दार्जीलिङ, 12 फरवरी (निसं): क्षेत्रीय तिब्बती महिला संघ, दार्जीलिङको आयोजनामा बुधबार दार्जीलिङको गान्धी रोडस्थित तिब्बती सामुदायिक हलमा एक भव्य उत्सव कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम स्थानीय तिब्बती समुदायका बीचमा परम पावन 14औं दलाई लामाले सन् 2026 को उत्कृष्ट अडियो पुस्तक कथनतर्फ ग्रामी पुरस्कार प्राप्त गर्नुभएको उपलक्ष्यमा आयोजना गरिएको हो।
उत्सव कार्यक्रममा तिब्बती समुदायका विभिन्न सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरियो, जसले उपस्थित सबैलाई मनोरञ्जनका साथै तिब्बती संस्कृति र परम्पराको झल्को प्रदान गर्यो। साथै, केक काट्ने कार्यक्रम गरी दलाई लामाको यस ऐतिहासिक उपलब्धिलाई सामूहिक रूपमा मनाइयो। त्यसपछि सबै उपस्थितलाई प्रसाद (धेसी) वितरण गरिएको थियो।
यस अवसरमा बोल्दै क्षेत्रीय तिब्बती महिला संघ, दार्जीलिङकी उपाध्यक्ष तेञ्जिङ भुटियाले यो वर्षको ग्रामी पुरस्कार विशेष महत्वको रहेको बताइन्। उनका अनुसार 90 वर्षको उमेरमा एक धार्मिक तथा आध्यात्मिक नेताले ग्रामी पुरस्कार जित्नु ग्रामी पुरस्कारको इतिहासमै पहिलो पटक भएको हो, जुन सम्पूर्ण तिब्बती समुदायका लागि गर्वको विषय हो।
उनले परम पावन दलाई लामाको आवाज र सन्देश विश्वभरका मानिससम्म पुग्नु मानवता, शान्ति र करुणाको सन्देश फैलिनु भएको उल्लेख गर्दै यस्तो सम्मानले तिब्बती समुदाय मात्र नभई सम्पूर्ण विश्व समुदायलाई प्रेरणा दिने बताइन्।












