गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कार्यालय दार्जीलिङमा विभिन्न समष्टि प्रतिनिधिहरूको महत्वपूर्ण भेटघाट कार्यक्रम सम्पन्न भएको छ पूलबजार–बिजनबारी समष्टि, दार्जिलिङ ब्रान्चका उपाध्यक्ष गाईस सुब्बा तथा गोरामुमो केन्द्रीय समिति सदस्य आर.सी. गुरुङको नेतृत्वमा रिम्बिक–लोदामा समष्टिका अध्यक्ष पेम्बा भोटिया, रेलिङ–कैजले समष्टिका अध्यक्ष प्रेम सुब्बा लगायत अन्य प्रतिनिधिहरूले गोरामुमो अध्यक्ष मन घिसिङसँग भेटघाट गरेका हुन्।
भेटघाटको अवसरमा भारतीय जनता पार्टी (एनडीए घटक दल) का तर्फबाट दार्जिलिङ, खरसाङ, कालेबुङ र मिरिक क्षेत्रमा हालै सम्पन्न निर्वाचनमा प्राप्त ऐतिहासिक विजयका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। साथै, पश्चिम बंगालमा भाजपाले उल्लेखनीय मतान्तरले हासिल गरेको सफलताप्रति पनि बधाई ज्ञापन गरियो।
कार्यक्रममा गोर्खा जाति र माटोले अब न्याय पाउने विश्वास व्यक्त गर्दै अध्यक्ष मन घिसिङलाई खादा तथा माला लगाई सम्मान गरिएको थियो। सोही अवसरमा अध्यक्ष घिसिङले सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा अग्रपङ्क्तिमा रहेर संघर्ष गरेका योद्धाहरूलाई खादा अर्पण गर्दै सम्मान प्रकट गर्नुका साथै उनीहरूबाट आशीर्वाद ग्रहण गर्नुभयो।
भेटघाटमा अध्यक्ष मन घिसिङले आगामी दिनहरूमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गोर्खा जाति र माटोको हितका लागि अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, संगठनको वर्तमान अवस्था, सुदृढीकरण र आगामी रणनीतिबारे विस्तृत छलफल तथा विचार-विमर्श समेत सम्पन्न भएको जानकारी प्राप्त भएको छ।












