विभिन्न विशेषताहरूका सङ्गम कालुसिँह रणपहेलीज्यूसित भेटघाट–
साहित्य र सङ्गीत दुवै फाँटमा हेर्दा हामीमाझ धेरै प्रतिष्ठित व्यक्तिहरू कि त चियाबारीका कि त कुलैनबारीका उपजहरू छन्। यी दुवै क्षेत्रमा सृजनाका लागि शान्त वातावरणको आवश्यकता रहन्छ। शहर बजारको कोलाहलभन्दा टाढ़ा यी चियाबारी र कुलैनबारीहरूमा वातावरण शान्त हुन्छ र नै धेरै प्रतिभाहरू यहीँबाट फस्टाउँछन्। यस्तै एक निक्खर र दह्रिला विभूति हुनुहुन्छ, धेरै विशेषताहरूले सुसज्जित स्वनामधन्य कालुसिँह रणपहेली महाशय। लाठपञ्जर, कुलैनबारीको छोरो। साहित्यको जे जति विधामा उहाँ पोख्त हुनुहून्छ त्यसको विश्लेषण गर्नपर्दा एउटा पुस्तकको रूप लिनेछ। आकाशवाणी गान्तोकबाट सहायक केन्द्र निदेशकको पदबाट सेवानिवृतिपछि उहाँ धेरैवर्षदेखि सिलगड़ी स्थित डागापुर पिन्टेल भिलेजमा निर्मित आफ्नो निवासमा अथक साहित्य सेवामा लागिरहनु भएको छ। मूलतः गध्य र पध्य दुवैमा बराबरी खप्पिस हुनुहून्छ। सृजनाका रूपमा उहाँका उच्च स्तरीय अनेकन कविता संग्रह, कथा संग्रह, युग्मक संग्रह, लघु काव्य आदिलाई नेपाली साहित्यमा स्तरीय कृतिहरूका रूपमा हेरिन्छ। उहाँको अर्को तड्कारो विशेषता के हो भने उहाँ एक उत्कृष्ट गीतकार हूनु हुन्छ। अति उच्च कोटीका गायिका तथा शिर्ष सङ्गीतकार शान्ति ठटाल लगायत, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, देवकुमार दुमी, मनिला सोताङ, बिमला प्रधान जस्ता विभिन्न राम्रा-राम्रा गायक/गायिकाहरूले उहाँका शब्दरचनामा स्वर दिइसकेका छन्। अझ थप कुरा भनौं—नाटक अभिनय कलामा पनि उहाँ दक्ष हुनुहुन्छ। कैयौं नाटकहरूमा उहाँको अभिनय कलाको परिचय जनताले पाइसकेका छन्। यस्ता नाटकहरूमा—’अनि देवराली रून्छ’, ‘युद्धहरू’, ‘फेरि इतिहास दोहोरिन्छ’, ‘मूर्ति फुटेको मन्दिर’ आदिको नाम लिन सकिन्छ। चलचित्र ‘भाग्यचक्र’ र भिडियो चलचित्र ‘एक झोला सुन’-मा पनि उहाँले सफल अभिनय गर्नु भएको छ।
उहाँ मेरो मित्र हुनुहुन्छ। उहाँ केही समयदेखि अस्वस्थ्य हुनुहुन्छ भनेको धेरै पहिले सुनेको थिएँ र यसपल्ट सिलिगुड़ी पुग्दा हामी उहाँलाई भेट्न 13 अप्रेलको दिन उहाँको निवासमा नै गयौं। भेटघाटमा उहाँले मित्रवत व्यवहारले म अभिभूत भएँ। भेटघाटको आवसरमा मलाई उहाँले आफ्नो दुई पुस्तकहरू क्रमश ‘आँधी-हुरी बतासहरूमा’ (गीत संग्रह) र ‘च्यातिएका पृष्ठ’ (कथा संग्रह) शब्द समयद्वारा प्रकाशित कथा संग्रह ‘शब्द समय’ उपहारस्वरूप दिनुभयो। उहाँ र उहाँकी धर्मपत्नीसँग बराबरी कुरा भयो। भेटघाटमा धेरै विषयहरूमा विमर्श भयो। म भने उहाँसितको कुराकानीलाई निरन्तरता दिइरहनु मन लागेको थियो तर उहाँको स्वास्थ्यलाई पनि ध्यानमा राखि विदा लिने अनुमति माग्यौं। मेरो श्रमतीले उहाँलाई आफ्नो कविता संग्रह ‘अचेत सपनाहरू’ भेंटस्वरूप टक्राइन्। उहाँ प्रसन्न भएर त्यभित्रका कविताका केही पंक्तिहरू त हाम्रै छेउमा पढ्नुभयो। त्यसपछि बिदा हुनु पूर्व उहाँले ‘एकक्षण मेरो कोठामा आउनुहोस् न’ भनि इशारा गर्नु भयो। उहाँ सजिलोसित बसेर लेख्ने पढ्ने कोठा रहेछ। कोठा के भन्नु एउटा ठूलो पुस्तकालय नै थियो। साहित्यका थरि थरिका पुस्तकहरू, पत्र पत्रिकाहरू उहाँको विपूल संग्रह हरेछ। पुस्तकै पुस्तकले भरिएको कोठा। उहाँ साहित्यको गहन अध्येयता हुनु हुन्छ भन्ने कुरा पुस्तकहरूका विपूल संग्रहले नै परिचय दिइरहेको थियो। साहित्यकारहरूमा लेखन भन्दा अधिक यसरी अध्ययन र अध्ययनका माध्यम हुन पर्छ।












