खरसाङ, (निसं)ः खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो। माथिल्लो डुमाराम बस्तीमा रहेको माङ्खिममा सम्पन्न भएको यो साकेला पर्वको कार्यक्रममा माङ्गपा सहदेव राईले राई विधिमा पूजा-अर्चना गरेका थिए।
समितिका अध्यक्ष मदन राईको अध्यक्षतामा सम्पन्न भएको यो कार्यक्रममा बलराम राईले उँधौलीको विषयमा प्रकाश पारेका थिए। उधौली पर्व विशेष गरेर मौसमको परिवर्तन संगै पहाड़ी क्षेत्रमा चिसो मौसम आरम्भ भएपछि मनाइन्छ। यस मौसममा कृषकहरूले आफ्नो खेतमा पाकेको धान अनि अन्य फसल उठाएर थन्काउने गर्छन्। राई जातिकाहरूले यसरी आफ्नो खेतमा धान अनि अन्य अन्नबाली राम्रोसित उब्जाइदिएको अनि खेती अनुरुप मौसम बनाइदिएकोमा प्रकृतिको पूजा गर्दै, धन्यवाद दिँदै विभिन्न देव-देवताहरूलाई पुकार्ने गर्छन्।
बुधवार सम्पन्न भएको यो उँधौली पर्वमा खम्बु राई कल्याण समितिको सुम्निमा समूहद्वारा माङ्तुप्मा सिल्ली अनि चासुम सिल्ली नाच प्रदर्शन गरिएको थियो। माङ्तुप्मा सिल्लीमा भूमि अनि प्रकृतिलाई धन्यवाद ज्ञापन गरियो अनि चासुम सिल्लीमा अन्नबाली रोपनीदेखि फसल काटेसम्मको दर्शन नाचमा झल्काइएको थियो। समितिका सचिव सुदीप राईद्वारा सञ्जालन गरिएको यस कार्यक्रममा डुमाराम, डाउहिल, टेकबीर बस्ती, कटलेरी पाखा, बङ्दील, मन्टभियट अनि अन्य स्थानबाट खम्बु राई कल्याण समितिका एक सय भन्दा बढ़ी सदस्यहरूको उपस्थिति रहेको थियो।












