इतिहासको घर बन्दै गणेश प्रधानको सपना

Share this news

सञ्जय प्रधान

पूर्व सिक्किमको रिनोकमा गणेश प्रधानले आफ्नै घरमा स्थापना गरेको ‘राम गौरी संग्रहालय’ अनौठा ढुंगादेखि दुर्लभ डाक टिकट, पुराना कागजपत्र, देश-विदेशका नोट-सिक्कासम्मको अद्वितीय संग्रह हो। पाँच दशकभन्दा लामो यो यात्रा बोन्साई वृक्षहरू, ड्रिफ्टवुड कला र ऐतिहासिक दस्तावेजहरूको संग्रह केन्द्र बनेको छ। उनको परिवारको साथ र समर्पणले यो संग्रहालय आज सिक्किमकै एक महत्वपूर्ण सांस्कृतिक सम्पदा बनेको छ।

“गणेश प्रधान संग्रहकर्ता मात्र होइनन्, उनी ड्रिफ्टवुड कलाकार पनि हुन्। रुखका जरा, हाँगा, काठका टुक्राहरूलाई उनी विभिन्न कलाकृतिमा परिणत गरेर मूर्त रुप दिन्छन्”

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राम गौरी संग्राहलयमा गणेश प्रधानलाई सम्मान जनाउँदै।

गणेश प्रधान युवावस्थादेखि नै क्रियाशील, उद्यमी हुन्। “हामीलाई कुरा मात्रै गरेर अल्मल्याउने अल्छी मान्छेभन्दा काम गरेर देखाउने जाँगरिला मानिस चाहिएको छ”, डा० पारसमणि प्रधानका यो आदर्श वाक्य उनले आफ्नो घरका बैठक कोठाको भित्तामा राखेका छन्। अहिले ७६ वर्षको उमेरमा पनि उनीसित युवाकै जोश र जाँगर छ। हरेक युवाका लागि उनी उर्जा सञ्चार र प्रेरणाका स्रोत हुन्। उनले ढुंगा मात्रै जम्मा गरेका होइनन्, यसका साथमा डाक टिकट, इन्ल्याण्ड लेटर, पोस्ट कार्ड,  विभिन्न देशका नोट-सिक्काहरु, पुराना चीजहरू, विभिन्न पत्र-पत्रिका, पुस्तकहरू, पुराना दस्तावेजहरू, विभिन्न रूखहरू बोन्साई गरेर संग्रह गरेका छन्।

उनी स्वास्थ्य विभागका पूर्व कर्मचारी हुन्। सरकारी नोकरीमा व्यस्त रहँदै उनले यी सबै कार्यहरू गरेका हुन्। उनका बाबु स्व० रामु प्रधानले पुराना सामग्रीहरू, दस्तावेजहरू, पत्र-पत्रिका संग्रह गर्थे। स्व० रामु प्रधानले सिक्किममा राजाका पालामा अनरेरी बेञ्च कोर्टमा अनरेरी मेजिस्ट्रेटको काम, सरपंचको काम, ग्राम पञ्चायतको काम गरेको गणेश प्रधान बताउँछन्। उनले बताएअनुसार, सिक्किमका अन्तिम राजा पाल्देन थोन्डुप नामग्यालले स्व० रामु प्रधानलाई ‘सनद’ प्रदान गरेका थिए। संग्रह गर्ने कार्यमा गणेश प्रधान बाबुबाटै प्रेरित भएर यसतर्फ अघि बढ़िरहे, अनि कालान्तरमा एउटा पूर्ण संग्रहालयको रुप लिएको छ। बाबुआमाको नाममा ‘राम गौरी संग्राहलय’ स्थापित गरेका छन्। उनको यो यात्रा पाँच दशक भइसक्यो। आज ‘राम गौरी संग्रहालय’ समग्र सिक्किमको धरोहरकै रुपमा खड़ा भएको छ। समय अघि बढ़्दैछ ‘राम गौरी संग्रहालय’मा इतिहासलाई जीवित राख्ने विभिन्न सामग्री र दस्तावेजहरू थपिँदै गइरहेका छन्।

यस संग्राहलयमा भएका सबै सामग्रीहरूको नाम मात्रै लेख्नु हो भने एउटा छुट्टै पुस्तक बनिन्छ। आफ्नो घरको एउटा ठूलै तलामा संग्राहलयका साथमा पुस्तकालय बनाइएको छ। यसको निम्ति गणेश प्रधानलाई उनकी श्रीमती कमला प्रधानले सहयोग र हौसला दिएकी छिन्। बाबुबाटै प्रेरित भएर ठूला छोरा रुबेन, सानो छोरा दिपेन, ठूली बुहारी प्रेमिका, सानी बुहारी शान्ति संग्रहालयको देखरेखमा लागेका छन्। छोरी बबिनाले बिहे हुनअघि यसको देखरेख गर्थिन्। हुलाक टिकट संग्रह गर्ने कार्यमा यस संग्राहलयको नाम राष्ट्रिय स्तरको सूचीमा पर्छ। सन् २००४ तिर हुलाक टिकटको प्रदर्शनीमा डाक विभागको तर्फबाट तत्कालीन महाडाकपाल जोहन स्यामुएलको बाहुलीबाट स्वर्ण पदक प्राप्त गरिसकेका छन्। सन् २००५ मा उनका छोरा रुबेनले अमेरिकाको अरिजोनामा हुलाक टिकट प्रदर्शन गरेका थिए। संग्राहलयमा भारत स्वाधीन हुनअघि र पछिका सयौं हुलाक टिकटहरू र नेपालका हुलाक टिकटहरू संग्रह गरेका छन्। सबै हुलाक टिकटहरू जारी गरिएको विषयमा लेखिएका जानकारीहरू पनि यहाँ पाइन्छ। भारतलगायत विभिन्न देशहरूका धेरै नयाँ-पुराना नोट र सिक्काहरू राखेका छन्। मुद्रणमा भूल भएका नोटहरू साथै बिग्रिएका सिक्काहरू कयौं संख्यामा संग्रह गरेका छन्। एउटा पचास रुपियाँको नोट, जसमा संसद भवनको माथि भारतीय राष्ट्रिय झण्डा छैन।

गणेश प्रधान संग्रहकर्ता मात्र होइनन्, उनी ड्रिफ्टवुड कलाकार पनि हुन्। रुखका जरा, हाँगा, काठका टुक्राहरूलाई उनी विभिन्न कलाकृतिमा परिणत गरेर मूर्त रुप दिन्छन्। “यस्ता चीजहरू त्यसै सड़ेर जानुभन्दा प्रयोगमा ल्याउनु राम्रो हो”, उनी भन्छन्। यस्ता कलाकृतिहरूको उनले विभिन्न ठाउँहरूमा प्रदर्शनी गरिसकेका छन् भने कति प्रतियोगिताहरूमा पुरस्कारहरू जितेका छन्। ड्रिफ्टवुड कलाको काम हिजोआज छोरा रुबेनले गर्छन्। संग्राहलयमा पुराना सामानहरूमा जर्मनी र अमेरिकामा बनिएको लालटिन, खसी काट्ने कट्टी, कोर्रा, भाँड़ाकुड़ाहरू साथै तीन सय वर्ष पुरानो नेपाली तालाचाबी, पुराना क्यामेराहरू, टेलिभिजनहरू, फोनहरू अन्य धेरै अरु पनि छन्। थुप्रै पुराना पत्र-पत्रिका, पुस्तकहरू, महत्त्वपूर्ण कागजपत्रहरू सुरक्षित राखिएको छ। राजाका पालाका  सिक्किमको सरकारी पत्रिका ‘सिक्किम हेरोल्ड’का प्रतिहरू छन्। सिक्किम हेरोल्डको प्रथम अंक सिक्किमको सूचना अनि जनसम्पर्क विभागले कतै नपाउँदा उनकैबाट फोटोकपि गरेर लगेको थियो। सिक्किम हेरोल्डकै एउटा हस्तलिखित अंक (अंक २१, तारीख १६, बिहीबार फरवरी १९६७) उनले संग्रहालयमा राखेका छन्। यस्तै कागजपत्रहरूमा पुरानो हाते कागजमा लेखिएका धामी-झाँकीहरूका मन्त्रहरू छन्। हिजोआज यी सबै दुर्लभ मानिन्छन्।

संग्राहलयसँगै छुट्टै रुपमा उनको ‘एभर ग्रीन’ नर्सरी छ। यसलाई बोन्साई रुखहरूको छुट्टै संग्राहलय भन्दा हुन्छ। उनी बोन्साईका विशेषज्ञ हुन्। बाबुबाटै उनका छोराहरूले पनि बोन्साई सिकेका छन्। करिब एक हजार जति बोन्साई गरिएका विभिन्न रुखहरू छन्। जसमा ४० देखि ५० वर्ष पुराना पनि छन्। गणेश प्रधानले स्थापना गरेको ‘राम गौरी संग्रहालय’ केवल संग्रहालय मात्र नभएर विभिन्न विषयहरूका लागि इतिहासको घर साथै शोध केन्द्रकै दर्जामा पुगेको छ। रिनोक क्षेत्रमा आउने पर्यटकहरूका लागि यो संग्राहलय आकर्षणको केन्द्र बनेको छ। सिक्किमका मुख्यमन्त्री, राज्यपाल साथै सेनाका उच्च अधिकारीहरूबाट धेरै सम्मानपत्रहरू संग्रहालयलाई प्राप्त भइसकेको छ। सिक्किमका वर्तमान राज्यपाल ओम प्रकाश माथुरबाट पनि उनले प्रशस्तिपत्र प्राप्त गरेका छन्। सन् २०१८ मा सिक्किमको राज्य पुरस्कार ‘सिक्किम सेवा सम्मान’ले सम्मानित भइसकेका छन्।

गणेश प्रधानले स्थापना गरेको ‘राम गौरी संग्रहालय’ केवल पुराना वस्तुहरूको संग्रह मात्र होइन, इतिहास, कला र प्रकृतिप्रतिको गहिरो लगावको जीवन्त दस्तावेज हो। यस्तो संग्रहालय प्रेरणा हो- जहाँ एउटा व्यक्तिको साधना, पुस्ताको सहयोग र समाजप्रतिको प्रेम एकैसाथ गुञ्जिन्छ।

 


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ