खरसाङ, (निसं): खरसाङमा कवि साहित्यकारहरुको उपस्थितिमा पोयट्री, लिटरेटर्स , म्युजिक, फुड एण्ड फनको साथमा कवि गोष्ठी र विभिन्न विषयमा चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। खरसाङ्को चिम्नी देवराली ग्राम पञ्चायतको चित्रेमा अवस्थित समय क्याँफेमा विभिन्न स्थानहरुबाट आएका कविहरु, गायक र संगीतकारहरुले आफ्नो प्रस्तुति दिएका थिए। कवि प्रभात राई चिसोले सञ्चालन गरेको कार्यक्रमको पहिलो चरणमा साहित्यमा नयाँ पुस्तालाई लिएर चर्चा परिचर्चा गरिएको थियो। यस चर्चामा कवि राजा पुनियानीले आफ्नेो वार्ता प्रस्तुत गर्दै अहिलेको युवा पुस्ता साहित्य अध्ययन र लेखनप्रति सचेत रहेको बताउँदै अहिलेको युवा पुस्ताले साहित्य अध्ययन गर्न रुचाउँछन्, साहित्य लेख्न पनि रुचाउने बताए। उनले युवा पुस्ता पनि साहित्यप्रति सचेत रहेको बताएका छन्। अर्का वक्ताको रुपमा विशाल विश्वकर्मले साहित्यमा एलियन लेखन र यसलाई नेपाली साहित्यमा पनि लेखिनु पर्ने आवश्यकतामाथि जोर दिएका थिए। उनले साहित्यमा शक्ति छ भन्दै खोजी खोजी पढ्ने प्रथा हुन आवश्यक छ भनी बताए। उनले एउटा कृतिको मूल्याङ्कन 10 वर्षपछि पनि हुने र उक्त समयावधिलाई लिएर लेख्न आवश्यक रहेको बताए। कार्यक्रममा वर्तमान आर्टिफिसियल इन्टिलिजेन्ट (एआई) विषयमा पनि चर्चा गरिएको छ। यस अवसरमा कवि महेन्द्र स्याङ्बो, प्रदीप शेर्पा र कार्यक्रमको अन्त्यमा कवि राजा पुनियानीले पनि चर्चा गरेका थिए। यस कार्यक्रममा गायक प्रणय गुरुङले दुईवटा गीत प्रस्तुत गरेका थिए भने सागर बान्तावाले गिटारमा सांगीतिक प्रस्तुति दिएका थिए। दोस्रो चरणमा कविहरु क्रमैले नितेस राई, मिलन प्रधान, विनोद रसाइली, महेन्द्र स्याङ्बो, प्रभात राई चिसो, विशाल विश्वकर्म प्रदीप शेर्पाले कविता वाचन गरेका थिए। कार्यक्रममा महेश राईले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा अधिवक्ता सपना राई र हनोक थापा पनि उपस्थित रहेका थिए।












