गोक 1 हिमालय बहुउद्देश्यीय प्राथमिक सहकारी समिति लिमिटेडद्वारा आगामी अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा पालन गरिने भएको छ। आगामी आइतबार बिहान 10 बजे गोक 1 को सामुदायिक भवनमा आयोजित कार्यक्रममा क्षेत्रका स्वनिर्भर समूहहरूको सहभागिता रहनेछ। जसमा विविध कार्यक्रमहरूको प्रस्तुति रहने छ। छात्राहरूलाई शिक्षा आर्जनमा प्रोत्साहित गर्न विश्व प्रख्यात व्यक्तित्व झमक कुमारी घिमिरेमाथि आधारित नेपाली चलचित्र “जीवन काँडा कि फूल” पनि प्रदर्शन गरिनेछ। दुई घन्टाको उक्त चलचित्र बिनोद बिष्टले निर्माण र निर्देशन गरेका हुन्। चलचित्रकी सह-निर्मात्री तथा चर्चित गायिका जुनु गौतम पनि त्यहाँ उपस्थित रहनेछिन्। जसले चलचित्रमा गाएको गीत धेरै चर्चित रहेको छ। ती गीत पनि उनले प्रस्तुत गर्नेछिन्।
यो अन्तर्राष्ट्रिय महिला दिवसकी मुख्य आयोजिका श्रीमती नन्दिता राई, सदस्य, पञ्चायत समिति, गोक 1 दार्जीलिङ रहेकी छिन्।
चाल्सा निवासी आमा श्रीमती दमयन्ती राई अनि बुवा श्रीमान सन्तोष राईको परिवारमा 9 नोभेम्बर 1987 को दिन जन्मेकी राईले शैक्षिक योग्यतासङ्गै कत्थक नृत्यमा सीनियर डिप्लोमा प्राप्त गरेकी छिन्। उनको विवाह गोक 1 दार्जीलिङका मित्रसिंह राईसङ्ग भएको छ।
आजका नारीहरूले जितेको कर्म लिएर आएका हुन्छन् भन्ने उदाहरण प्रस्तुत गर्दै पञ्चायत समितिसङ्गै गोक 1 हिमालय बहुउद्देश्यीय प्राथमिक सहकारी समिति लिमिटेडको माध्यमबाट सामाजिक कार्यमा सक्रिय भई नन्दिता राईले जाति, समाज र देशको सेवामा लागि परेकी छिन्।












