गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लेबोङ भ्याली समष्टिले संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई तीव्रता दिँदै “गाउँ पसौँ अभियान” लाई व्यापक रूपमा अघि बढाइरहेको छ। पार्टीका कार्यकर्ताहरू विभिन्न गाउँ–बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै गोरामुमोको विचारधारा, गोर्खा आन्दोलनको इतिहास, गोर्खा समुदायको अस्मिता तथा अधिकारसम्बन्धी विषयमा जनचेतना फैलाउने कार्यमा सक्रिय रहेका छन्। अभियान अन्तर्गत जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या, सुझाव तथा अपेक्षाबारे जानकारी लिने कार्यसमेत भइरहेको बताइएको छ।
गोरामुमो लेबोङ भ्याली समष्टिका नेताहरूका अनुसार संगठनलाई अझ सशक्त, जनमुखी र गतिशील बनाउने उद्देश्यले युवावर्ग, महिला तथा लामो समयदेखि निष्क्रिय रहेका पुराना कार्यकर्ताहरूलाई पुनः संगठित गर्ने प्रयास भइरहेको छ। अभियानका क्रममा विभिन्न स्थानमा पार्टीप्रति जनताको सकारात्मक प्रतिक्रिया र उत्साहजनक सहभागिता देखिएको उनीहरूले बताएका छन्।
समष्टि नेतृत्वले जनताको विश्वास र समर्थन नै संगठनको मुख्य आधार भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि गाउँ–गाउँमा पुगेर जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। “जनताको आवाज नै हाम्रो शक्ति हो” भन्ने मूल नारालाई आत्मसात गर्दै गोरामुमोले गोर्खा समुदायको हक, अधिकार, पहिचान र सम्मानका लागि आफ्नो संघर्ष निरन्तर जारी रहने जनाएको छ। साथै, संगठन विस्तार अभियानलाई अझ व्यापक बनाउँदै जनताको साथ र सहयोगमा पार्टीलाई थप मजबुत बनाइने विश्वास व्यक्त गरिएको छ।












