सञ्जय प्रधान⇒
मिरिक महकुमाको मरमा चियाबारीमा केही फरक घटिरहेको छ। बालबालिकाहरू, युवाहरू झोला भिरेर सड़क छेउका फोहोर टिप्न निस्किन्छन्, वरिपरि सफाइ गर्छन् र हरियाली अभियानका नारा लिएर गाउँ चहार्छन्। फोहरमैला थुप्रिने ठाउँमा अब फूलहरू फक्रिएका छन्, गाउँ सफा अनि स्वच्छ बनेको छ।
युवा दर्पण
यो परिवर्तनको केन्द्रमा छन् ५० वर्षीय कपिल राई। ‘मेक अप मरमा’ नामक गैरसरकारी संस्था गठन गरी उनले मरमामा हरियाली र स्वच्छताको जागरण ल्याएका छन्। मरमाले ‘क्लीनेस्ट भिलेज’ पुरस्कार जित्न सफल भएको छ, यसले अभियान सफल बन्दै गएको बुझाउँछ। जुन समग्र दार्जीलिङ पहाड़का मानिसहरूका लागि उदाहरण बनेको छ।
आज जब शहर, बजार र गाउँहरू फोहोरमैलाले घेरिँदै गइरहेका छन्, मरमाको यो प्रयास स्वच्छता र पर्यावरण संरक्षणतर्फ फर्किएको एउटा सकारात्मक यात्रा हो। जंगल, झोड़ा-नाला, खोला, नदी, हिमाल, समुद्र वन्यजन्तु, हावाजस्ता प्राकृतिक स्रोतहरू मानव जीवनका आधार हुन्। तर मान्छेले आफ्नै स्वार्थका लागि यी स्रोतहरू दोहन गरिरहेको छ। वास्तवमा, पर्यावरणले मान्छे बिना सजिलै बाँच्नसक्छ। जहाँ मान्छेहरू हट्छन्, त्यहाँको वनस्पति र जनावरहरू फस्टाउँछन्। तर मान्छे बिना मानव समाजको अस्तित्व भने सम्भव छैन।
“फोहोर शून्य’ समाज बनाउन पूर्खालाई पछ्याउनुपर्छ। पूर्खाले जति पनि गर्थे सबै प्रकृतिलाई क्षति नपुर्याइ गर्थे”
फोहोर र प्रदूषणका बीच मरमाले देखाएको हरियालीको सपना अब एक उदाहरण बनेको छ। मरमाले सबैलाई सम्झाएको छ- स्वच्छता भनेको केवल सफा ठाउँ बनाउनु मात्र होइन, जीवन र भविष्य जोगाउनु पनि हो। जलवायु परिवर्तनले पर्यावरण संरक्षणको आवश्यकता कपिल राईले बुझे। बंगलोरमा 16 वर्ष पूर्व रेलमन्त्री जाफर शरीफकोमा कार्यरत रहेर समाज विकासको अनुभव बटुले। एशियाको स्वच्छ गाउँ मेघालयको ‘माव्लिन्नोङ’को बारेमा पढ़ेर उनी प्रेरित भए। दार्जीलिङ पहाड़को गाउँ पनि त्यस्तै स्वच्छ हुनुपर्छ भन्ने सोच्दै आफ्नै ठाउँ मरमाबाट अभियान थाले।

कपिल भन्छन्, ‘‘गाउँ-बस्ती दार्जीलिङको जरा हो, आधार हो।’’ पहिला एक्लै कहिले गाउँको झोड़ा-नाला सफा गर्थे, यताउता फालिएका प्लास्टिकहरू, फोहोरहरू उठाएर तह लगाउँथे। उनलाई देखेर सानाहरू, युवाहरू पनि आउन थाले अनि एउटा समूह बनियो- ‘मेक अप मरमा’। विश्व पर्यावरण दिवस ५ जून २०२३ मा यसको औपचारिक स्थापना भयो, यद्यपि कोभिड-19 अघि नै काम शुरु भइसकेको थियो। ‘मेक अप मरमा’ सफा, स्वच्छ अनि स्वस्थ समाज निर्माणको दिशामा अभियान बनेको छ। यसमा प्रज्ञान प्रधान, निवेश सुब्बा, अनामिका सुब्बा, सुरभी तामाङ, विभु राई प्रमुख छन् भने पचासजना सदस्यहरू छन्। यस अभियानमा समग्र मरमावासी ‘मेक अप मरमा’को दह्रिलो उर्जा बनेका छन्। मरमावासीको विशेष सहभागिताले नै यो अभियान अघि बढ़िरहेको कपिल राई बताउँछन्। आफ्नो ठाउँ स्वच्छ राख्नका लागि प्राथमिक स्तरदेखि नै मानिसमा जागरुकता आउनुपर्छ भन्ने उनको भनाइ छ। प्राथमिक पाठशालादेखि उच्च विद्यालयका बालबालिकाहरूलाई फोहोरमैला व्यवस्थापन, पर्यावरणको आवश्यकता र यसको संरक्षणबारेमा सिकाइन्छ। बालबालिकाहरू साथै मरमाका युवा, प्रौढ़देखि वृद्धसम्म नै स्वच्छताको अभियानमा लागेका छन्। तीनजना सदस्यहरू निवेश सुब्बा, दीपंकर राई र गुञ्जन राई युनाइटेड नेशन्स् अफिस फर प्रोजेक्ट सर्भिसेजमा कार्यरत छन्।
विभिन्न कार्यक्रमहरूमा प्रयोग गरिने ब्याज, खदाहरू प्रयोग पछि जतासुकै फालिन्छ, तर यो आखाँअघि देखिए पनि माटोमा पर्ने यसको असरबारे सबै अनभिज्ञ छन्। खदाहरू जतासुकै फालिने हुँदा यसको असर माटोमा पर्ने कपिल बताउँछन्। ‘मेक अप मरमा’ले ब्याज, खदाको विकल्पमा तयार गरेका छन्। यसका सदस्यहरूले हातले मकैको खोसेला, टोटोलाको फूल, तेजपत्ताको आकर्षक ब्याजहरू बनाउँछन्। पूजाहरूका लागि आँप, पिपलको पत्ताको ब्याज बनाइन्छ। यी ब्याजहरू हिजोआज कार्यक्रमहरूमा प्रयोग हुनथालेको छ भने माग पनि बढ़ेको छ। सदस्यहरूले बाँसमा आकर्षक बुकेहरू पनि बनाउँछन्। यो ‘मेक अप मरमा’को आय स्रोत मात्र बनेको छैन, यसले पहाड़मा लघु उद्योगको क्षेत्रमा बाटो देखाएको छ। गाउँका बिहे साथै अन्य कार्यक्रमहरूमा प्लास्टिकको पानीको बदली गाउँकै स्वच्छ पानी तताएर सेलाएको प्रयोग गरिन्छ।

‘‘फोहोर शून्य’ समाज बनाउन पूर्खालाई पछ्याउनुपर्छ। पूर्खाले जति पनि गर्थे सबै प्रकृतिलाई क्षति नपुर्याइ गर्थे’’, उनको भनाइ छ। नेपाली जनजीवनबाट हराउँदै गएका दैनिक जीवनका सामग्रीहरू डोको, थुन्चेहरू बुन्न सिकाइन्छ। मरमाको पुरानो नाम लेप्चा भाषाको ‘काच्छेबुङ’ रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘‘हाम्रा पूर्खाहरूले प्रकृतिलाई भगवान मानेर पूजा गर्थे, र प्रकतिलाई जोगाएर काम गर्थे।’’ स्वच्छताको अभियानसँगै ‘मेक अप मरमा’ले नेपाली हस्तशिल्प, कलाहरू पनि संरक्षण गरिरहेको छ। ‘काच्छेबुङ’ नाम राखेर ठाउँ ठाउँमा आकर्षक कुटीर बनाएर यसमा डोको, नाङ्लोहरूमा चित्रहरू बनाइएको छ, जुन पर्यटकहरूका लागि आकर्षक बनेको छ। सड़कका छेउतिर कुहिने र नकुहिने फोहोर वर्गीकरणका लागि ठाउँ ठाउँमा डस्टबिनहरू राखिएका छन्। घरको भान्साघरबाट निस्किने सागसब्जीको फोहोरबाट कपोस्ट मल बनाइन्छ, जतासुकै फोहोर फ्याँक्दैनन्। गाउँ प्लास्टिकमुक्त बनेको छ, प्लास्टिकको नाममा केही ठाउँमा डस्टबिन मात्र छ। अब यसको बदली डोको प्रयोग गरिन थालेको छ।

गाउँमा कोही बिमारी भएर आर्थिक चपेटमा परेकालाई समग्र गाउँ एकजुट भएर सहयोग गर्छन्। कपिलका अनुसार, इजरायलमा कार्यरत सामाजिक कार्यकर्ताहरू एन्नी लेप्चा (कालेबुङ), निता लिम्बू र सुशान्त दुङ्माली (मरमा)हरूले उतैबाट बिमारीहरूका लागि सहयोग पुर्याउँछन्। मरमा निवासी भवेश तामाङ ‘मेक अप मरमा’का एक सशक्त उर्जा हुन्। स्वच्छताको अभियानसँगै नेपाली लोकगीत-नृत्यहरू संरक्षणका लागि विद्यार्थीहरूलाई सिकाउने गरिन्छ। कपिल हरेक क्षेत्रबाट पर्यावरण संरक्षणबारेमा सोच्ने गर्छन्। उनी भन्छन्, ‘‘पर्यावरणलाई हामीले बचाएर राख्नुपर्छ। ग्लोबल वार्मिङ बढ़्दै जाँदैछ, यो हाम्रै कारणले भएको हो। हामी अहिले नै सचेत भएनौं भने हाम्रो कथा कुनै प्राणीले पढ़्दै गरेको हुन्छ डाइनासोरको जस्तो। स्वच्छ मोडल भिलेज हाम्रो लक्ष्य हो।’’ उनी सबैलाई पर्यावरणको संरक्षण गर्ने अनुरोध गर्छन्। बालसन नदीमा ‘मेक अप मरमा’का सदस्यहरूले प्राय: नै सफाई अभियान चलाउँछन्।
मरमाबाट शुरु भएको हरियाली अभियानले देखाएको छ- प्रेम र प्रतिबद्धताले सानो ठाउँले पनि ठूलो परिवर्तन ल्याउनसक्छ। ‘मेक अप मरमा’ले आजका पुस्ता र भोलिका सन्ततिहरूका लागि आशाको बीउ रोपेको छ। मरमाको सुगन्ध, सोच र संस्कारमा फैलिँदै स्वच्छ, हरियो भविष्यतर्फ अघि बढ़िरहेको छ।












