लागुऔषधको बढ्दो प्रभावलाई कम गर्न र युवाहरूलाई स्वस्थ जीवनशैलीप्रति जागरूक गराउने उद्देश्यले आगामी ७ मार्चका दिन मिरिकमा एक भव्य ‘खुल्ला म्याराथन’ प्रतियोगिता आयोजना हुने भएको छ।
मिरिक रनर्स ब्वाइजको आयोजना तथा ड्रिवल एकेडेमी मिरिकको सहयोगमा यो प्रतियोगिता सम्पन्न हुन गइरहेको हो। आयोजक समितिका प्रतिनिधि अरफाज अलीले दिएको जानकारीअनुसार यस वर्षको म्याराथन ‘से फर नो ड्रग्स भन्ने मूल नाराका साथ सञ्चालन गरिनेछ। प्रतियोगिता पुरुष र महिला दुवै वर्गका लागि खुल्ला रहनेछ। विजयी धावकहरूलाई आकर्षक नगद पुरस्कार र मेडल प्रदान गरिनेछ।
खेलकुदको माध्यमबाट समाजलाई लागुऔषधमुक्त बनाउने र स्वास्थ्य सचेतना फैलाउने उदेश्यले उक्त प्रतियोगिता गरिएकाे आयोजक समितिका तर्फबाट अरफाज अलीले बताँउदै पहाडका कुना-काप्चामा रहेका इच्छुक र प्रतिभावान धावकहरूलाई यस प्रतियोगितामा उत्साहजनक सहभागिता जनाउन अपील गरेका छन्। प्रतियोगितामा भाग लिन चाहने इच्छुक धावकहरूले समयमै आयोजक समितिसँग सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको छ। युवहरूको भविष्यमाथि सोच राखेर मिरिक रनर्स ब्वाइजको आयोजना तथा ड्रिवल एकेडेमी मिरिकको सहयोगमा आयोजित ‘खुल्ला म्याराथन’ प्रतियोगिता केवल एक खेलकुद इभेन्ट मात्र नभएर समाजलाई सकारात्मक परिवर्तनतर्फ डोर्याउने एउटा सशक्त माध्यम हो। युवाहरू राष्ट्रका मेरुदण्ड र ऊर्जाका अथाह स्रोत हुन्; त्यसैले यस्ता प्रतियोगिताले उनीहरूको शारीरिक र मानसिक क्षमतालाई निखार्दै अनुशासित र उद्यमी बन्न प्रेरित गर्दछन्।
जब युवा शक्तिको सही परिचालन र संरक्षण हुन्छ, तब मात्र समाजमा विद्यमान विकृतिहरू हट्छन् र देशले समृद्धिको नयाँ दिशा प्राप्त गर्दछ। अन्ततः, यस्ता सामूहिक प्रयासहरूले स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरी राष्ट्र निर्माणमा दीर्घकालीन र लाभकारी योगदान पुर्याउने निश्चित छ।












