गोर्खा राष्ट्रिय नारी संगठनले आफ्नो सांङ्ठनिक बिस्तारको निम्ति आज केन्द्रीय कार्यालय दार्जीलिङमा पार्टी अध्यक्ष मन घिसिङलाई भेटघाट गरि चर्चा परिचर्चा गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। केन्द्रीय समिति सदस्या मणिकला तामाङको नेतृत्वमा गोरानासं टोलीले पार्टी अध्यक्ष मन घिसिङसंग सांङ्ठनिक बिस्तार अनि राजनैतिक विषयहरुमा व्यापक चर्चा परिचर्चा गरे। सभापछि मणिकला तामाङले आफ्नो बिज्ञप्ति जारी गर्दै भने, आज पार्टी अध्यक्ष मन घिसिङसंग सांङ्ठनिक अनि राजनैतिक विषयमा छलफल भएको छ। संगठनलाई अगि बडाउनको निम्ति अध्यक्ष मन घिसिङद्वारा दिशानिर्देशन दिएका छन्।
नारी संगठनलाई अब हामीले बलियो बनाएर गोर्खा जातिको सपना साकार बनाउनको निम्ति हामी लागि पर्नेछौं। गोर्खा राष्ट्रिय नारी संगठनले १९८६ को आन्दोलनमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाएका थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले संस्थापक अध्यक्ष सुवास घिसिङको नेतृत्वमा गोर्खा जातिको हक र अधिकारको लड्न सिकायो। जसको फलस्वरूप हामीले गोर्खा किपट अनि भारत देशको प्रथम दर्जाको नागरिकता प्राप्त गर्न सक्यौं। गोर्खाल्याण्ड सोझै प्राप्त गर्न नस्कने भएपछि छैटौं अनुसूची मार्फत हाम्रो भुमिको सुरक्षा गरेर गोर्खाल्याण्ड प्राप्तिको निम्ति छैटौं अनुसूचीलाई माध्यम बनाएको हो। तर हाम्रो आफ्नै बुद्धिजीवी, नेताहरुले षड्यन्त्र रची पहाडको भाग्य बिगारेको हो। गोरामुमो गोर्खा जातिको मुद्दामा एक इन्च पनि पछि हटेको छैन।
अध्यक्ष मन घिसिङले इमानदारीपूर्वक कार्य गरिरहेका छन्। भारत सरकारलाई बुझाउनु पर्ने सम्झाउनु पर्ने सबै कार्य गरिसकेका छन्। अब भारत सरकारको बोल्ने पालो हो। यसैकारण अब हामी नारीहरु पनि जाति र माटोको उन्मुक्तिको निम्ति एक भएर अगि आउनु पर्छ भनी गोरामुमो केन्द्रीय समिति सदस्या मणिकला तामाङले अपिल गरेकी छिन्।












