पूर्वोत्तर भारतका विभिन्न क्षेत्रमा १२ मार्चदेखि प्रि–मन्सुन वर्षा सक्रिय बनेको छ। इन्डिया मेट्रोलोजिकल डिपार्टमेन्ट (आईएमडी) का अनुसार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ र आगामी केही दिनसम्म मौसम सक्रिय रहने सम्भावना रहेको छ।
विशेषगरी आसाममा वर्षा गतिविधि उल्लेखनीय रूपमा बढेको छ। गुवाहाटीस्थित क्षेत्रीय मौसम केन्द्रले १२ देखि १७ मार्चसम्म वर्षा र मेघगर्जनसहितको मौसम रहने अनुमान गरेको छ। यसका कारण केही शहरी क्षेत्रका तल्लो भागहरूमा पानी जम्ने तथा यातायातमा आंशिक अवरोध हुन सक्ने जनाइएको छ।
यसैगरी अरूणाचल प्रदेशका विभिन्न क्षेत्रमा पनि भारी वर्षा भएको बताइएको छ। उच्च हिमाली भेगहरूमा वर्षासँगै हिमपातसमेत हुन सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। पहाडी क्षेत्रका नदी–खोलामा पानीको सतह बढ्ने तथा केही स्थानमा पहिरोको जोखिम रहन सक्ने चेतावनी पनि दिइएको छ।
मौसम विभागले उप–हिमालयन क्षेत्रका पश्चिम बङ्गाल तथा सिक्किममा पनि भारी वर्षाको सम्भावना औंल्याएको छ। केही स्थानमा हावाहुरीसहित मेघगर्जन हुन सक्ने बताइएको छ, जसका कारण दैनिक जनजीवन तथा यातायातमा सामान्य असर पर्न सक्ने अनुमान गरिएको छ।
यसैबीच मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम अनि त्रिपुराका विभिन्न स्थानमा पनि छिटपुटदेखि मध्यम वर्षा तथा मेघगर्जनको गतिविधि देखिएको छ। मौसमविद्हरूले चट्याङ र हावाहुरीको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
यसैक्रममा सिलगढी क्षेत्रमा पनि दिनभरि रुक–रुक गरी वर्षा भएको छ। वर्षासँगै तापक्रममा केही गिरावट आएको छ भने शहरका केही तल्लो स्थानहरूमा क्षणिक रूपमा पानी जमेको जानकारी प्राप्त भएको छ। व्यस्त सडक तथा बजार क्षेत्रमा सवारी आवागमन पनि केही समयका लागि प्रभावित भएको थियो। मौसम विभागका अनुसार सिलिगढी तथा आसपासका क्षेत्रमा आगामी केही दिन हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना रहेको छ।
मौसम विभागले पूर्वोत्तर भारतका विभिन्न राज्यका बासिन्दालाई विशेषगरी पहाडी तथा तल्लो भेगमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ। भारी वर्षाका कारण पहिरो, बाढी तथा चट्याङजस्ता जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासनका निर्देशन पालना गर्न समेत अनुरोध गरिएको छ।












