खरसाङ, (निसं)ः खरसाङ फुटबल एसोसिएशनद्वारा जीटीएको खेल अनि युवा मामिला विभागको तत्वावधानमा आयोजित गोर्खा चेली महिला फुटबल टुर्नामेन्ट 2026 को पहिलो क्वार्टर फाईनल खेल सम्पन्न भयो। चाममारी खेल मैदानमा 25 फरवरीदेखि सम्पन्न भइरहेको यस टुर्नामेन्टको पहिलो क्वार्टर फाईनल खेल आइतवार हिमालयन एफसी अनि दक्षिण दिनाजपुरको सरला अफसीमाझ भयो भने दोस्रो क्वाटर फाइनल सिक्किमको सोरेङ्ग एफसी अनि नेपालको आत्मा पवित्र एससी, इलाममाझ सम्पन्न भयो।
पहिलो क्वाटर फाइनलको पहिलो हाफ हिमालयनका प्रीति राईले पहिलो गोल गरेकी थिए। प्रीति राईको गोलको केही क्षणपछि सरला एफसीकी सरिता रोयले आफ्नो दलको निम्ति गोल गरेर खेल बराबरीमा ल्याइन्। दुई दलका खेलाड़ीमाझ रोमाञ्चक टक्कर भइरहेको समय हिमालयन एफसीकी एलिना राईले गोल गरिन्, यसरी पहिलो हाफमा हिमालयन एफसी 1 को विरुद्ध 2 गोल अघि भयो। दोस्रो हाफमा दक्षिण दिनाजपुर सरला एफसीकी मिलाती रोयले गोल गरिन्। खेलको निर्धारित समय समाप्त हुँदासम्म खेल 2-2 गोलको बराबरीमा रहेकोले खेल पेनाल्टी शुटाउटद्वारा निर्णय गरियो। पेनाल्टी शुटाउटमा हिमालयन एफसीका खेलाड़ीहरूले 2 गोलको विरुद्ध 3 गोल गरेर आफ्नो दललाई जीत दिलाए। पहिलो क्वाटर फाइनलको उत्कृष्ट खेलाड़ीको रुपमा हिमालयन एफसीकी गोलकिपर रेश्मा सुब्बालाई तिनको उत्कृष्ट खेल प्रदर्शनको निम्ति चयन गरियो। तिनलाई उत्कृष्ट खेलाड़ीको ट्रफी अनि पारितोषिक प्रदान गरियो भने दक्षिण दिनाजपुरको सरला एफसीका दल प्रबन्धकलाई खेलमा सहभागी जनाएकोमा सम्मान जनाउदै स्मृति चिन्ह प्रदान गरियो।
दोस्रो क्वाटर फाइनल सिक्किमको सोरेङ्ग एफसी अनि नेपालको आत्मा पवित्र एससी, इलाममाझ सम्पन्न भयो। यस खेलको पहिलो हाफमा सिक्किमकी लक्ष्मी तामाङले गोल गरेर आफ्नो दललाई बढ़त दिलाइन्। दोस्रो हाफमा यसै दलकी मुस्कान गुरुङले 3 गोल छिराइन् भने सुप्रिया मङ्र, किरण पुस्डा, लक्ष्मी तामाङ प्रत्येकले 1-1 गोल गरे। यस प्रकार यो क्वार्टर फाइनले खेल सिक्किम रोहेङ्गले 0 को विरुद्ध 7 गोलले जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। यस खेलको उत्कृष्ट खेलाड़ी सिक्किम सोरेङ्गकी मुस्कान गुरुङलाई चयन गरी उत्कृष् खेलाड़ीको ट्रफी अनि पारितोषिक प्रदान गरियो भने नेपालको आत्मा पवित्र एससी इलामलाई यस टुर्नामेन्टमा सहभागीताको निम्ति स्मति चिन्ह प्रदान गरी सम्मान जनाइयो। दुवै क्वार्टर फाइनल खेलको सञ्जालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू दावा डोलमा भुटिया, प्रतीक प्रधान, प्रमोद प्रधान , नितेश देवानले गरेका थिए भने फोर्थ अफिसियलको रुपमा सञ्जय थापा अनि अरविन्द छेत्री, म्याच कमिश्नर इन्द्र पी लामा, धर्मराज राणा अनि अशोक लामा रहेका थिए।












