको छ।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले सुकुना तथा तराई क्षेत्रमा आफ्नो संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यले निरन्तर सांङ्गठनिक गतिविधिहरूलाई तीव्रता दिएको छ। यसै क्रममा सुकुना–तराई क्षेत्रका संयोजक नितिन छेत्रीको नेतृत्वमा सुकुना ग्राम पञ्चायत अन्तर्गत खैरझोडा बस्तीमा गोरामुमोको एक महत्वपूर्ण सांङ्गठनिक सभा सम्पन्न भयो।सभामा खैरझोडा क्षेत्रको संगठनात्मक जिम्मेवारी सुदृढ बनाउने उद्देश्यले शरण खड्का र राजु भुजेललाई सर्वसम्मत रूपमा क्षेत्रीय संयोजक चयन गरिएको छ।
नव नियुक्त संयोजकद्वयलाई संयोजक नितिन छेत्रीले खदा लगाएर बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको सिद्धान्त, आदर्श र अनुशासनभित्र रहेर संगठनलाई अझ मजबुत बनाउन सक्रिय रूपमा कार्य गर्न आग्रह गरेका छन्। सभामा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा क्षेत्रीय स्तरमा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा दिलिप छेत्री, प्रकाश लामा, सुर्य छेत्री, मन्जित राई, अनुप राई, किशोर थापा लगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गोरामुमोले तराई तथा ग्रामीण क्षेत्रहरूमा संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै जनताको विश्वास अझ मजबुत बनाउने दिशामा कार्य गरिरहेको पार्टी पक्षले जनाएको छ।












