गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गोरामुमो मिरिक समष्टि अन्तर्गत सोह्रसाले विष्णुलाल गाउँ, वार्ड नम्बर–९ मा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। मिरिक समष्टिका उपसभापति डी.बी. घिसिङको निवासमा आयोजित उक्त कोठे सभाले संगठन सुदृढीकरण तथा पुराना कार्यकर्ताहरूलाई पुनः सक्रिय बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।सभामा लामो समयदेखि निष्क्रिय रहेको पुरानो शाखा कमिटीलाई औपचारिक रूपमा विघटन गर्दै चाँडै नयाँ शाखा कमिटी गठन गर्ने निर्णय गरिएको छ। यसका लागि आगामी दिनमा विशेष बैठक बोलाई नयाँ नेतृत्व चयन गर्ने मिति तय गरिने जानकारी दिइएको छ।
नयाँ शाखा गठन प्रक्रिया अगाडि बढाउन मिरिक समष्टि अध्यक्ष प्रसित राईको उपस्थितिमा डी.बी. घिसिङ, नविन तामाङ, दौलत राई तथा बी.के. तामाङलाई संयुक्त रूपमा जिम्मेवारी प्रदान गरिएको छ। उनीहरूले क्षेत्रका पुराना तथा नयाँ समर्थकहरूलाई एकताबद्ध गर्दै संगठन विस्तारलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।सभामा वक्ताहरूले विगतका कठिन परिस्थितिहरूमा समेत पार्टीको केन्द्रीय निर्देशनलाई सम्मान गर्दै संगठनप्रति अडिग रहेको अनुभव साझा गरेका थिए। साथै, विगतमा विभिन्न कारणले टाढिएका पुराना साथीभाइ तथा समर्थकहरूलाई पुनः एकत्रित गरी संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता पनि जनाएका छन्।
उक्त सभामा गोरामुमो मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का, रूचन राई, जनक खड्का, समिर तामाङ तथा सहदेव रणपहेलीलगायत नेताहरूको उपस्थिति रहेको थियो। मिरिक ब्लक अध्यक्ष समिर तामाङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, गोरामुमोले मिरिक क्षेत्रमा आफ्नो सांगठनिक गतिविधिलाई थप सशक्त बनाउँदै गाउँस्तरमा पार्टीको आधार विस्तार गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।












