संघर्षबाट सर्वोच्च शिखरसम्म: मणिताको प्रेरणादायी यात्रा

Share this news

नारी दर्पण

सञ्जय प्रधान⇒   

एयर फोर्समा पाइलट बनेर आकाशमा उड़्ने सपना देखेकी मणिता प्रधानले जीवनमा थुप्रै संघर्ष र चुनौतीहरूलाई चिरेर संसारको सर्वोच्च हिमाल सागरमाथाको शिखरमा पाइला राखिन्। आज उनी महिलाहरूमा साहस, समर्पण र संकल्पको प्रतीक बनेकी छिन्। सगरमाथा मात्र होइन उनी विश्‍वका अन्य अग्ला शिखरहरूमा पनि सफलतापूर्वक चढ़ेकी छिन्।

पश्‍चिम सिक्किमको सोरेङमा ३ फरवरी १९८३ मा जन्मिएकी मणिता प्रधान बुद्धिमान प्रधान र प्रेमकुमारी प्रधानका छोरी हुन्। गवर्मेन्ट सिनियर सेकेण्डरी स्कूल, सोरेङमा कक्षा नौसम्म पढ़्दा एयर फोर्समा पाइलट बन्ने इच्छा थियो। स्कूलमा हुँदै नेशनल सर्भिस स्किम (एनएसएस)ले ट्रेनिङ गराउन थालेपछि पर्वतारोहणको क्षेत्रमा उनको यात्रा शुरु भयो। एनएसएसको ट्रेनिङले स्कूलमा हुँदै उनी पहाड़-पर्वत, डाँड़ाकाँड़ा उक्लिन थालेकी हुन्।

‘‘जब चुचुरोमा पुगें, ३६० डिग्री वरिपरि आफ्नै आँखाले हेरेँ। सगरमाथालाई ढोगेँ, अनि रोएँ’’

सन् २००० मा सोनाम ग्यात्सो माउन्टेनरिङ इन्स्टिच्युट (एसजीएमआई) गान्तोकबाट बेसिक माउन्टेनरिङ कोर्स ‘ए’ ग्रेड गरिन्। त्यसपछि हिमालयन माउन्टेनरिङ इन्स्टिच्युट (एचएमआई)बाट सन् २०११ मा एन्भान्स्ड माउन्टेनरिङ, सन् २०१४ मा मेथड अफ् इन्ट्रोडक्सन, सन् २०१५ मा रुट सेटर लेभल-२ सबै ‘ए’ ग्रेड गरिन्। सन् २०१३ मा पहिलो पर्वतारोहणको क्रममा उनले हिमाचल प्रदेशस्थित ६,५९३ मिटर अग्लो मणिरङ हिमालको चुचुरो टेकिन्। सगरमाथा आरोहणका लागि उनी भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयद्वारा प्रायोजित तथा इण्डियन माउन्टेनरिङ फेडरेसन (आईएमएफ) नयाँ दिल्लीद्वारा आयोजित ‘इण्डियन एभरेष्ट म्यासिफ एक्सपिडिसन २०२१’ अभियानमा सहभागी थिइन्। यस अभियानका लागि देशभरबाट १२ जना मात्र छानिएका थिए, जसमा चार विशाल शिखरहरू- सगरमाथा (८८४८ मि.), ल्होत्से (८५१६ मि.), नुप्त्से (७८६१ मि.) र पुमोरी (७१६१ मि.) समावेश थिए। यसमध्ये सगरमाथाका लागि दुईजना थिए, जसमा मणिता एकजना थिइन्।

संघर्षबाट सर्वोच्च शिखरमा पुगेकी मणिता प्रधान

१ जून २०२१ को बिहान पाँच बजे उनी संसारकै सर्वोच्च हिम पर्वत सगरमाथाको शिखरमा पुगिन्। सगरमाथामा चढ़्दा जब बेस क्याम्पमा बस्न थालिन्छ त्यही नै अप्ठ्यारो समय रहेको उनी बताउँछिन्। मौसम छिटो र अप्रत्याशित रूपमा परिवर्तन हुन्छ, जसले तीव्र हावाहुरी, हिमपात र चिसो जम्ने तापक्रम ल्याउँछ। बाटोमा हिउँ जमेका चिप्ला स्थान र हिम पहिरोका सम्भावनाहरू पनि हुन्छन्। सन् २०२१ मा उनी सगरमाथा आरोहणमा निस्कँदा कोभिड-१९ को दोस्रो लहर चलिरहेको थियो। उनी बेस क्याम्पमा झण्डै तीन महिना बसिन्। शिखर चुम्दाको अनुभूति उनी वर्णन गर्न सक्दिनन्। जस्तै कसैले मिठो मिठाइ खाँदा ‘एकदमै मिठो’ मात्र भन्नसक्छ, त्यस्तै अनुभूति उनको हो। उनी भन्छिन्, ‘‘हामी वर्णन गर्न सक्दैनौं, तर जब चुचुरोमा पुगें, ३६० डिग्री वरिपरि आफ्नै आँखाले हेरेँ। सगरमाथालाई ढोगेँ, अनि रोएँ। त्यहाँबाट हेर्दा कुनै विचार आएन, तर आफैलाई आशिषित महसुस भयो। मलाई लाग्यो, म साँच्चै संसारको सर्वोच्च शिखरमा छु।’’

सगरमाथा चढ़्नु सजिलो छैन, थुप्रै चुनौतीहरूको सामना गर्नुपर्छ। तर मणिताले सगरमाथा चढ़्दाको भन्दा पनि गाह्रो चुनौती पहिल्यै पार गरिसकेकी थिइन्। सगरमाथा आरोहणमा चुनौतीको कुरा गर्दा उनी भन्छिन्, ‘‘चुनौती त घरदेखि नै हुन्छ। महिलाको रूपमा मैले धेरै चुनौतीहरू झेलेँ।’’ पहिला घरमा अनुमति माग्नुपर्ने, अनि समाजको चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ। पर्वतारोही हुनुअघि उनी ट्रेकिङ गाइड थिइन्। गाइड बन्न घरमै बुझाउन गाह्रो परेको उनी बताउँछिन्। भन्छिन्, ‘‘दोस्रो चुनौती समाज हो। हामी केटी गाइड भएर जंगल जानुपर्थ्यो।’’ गाइडले धेरै नयाँ मानिससँग हिँड़्नुपर्छ, जुन कुरा छोरीका लागि समाजमा ठूलो चुनौती ठहरिन्छ।

गाइडले ट्रेकिङमा जाँदा नयाँ मानिसहरूलाई बाटो, गाउँ, पहाड़, जंगलको जानकारी दिनु मात्र होइन, सुरक्षामा पनि ध्यान दिनुपर्छ। यस्तो पेशामा केटीलाई समाजले हेर्ने नजर नै चुनौती हो। किनभने समाजको एक कुनामा अझै पनि छोरीप्रतिको दृष्टिकोण रुढ़ीवादी नै छ। उनले आमाबाबुबाट धेरै हौसला पाइन्, तर समाजको तीखो नजरको सामना गरिन्। मणिता भन्छिन्, ‘‘अर्को चुनौती शिखर चढ़्न स्पोन्सर पाउन गाह्रो पर्छ, यो हो अहिलेको चुनौती।’’ महिलाको रूपमा धेरै चुनौती सामना गर्नुपरेको उनी बताउँछिन्। समाजको मानसिकता बदलिनुपर्छ भन्ने कुरामा उनी दृढ़ छिन्।

वृद्ध-वृद्धाहरूले भोग्ने दु:ख मणिताले हेर्न सक्दिनन्। भविष्यमा वृद्धाश्रम खोल्ने इच्छा उनी प्रकट गर्छिन्। हिमालमा पुग्दा जलवायु परिवर्तनको महसुसबारे कुरा गर्दा अन्य हिमालहरूलाई हेर्दा जलवायु परिवर्तन भइरहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘‘जुन जग्गामा चिसो हुनुपर्ने त्यहाँ चिसो हुनु छोड़ेको छ। जुन ठाउँमा हिउँ पर्थ्यो, त्यहाँ पर्न छोड़ेको छ। यो ग्लोबल वार्मिङको प्रभाव हो, र जलवायुमा परिवर्तन आएको छ। आउँदा दिनहरूमा स्थिति झनै खराब हुने देखिन्छ।’’ मानवकै कारण यस्तो भएको उनको भनाइ छ। शहरबजारको प्रदुषण र समुद्री तुफानको असर हिमालमा प्रत्यक्ष पर्ने उनी बताउँछिन्।

मणिताले सात सर्वोच्च शिखरमध्ये सन् २०२१ मा सगरमाथा (८८४८.८६ मिटर-एशिया), सन् २०२२ मा माउन्ट किलिमाञ्जारो (५८९५ मिटर-अफ्रिका), माउन्ट एल्ब्रुस (५६४२ मिटर-युरोप), सन् २०२४ मा माउन्ट डेनाली (६१९० मिटर-उत्तर अमेरिका) र माउन्ट एकोनकागुवा (६९६१ मिटर-दक्षिण अमेरिका) आरोहण गरिसकेकी छिन्। अब बाँकी रहेका माउन्ट भिन्सन (अन्टार्कटिका) र कार्स्टेन्स पिरामिड (अष्ट्रेलिया)को लागि योजना तयार भइरहेको छ। अन्य हिमालहरूको आरोहणमा पनि उनले सफलता हासिल गरेकी छिन्, जस्तै: सन् २०१३ मा मणिरङ (६५९३ मिटर), सन् २०१४ मा तेनचेनखाङ (६०१० मिटर), सन् २०१५ मा भागीरथी-३ (६४५६ मिटर), सन् २०१९ मा त्रिशूल-१ (७१२० मिटर), सन् २०२१ मा लोबुचे (६११९ मिटर)।

सगरमाथा आरोहणबारे उनी भन्छिन्, ‘‘माउन्ट एभरेष्ट, एभरेष्ट नै हो। यसलाई दाँजो गर्न सकिँदैन। यहाँ मानिसक, शारीरिक सबै कुराहरू सशक्त हुनुपर्छ। सानो चुक भए सबै समाप्त हुन्छ।’’ सन् २०२४ मा दक्षिण अमेरिकाको अर्जेन्टिनामा अवस्थित माउन्ट एकोनकागुवामा उनको आरोहणको चर्चा भएको थियो। उनी भन्छिन्, ‘‘एकोनकागुवा मृत ज्वालामुखी हो। जहाँ अति नै कम्ति हिउँ छ।’’ उनको सफलताको कड़ी हो,  ठूलो सानो सबैलाई चुनौतीको रुपमा लिन्छिन्। उनी एसजीएमआई गान्तोक, एचएमआई दार्जीलिङ, इण्डियन हिमालयन सेन्टर फर एड्भेन्चर एण्ड इको-टुरिज्म, चेम्चे सिक्किममा अतिथि प्रशिक्षक रहिसकेकी छिन्। नेशनल स्किल डेभलपमेन्ट कर्पोरसनमा क्षेत्रीय प्रबन्धक थिइन्। संघर्षपूर्ण साहसिक कार्य, समर्पण अनि महिला सशक्तिकरणको कदर गर्दै सन् २०२२ मा सिक्किम सरकारले सर्वोच्च सम्मान ‘सिक्किम रत्न’ पुरस्कारद्वारा उनलाई सम्मानित गरेको छ।

साहसिक कार्य, अठोट र आत्मबलको प्रतीक मणिता प्रधानले देखाएको बाटो साहसिकतामा मात्र सीमित छैन- त्यो महिलाहरूको आत्मविश्‍वास, सपना र सम्भावनाको नयाँ उचाइ हो। लक्ष्य कड़ा होस् वा कठिनाइ गहिरो, संकल्प र समर्पण भए जुनसुकै शिखर पनि चुम्न सकिन्छ। मणिताको यात्रा हजारौं युवतीका लागि प्रेरणा बनेको छ।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ