Mahendra Bagdas biography
Mahendra Bagdas biography

हाँसोको ऐनामा समाजको यथार्थ देखाउने महेन्द्र बागदास  

Authored By: सञ्जय निरौला, बिजनबारी 

Share this news

कहिलेकाहीँ एउटा सानो हाँसोले पनि मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउनसक्छ। हाँसोको यही शक्तिलाई आफ्नो कला बनाएका छन् दार्जीलिङ पहाड़ी क्षेत्रका लोकप्रिय हास्य कलाकार महेन्द्र बागदासले। मञ्चमा उभिएर दर्शकलाई हसाउनु मात्र होइन, हाँसोभित्रै समाजका यथार्थ चित्र उतार्नु उनको विशेषता हो। चार दशकको कलायात्रामा उनले नेपाली नाट्य तथा हास्यकला क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।

कालेबुङ जिल्लाको पेदोङमा सन् १९६७ तिर जन्मिएका महेन्द्र बागदास सानैदेखि अरुभन्दा फरक सोच्ने किसिमका थिए। जसलाई समाजमा केही नयाँ गर्नुपर्छ भन्ने लागिरहन्थ्यो। त्यसताका गाउँमा हुने साई समितिद्वारा आयोजित भजनका कार्यक्रमहरूले उनको ध्यान आकर्षण गर्थ्यो। बिस्तारै धार्मिक कार्यक्रमहरूमा भाग लिन थालेपछि नाल-ढोलकजस्ता बाजाहरू बजाउन सिके त कहिले सुदामाको भेषमा दर्शकसामु देखा परे। यसले उनलाई कलाकार बन्ने ढोका बिस्तारै खोल्न थाल्यो।

‘‘सफलता एकैसाथ प्राप्त हुँदैन, धैर्यता राख्नुपर्छ- भनौं कर्म गरेर फलको आशा राख्नुहुन्न’’

यस्तै विद्यार्थी हुँदा उनले गरेको ठट्यौलीमा वरिपरिका सबैले आनन्द लिँदा उनको कलाकार बन्ने मुना पालुवातिर लाग्नथाल्यो। सन् १९८२ तिर दार्जीलिङ जिल्ला स्तरीय नाटक प्रतियोगीमामा महेन्द्र बागदासलगायतको टोलीद्वारा मञ्चित नाटकले धेरैको मनमात्रै जितेन, उनले सर्वश्रेष्ठ अभिनेताको पुरस्कारसँगै सुपरिचित नाटककार पी. अर्जुन र नाट्यभूषण सी. के. श्रेष्ठबाट प्रशंसा पाए। यसैबाट सी.के. श्रेष्ठसँग नजिकिने मौका पाए, जुन महेन्द्रको नाट्य जीवनमा टर्निङ प्वाइन्ट बन्यो। त्यसपछि बिस्तारै उनको नाटक यात्रा अघि बढ़्नथाल्यो।

सी. के. श्रेष्ठको निर्देशन-निर्मित नाटकहरू ‘गुरु मंगल गाथा’ धार्मिक नाटक, ‘हाम्रो लभ स्टोरी’सँगै सड़क नाटकहरू, ‘ऐनामा हेर्दा रामसाइँली’, ललित गोलेद्वारा निर्देशित ‘भानु र पाला’को पहिलो, दोस्रो र तेस्रो भागमा अभियान गरेका छन्। यस्तै अरुण प्रकाश राईको ‘रात गहिरिएपछि’, अमर रसाइलीको ‘अहिले भर्सेस अहिले’, स्व० शशि सुनामको ‘मिस्टर ड्राकुला’, ‘आई लभ यू कालेबुङ’, ‘काली केटी’, ‘अप्रेल फूल’लगायत नाटकहरूमा अभिनय गरेका छन्। डा0 हर्कबहादुर छेत्रीको नाटक ‘फेरि एउटा रामायण’ र ‘स्वतन्त्रता अनि परजीवी’हरूमा काम गरिसकेका छन्। उनले नाटकहरूबाट समाजमा सचेतना फैलाउँदै आएका छन्।

चलचित्र ‘धमिलो पहाड़’मा खलनायकको भूमिकामा महेन्द्र बागदास।

नाटकसँगै स्ट्यान्ड-अप कमेडीमा दक्ष महेन्द्र मञ्चमा माइक लिएर उभिएपछि दर्शकहरूको हाँसो रोकिँदैन। जुन आफू विद्यार्थी हुँदा शिक्षकको प्रेरणाले शुरुवात भएको उनी बताउँछन्। यस्तै गएको २७ वर्षदेखि आकाशवाणी खरसाङ रेडियोसँग आवद्ध छन्, उनी ‘ए’ ग्रेडका रेडियो कलाकार हुन्। जहाँ उनले मानिसहरू समक्ष हास्यव्यंग्य मात्रै होइन नाटकको माध्यमबाट विविध जानकारी जनमानसमा पुर्‍याउने कार्य गर्दै आएका छन्। यसबाहेक उनले चलचित्र, वेब सिरिजहरूको माध्यमबाट दर्शकको माया बटुलेका छन्। उनी केवल कमेडी कलाकार मात्र होइनन्, एक दक्ष अभिनेता हुन्। नाटकसँगै उनले चलचित्रमा पनि आफ्नो प्रभावकारी अभिनयले दर्शकहरूको मन जितेका छन्। जसमा जोन राईद्वारा निर्देशित ‘धमिलो पहाड़’, कैलाश राईको ‘मन-सँग-मन’, प्रकाश कोविन्दको उपन्यासमा निर्मित ‘जीवन यात्रा’,  दक्षिण भारतका अभिनेता निरोज पुट्चासँग ‘द् न्यू ब्लड भारतीयन्स्’, ‘मिथ्या’ वेब सिरिजसँगै दर्जनौं चलचित्रहरूमा काम गरिसकेका छन्।

हास्य कलाकारको रूपमा उदाएका महेन्द्र अरुलाई हँसाएर खुशी राख्न लागिपर्छन्। नेपाली हास्य कलाकारहरूले विश्‍वको कुनै पनि ख्यातिप्राप्त कलाकारहरूलाई टक्कर दिनसक्ने विश्‍वास उनी राख्छन्। उनी भन्छन्, ‘‘हामीसँग सरस्वतीको कमी कदापि छैन, छ त केवल लक्ष्मीको कमी। यही लक्ष्मीको कमीले नै दार्जीलिङ्गे कलाकारलाई कि नेपालले कि कालले लगेको भन्ने उखान यथार्थ हुन्छ।’’ यसैले भारतीय नेपाली चलचित्र बोर्ड हुन नितान्त आवश्यक रहेको उनी ठान्छन्। जसको निम्ति भारतभरका विभिन्न राज्यहरूमा बसोबास गर्ने नेपालीभाषी संघ-संस्थासँगै सरकारले पहल गर्नुपर्नेबारेमा उनी जोड़ दिन्छन्।

चार दशकदेखि मनोरञ्जनको दुनियाँमा लागिपरेका महेन्द्रलाई भारतमा कलाकार बन्नेहरूको  धरातल नै निर्माण हुनुनसकेको बुझाई छ। कलाकारहरूको कमी कदापि नरहेको बताउने उनी कलाकारहरूका निम्ति हालसम्म कुनै ठोस पहल अघि नसरेको बताउँछन्।

आफ्नो मेहनतकै बलमा महेन्द्र बागदासले दार्जीलिङ पहाड़का विभिन्न स्थानहरूसँगै कोलकातालगायत देशका विभिन्न राज्यहरू असम, हरियाणा, दिल्ली, बंगलोर, सिक्किम साथै सिंगापुर, हङकङ, इजरायल, दुबईलगायत छिमेकी देश नेपालमा आफ्नो प्रस्तुतिहरू दिएका छन्। उनका धेरैवटा डायलगहरू लोकप्रिय नेपाली कलाकार विल्सन बिक्रम राईले समेत अनुशरण गरिसकेका छन्। पहाड़का विभिन्न ठाउँहरूबाट दर्जनौं सम्मानहरू पाइसकेका महेन्द्रलाई सन् २0२4 मा नेपाली जगतमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिसकेको छ। युनाइटेड गोर्खा कम्युनिटी अफ् इण्डिया, इण्डियन गोर्खाज् कम्पनी इजरायल, दुबई, प्रयास मञ्च नेपाल, काठमाड़ौं, होम्स्- डेलो थापा टार कालेबुङबाट गोर्खा रत्नद्वारा सम्मानित भइसकेका छन्।

छिमेकी राज्य सिक्किमलाई आफ्नो माइत सरह मान्ने महेन्द्र सिक्किम सरकारबाट भारतीय नेपाली कलाकारहरू बचाउन पहल हुनेबारेमा ठूला आशा राख्छन्। कलाकारहरूका निम्ति खुल्ला मैदान हुनुपर्छ भन्ने सोचाइमा रहिरहने महेन्द्रलाई भारतमा नेपाली कलाकारहरूका निम्ति थिएटर लगभग शून्य रहेको जस्तै लाग्छ। उनका अनुसार, कलाकारहरू एकजुट नहुनाले क्षेत्रीय सरकारको कलाकारिता बचाउने पहलमा नैराश्यता देखिनु निकै ठूलो चुनौतीसँगै नयाँ कलाकारहरू जन्मनु नसक्नेको मुख्य कारक तत्व मान्छन्।

यस्तै कलाकारहरू दैनिक ज्यालाको मजदुर सरहको काम गर्नुपर्ने बाध्यता तथा क्षेत्रीय स्तरमा आयोजना हुने कार्यक्रमहरूमा विदेशबाट कलाकारहरू भित्रिँदा स्थानीय स्तरका कलाकारहरू पर्दा पछि परेको उनको भनाइ छ। मनमा केही नैराश्यता देखिने महेन्द्रलाई नयाँ पिढ़ीलाई आकर्षण गर्ने किसिमको केही नौलोपन भित्र्याउँ भन्ने सदैव लागिरहन्छ। यसैले युवाहरूलाई सम्बोधन गर्दै उनी भन्छन्, ‘‘कलाकार बन्ने सोच राख्ने नयाँ पुस्ताले बेसिक जानकारीसँगै अनुशासन अत्यन्तै जरुरत हुन्छ।’’ यद्यपि धेरैथोर ज्ञानसँगै कलाकारिता सिक्न चहानेहरूका निम्ति कुनै जटिल मान्दैनन्।

विश्‍व हाँक्नसक्ने कलाकार जन्मनुपर्छ भन्ने सोच राख्ने महेन्द्र सदैव भारतीय नेपाली नाट्य जगतमा नयाँ कलाकारहरू उदाउनुपर्ने विश्‍वास राख्छन्। कलाकारहरूका निम्ति निक्कै फराकिलो क्षेत्र देख्ने महेन्द्र बागदासलाई लगनशील भएर यो क्षेत्रमा लागिरहे सफलतासँगै विश्‍वसामु परिचित हुनमा बेर नलाग्ने भएका युवाहरूलाई यो क्षेत्रमा लाग्ने सुझाव दिन्छन्। यसैले उनी भन्छन्, ‘‘सफलता एकैसाथ प्राप्त हुँदैन, धैर्यता राख्नुपर्छ- भनौं कर्म गरेर फलको आशा राख्नुहुन्न।’’

चार दशकभन्दा लामो समयदेखि रङ्गमञ्च, रेडियो र चलचित्रको माध्यमबाट दर्शकलाई हसाउँदै आएका महेन्द्र बागदास केवल मनोरञ्जन दिने कलाकार मात्र होइनन्, समाजलाई सचेत बनाउने एक सशक्त आवाज पनि हुन्। उनले हाँसोभित्र लुकेका सन्देशमार्फत समाजका विकृति र यथार्थलाई ऐनाजस्तै देखाउने काम गर्दै आएका छन्। कठिन परिस्थितिमा पनि कलाकारिताप्रति उनको समर्पण र लगनले आज उनी दार्जीलिङ पहाड़ी क्षेत्रका लोकप्रिय कमेडी किङ्गका रूपमा चिनिएका छन्। उनको यात्राले देखाउँछ- साँचो लगन, धैर्यता र मेहनत भए सफलता एकदिन अवश्य प्राप्त हुन्छ। यही कारणले महेन्द्र बागदासको कला यात्रा केवल मनोरञ्जनको कथा मात्र होइन, नयाँ पुस्तालाई प्रेरणा दिने उज्यालो बाटो पनि हो।

 

 


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ