विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इबोला भाइरसको संक्रमण फैलिरहेको अवस्थालाई लिएर सार्वजनिक स्वास्थ्य आपतकालीन चिन्ता व्यक्त गरेपछि भारत सरकारले पनि सतर्कता बढाएको छ। केन्द्र सरकारले विशेष गरी अफ्रिकी देशहरूबाट भारत आउने यात्रुहरूको निगरानी कडा बनाउन विभिन्न विमानस्थल र स्वास्थ्य निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले इबोला प्रभावित क्षेत्रबाट आउने यात्रुहरूको स्वास्थ्य परीक्षण, स्क्रिनिङ तथा आवश्यक परे क्वारेन्टिनको व्यवस्था गर्न भनिएको जनाएको छ अधिकारीहरूका अनुसार भारतमा हालसम्म इबोलाको कुनै पुष्टि भएको मामला नभए पनि संक्रमण फैलिन नदिन अग्रिम सावधानी अपनाइएको हो।
विमानस्थलहरूमा स्वास्थ्य डेस्क सक्रिय बनाइएको छ भने यात्रुहरूलाई ज्वरो, कमजोरी, रक्तश्रावजस्ता लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीलाई जानकारी दिन आग्रह गरिएको छ। सरकारले राज्य सरकारहरूलाई पनि अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ।इबोला एक अत्यन्त खतरनाक भाइरल रोग मानिन्छ, जसको मृत्यु दर उच्च हुने गर्दछ। संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कबाट यो रोग फैलिने भएकाले स्वास्थ्य विशेषज्ञहरूले अत्यधिक सतर्कता अपनाउन आग्रह गरेका छन्। डब्ल्यूएचओले पनि अन्तर्राष्ट्रिय समुदायलाई संक्रमण नियन्त्रणका लागि समन्वयात्मक कदम चाल्न अपिल गरेको छ। भारत सरकारले हाल परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र आधिकारिक स्वास्थ्य सूचनामात्र पालन गर्न अनुरोध गरेको छ।












