प्रोजेक्ट लाइफका सदस्यहरूले फेरि एकपटक प्रमाणित गरेका छन् कि समर्पण, अनुशासन र सामूहिक भावना भए असाधारण सफलता हासिल गर्न सकिन्छ। गत २५ अप्रिल २०२६ मा कालेबुङ जिल्लाको पेदोङमा आयोजित कालेबुङ अल्ट्रा म्याराथनको चौथो संस्करणमा टोलीले उत्कृष्ट प्रदर्शन मात्र गरेन, धेरैलाई स्वस्थ जीवनशैली र निरन्तर प्रयासप्रति प्रेरित पनि गर्यो।
“रन विथ रोशनी फाउन्डेसन” द्वारा आयोजित उक्त प्रतियोगितामा भारत तथा विदेश (दुबई लगायत) बाट करिब ५०० धावकहरूको सहभागिता रहेको थियो। प्रतियोगिता ६५ किमी, ५० किमी, २५ किमी र १० किमी विधामा सम्पन्न भयो।
प्रोजेक्ट लाइफका ६ सदस्यहरूले प्रतिनिधित्व गर्दै सुक लामा शेर्पा (दार्जीलिङ) ले ६५ किमी ओपन महिला वर्गमा प्रथम स्थान ७:५२:१४ समयमा हासिल गरिन्। क्रमशः
अलिना गोपेर्मा शेर्पा (खरसाङ) ले ५० किमी ओपन महिला वर्गमा द्वितीय स्थान ५:३२:२० समयमा हासिल गरिन्। यसरी नै मुन्ना तामाङले ६५ किमी ओपन महिला वर्गमा तृतीय स्थान ९:०९:५२ समयमा पूरा गरिन्।
प्रोजेक्ट लाइफका संचालक श्री बिक्रम थापाले ६५ किमी ओपन पुरुष वर्गमा चौथो स्थान ६:३६:३८ समयमा हासिल गरे।
यसका साथै, प्रोजेक्ट लाइफका वरिष्ठ सदस्यहरू डा. सी. एस. राई (५८ वर्ष) ले कठिन ५० किमी दौड सफलतापूर्वक पूरा गरे। गंगा माया थापा (७५ वर्ष) ले १० किमी दौड पूरा गर्दै उमेरले कहिल्यै सीमा निर्धारण गर्दैन भन्ने सन्देश दिइन्।
प्रोजेक्ट लाइफ आज केवल एउटा रनिङ समूह मात्र नभई परिवर्तनको प्रेरणादायी अभियान बनेको छ- जहाँ सामान्य व्यक्तिहरूलाई निरन्तर अभ्यास, आपसी सहयोग र साझा लक्ष्यमार्फत असाधारण उपलब्धितर्फ अग्रसर गरिन्छ। यसले शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक दृढता, अनुशासन र सामाजिक एकता पनि सुदृढ बनाउँछ।
यस समूहका सदस्यहरूको प्रत्येक सफलता हामी सबैका लागि प्रेरणा हो। उनीहरूको यात्राले स्पष्ट सन्देश दिन्छ—दृढ संकल्प, निरन्तर प्रयास र सहकार्य भए कुनै पनि लक्ष्य असम्भव हुँदैन।












