गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले संगठनलाई तल्लो तहसम्म अझ सशक्त बनाउने अभियानअन्तर्गत सुके मानेभञ्ज्याङ समष्टिमा हरियो झण्डा लगाउने कार्यक्रम सम्पन्न गरेको छ।सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत समष्टि अध्यक्ष अशोक बराइलीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा सुके बजार अनि विभिन्न गाउँ तथा बस्तीहरूमा गोरामुमोको हरियो झण्डा फहराइयो। कार्यक्रममार्फत पार्टीको संगठनात्मक उपस्थिति सुदृढ बनाउनुका साथै जनतामाझ गोरामुमोको राजनीतिक सन्देश पुर्याउने कार्य गरिएको बताइएको छ। समष्टि अध्यक्ष अशोक बराइलीले गोरामुमो स्थायी राजनीतिक समाधान, संवैधानिक अधिकार तथा गोर्खा समुदायको पहिचान र सम्मानका लागि निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै पार्टीको झण्डा केवल राजनीतिक प्रतीक मात्र नभई गोर्खा जातिको आत्मसम्मान र अधिकारको प्रतीक भएको बताए। कार्यक्रममा सहभागी पार्टी कार्यकर्ताहरूले सुके मानेभञ्ज्याङ क्षेत्रमा गोरामुमोप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको बताएका छन्। आगामी दिनहरूमा पनि संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई अझ तीव्र बनाइने पार्टी स्रोतले जनाएको छ।












