सरकारी कुरियर सेवा विस्तार : ६० जिल्लामा घरदैलोमै कागजात

Share this news

सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ । राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था विस्तार गर्दै सरकारले परम्परागत सेवा प्रणालीलाई प्रविधिमैत्री र सहज बनाउँदै लगेको हो ।

हुलाक सेवा विभागका अनुसार हालसम्म यो सेवा देशका ६० जिल्लामा विस्तार भइसकेको छ। विभागले सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा नागरिकको प्रत्यक्ष पहुँच बढाउने तथा अनावश्यक झन्झट कम गर्ने उद्देश्यले सेवा प्रणालीलाई क्रमशः डिजिटल माध्यमसँग जोड्दै लगेको जनाएको छ। विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले सरकारी सेवा वितरण प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन स्थानीय तहसम्म संयन्त्र परिचालन गरिएको बताउनुभयो। “नागरिकले सामान्य सरकारी कागजातका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थालाई अन्त्य गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिरहेका छौं। सीमित श्रोत साधनका बाबजुद पनि यो क्रमश: सबै जिल्लामा शुरु हुँदै गएको छ,” उहाँले भन्नुभयो।

विभागका अनुसार हालसम्म २९ हजार ७५८ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये एक हजार ७६३ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा राहदानी आवेदन दिनेक्रममै सेवाग्राहीको ठेगाना संकलन गर्न थालिएकाले वितरण प्रक्रिया थप व्यवस्थित भएको विभागले जनाएको छ।

यातायात क्षेत्रको सेवा वितरणलाई पनि डिजिटल र सहज बनाउने प्रयासअन्तर्गत चार लाख ७५ हजार ९०८ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म पुर्याइएको छ। तीमध्ये ६७२ वटा लाइसेन्स सेवाग्राहीको घरमै वितरण गरिएको विभागले जनाएको छ।

सरकारी सेवा वितरण प्रणालीलाई एकीकृत र बहुआयामिक बनाउने प्रयासस्वरूप विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकार्य विस्तार गरेको छ । हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण गरिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा ५३९ वटा प्रयोगशाला नमूना ढुवानी गरिएको छ। सुर्खेत, बाँके र काठमाडौँबाट प्रयोगशाला नमूना ढुवानी सेवा सुरु गरिएको विभागले जनाएको छ।
नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पुर्याउने सेवा सुरुगर्ने तयारी भइरहेको छ। त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको छ भने नेपाल खुला विश्वविद्यालयसँग शैक्षिक प्रमाणपत्र ढुवानीबारे छलफल भइरहेको विभागले जनाएको छ।

विभागले सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन विभिन्न सरकारी निकायसँग प्रणाली एकीकरणको काम पनि अघि बढाएको छ । राहदानी विभागसँग प्रणाली अन्तरआवद्धता गर्न अध्ययन समिति गठन गरिएको छ भने महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणका लागि पहल भइरहेको छ। पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पिट्स) मा पोस्टल कोड स्तरोन्नति गर्ने कार्य पनि अघि बढाइएको विभागले जनाएको छ।

अन्तर्राष्ट्रिय कुरियर सेवातर्फ पनि विस्तारको तयारी भइरहेको छ । हवाई सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गरी थप देशसम्म हुलाक पहुँच विस्तार गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक सेवा वितरण प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिए पनि यस्तो सेवा अझै प्रारम्भिक चरणमै छ। तथापि, सरकारी सेवा घरदैलोमै पुर्याउने अवधारणाले सार्वजनिक सेवा प्रवाहलाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ