आशा भोसले को ९२ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनी अप्रिल १२, २०२६ मा मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ। चिकित्सकहरूका अनुसार, उनी केही समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन् र अन्ततः बहुअङ्ग (मल्टि–अर्गन) फेलियरका कारण उनको निधन भएको हो। उनलाई अप्रिल ११ मा छातीको संक्रमण र अत्यधिक कमजोरीका कारण अस्पतालमा भर्ना गरिएको थियो। आशा भोसले भारतीय संगीत जगतकी सबैभन्दा बहुमुखी र प्रभावशाली गायिकामध्ये एक मानिन्थिन्। उनले सात दशकभन्दा लामो करियरमा १२ हजारभन्दा बढी गीतहरू विभिन्न भाषामा गाएकी थिइन्, जसले भारतीय सिनेमा र संगीतमा अमिट छाप छोडेको छ।
उनको निधनसँगै भारतीय संगीत क्षेत्रको एक युग समाप्त भएको टिप्पणी गरिएको छ। देशभरबाट कलाकार, राजनीतिज्ञ तथा सर्वसाधारणले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। प्राप्त जानकारीअनुसार, उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा गरिनेछ, जहाँ परिवार, आफन्त तथा प्रशंसकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेछन्। आशा भोसलेको योगदान केवल भारतीय संगीतमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको थियो। उनको आवाज र शैलीले पुस्तौंदेखि श्रोताहरूलाई प्रभावित पार्दै आएको छ, जसका कारण उनी सधैंका लागि संगीतप्रेमीहरूको मनमा जीवित रहनेछिन्।












