कालेबुङको हिल सोसियल वेलफेयर सोसाइटी (एचएसडब्ल्यूएस) महिला सशक्तिकरणको क्षेत्रमा निरन्तर क्रियाशील संस्था हो। सन् २००० मा स्थापना भएको यस संस्थाले २५ वर्ष पूरा गरेर २६औँ वर्षमा प्रवेश गर्दै महिलालाई अधिकारप्रति सचेत, सीपयुक्त र आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानलाई सशक्त बनाउँदै आएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाहरूको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य र दिगो जीविकोपार्जनलाई केन्द्रमा राखेर एचएसडब्ल्यूएसले आफ्नो छुट्टै पहिचान बनाएको छ।
सन् २००० मा एचएसडब्ल्यूएस स्थापना हुँदा क्रेच अर्थात शिशु स्याहार केन्द्रबाट काम शुरु गरिएको थियो। यसमा चियाबारीका श्रमिक महिलाहरूका नानीहरूको हेरचाहसँगै उनीहरूलाई पौष्टिक आहार दिइन्थ्यो। सो बेला क्रेच पश्चिम बंगाल सरकारको एउटा प्रोजेक्ट थियो। सन् २००४ मा संस्थापक विनय खातीको देहावसानपछि संस्थाको जिम्मेवारी वहन गरेर अघि बढ़ाएकी छिन् सचिव शोभा छेत्रीले। केही समय क्रेच संचालनपछि संस्थालाई नयाँ भिजनसहित अघि बढ़ाउने सोच बनाएको उनी बताउँछिन्। यो संस्थामा सातजना महिलाहरू बोर्डका सदस्य छन्- अध्यक्ष मीरा लाबर, उपाध्यक्ष पासाङ डोमा लामा, सचिव शोभा छेत्री, सहसचिव सुनिता गजमेर, कोषाध्यक्ष हेमकुमारी थापा, कार्यकारी सदस्यद्वय बिमला प्रधान र मधु प्रधान।

क्रेचपछि भारत सरकारद्वारा शुरु गरिएको रिप्रोडक्टिभ एण्ड चाइल्ड हेल्थ (आरसीएच-२) प्रोजेक्ट सन् २००५ मा संचालन गरियो। यसको उद्देश्य मातृ तथा शिशु मृत्युदर घटाउनु र प्रजनन स्वास्थ्यमा सुधार ल्याउनु हो। यस प्रोजेक्टअन्तर्गत गर्भावस्थाको हेरचाह, सुत्केरीपछिको सेवा, परिवार नियोजन, खोप तथा पोषण सहयोग प्रदान गरिन्छ। विशेषगरी ग्रामीण तथा सेवा सुविधाबाट वञ्चित क्षेत्रका महिला र बालबालिकालाई एकीकृत स्वास्थ्य सेवामार्फत लक्षित गरिएको छ।
आरसीएच-२ प्रोजेक्ट कालेबुङ जिल्लाको दुर्गम क्षेत्र लोले र लिङ्सेखामा संचालन गरिएको शोभा छेत्री बताउँछिन्। सन् २००५ मा यो प्रोजेक्टको काम उनी सम्झिन्छिन्, ‘‘लिङ्सेखा सुदुर क्षेत्र हो, कालेबुङदेखि करिब ६५ किलोमिटर छ। यो ठाउँ सिक्किमको रिनोक भएर पुग्नुपर्छ। जहाँ त्यति बेला बाटो थिएन, बिजुली थिएन। बाटोको सुविधा नभएको हुँदा त्यहाँका महिलाहरूलाई जोखिम उठाउनुपर्थ्यो।’’ आरसीएच-२ प्रोजेक्ट संचालन गर्दा समय समयमा त्यहाँ स्वास्थ्य शिविरहरू आयोजना गरिन्थ्यो। यसमा बीएमओएच डा० नवीन ज्योति प्रधानको महत्वपूर्ण भूमिका रहेको उनी बताउँछिन्।
सन् २००५-०६ मा ‘सनलाप’को पार्टनर रहेर मानव तस्करीबारे पुलिस र समुदायलाई प्रशिक्षण दिएर सचेतना अभियान चलाएर धेरै ठाउँबाट उद्धार कार्य गरेको उनी बताउँछिन्। मानव तस्करीको जालोमा पर्नुको कारण कुनै किसिमको दिगो जीविकोपार्जन नहुनु हो भन्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘‘उद्धार गर्दा समस्या जीविकोपार्जन रहेछ भन्ने मलाई लग्यो। यसले मलाई गहिरो असर पार्यो। एउटा केटी दुई तीनपल्ट पुन: तस्करी हुन्छ- त्यो जीविकोपार्जनको कारणले हो। दिगो जीविकोपार्जन छ भने केटीले जोखिम उठाउन त्यहाँ जाँदैन। उद्धार कार्य एउटा पक्ष हो, तर दिगो जीविकोपार्जन नै सबैभन्दा मुख्य लक्ष्य देखा पर्यो। त्यसैले मैले जीविकोपार्जनका लागि काम गर्न बढ़ी ध्यान दिएको छु।’’

अहिले एचएसडब्ल्यूएसले जीविकोपार्जनलाई लिएर धेरै महत्वपूर्ण कामहरू गरिरहेको छ। यस संस्थाले ह्याण्डलुमको ठूलै संरचना तयार गरिसकेको छ। ह्याण्डलुममा करिब १५० जना महिलाहरू संलग्न छन्। यहाँ शाल, दिवान सेट, पर्दा, बेडसिटलगायत धेरै सामानहरू बनाइन्छ। यहाँबाट तयार गरिएका सामानहरू संस्थाकै शो-रुममा बिक्री गरिन्छ भने कलकतालगायत भारतका विभिन्न ठाउँहरू साथै विदेशमा भुटान, नेपालतिर पनि पुग्ने गरेको शोभा छेत्री बताउँछिन्। उनी भन्छिन्, ‘‘यसबाट धेरै महिलाहरू आत्मनिर्भर भएका छन्। १०-१५ जना महिला उद्यमी भएका छन्। स्कूलका रेडिमेड लुगाहरू, स्वेटर आदि २३ वटा मशिनबाट तयार गरिन्छ।’’
उनी अझ भन्छिन्, ‘‘विशेष गरेर पहाड़मा कालेबुङ एग्रिकल्चर, हर्टिकल्चर क्षेत्र भएको हुनाले ठाउँ ठाउँमा हामीले पाँचवटा एसएचजीहरूलाई नुडल्सको उद्योग स्थापित गरिदिएका छौं। नुडल्स उद्योग कालेबुङ जिल्लामा दुईवटा अनि दार्जीलिङ जिल्लामा मङ्पू, सिटोङ, लप्चु-पेशोकमा एक एक वटा। यो नुडल्स उद्योग उनीहरूले अहिले राम्रो चलाइरहेका छन्। यो पनि एउटा आयस्रोतको बाटो हो।’’
शोभा छेत्री भन्छिन्, ‘‘पश्चिम बंगाल सरकारले धेरै सहयोग गरेको छ। धेरैवटा एसएचजीहरूका लागि सरकारको सहयोगमा पोलिग्रीन हाउसहरू बनायौं।’’ उनी भन्छिन्, ‘‘अहिले हामीले डेढ़ सय जति फूलको नर्सरी महिलाहरूलाई दिएका छौं। यस्ता नर्सरीहरू गोरुबथान, कालेबुङ वरपरका क्षेत्रहरूमा अनि लप्चु-पेशोकमा पनि हामीले किचन गार्डनहरू स्थापित गरिदिएका छौं। करिब २५० जनालाई पशुपालनको लागि सहयोग गरेका छौं।’’ यसमा पश्चिम बंगाल सरकारको सहयोग रहेको उनी बताउँछिन्।
फूलखेती होस् वा पशुपालन सबैभन्दा पहिला सबै महिलाहरूलाई एचएसडब्ल्यूएसद्वारा सीप विकासको प्रशिक्षण दिइन्छ। ‘‘हामीले पहिलोपटक १० जना ‘पशु सखी दिदी’हरू तयार गरेका छौं’’, शोभा छेत्री भन्छिन्। यी पशु सखी दिदीहरूलाई पशुपालनबारे आवश्यक उपचार गर्न प्रशिक्षण दिइएको छ। यदि कसैको पशु बिमार भए उनीहरूले उपचार गर्छन्। यसले उनीहरूमा कतिको आय पनि भइरहेको बताउँछिन्। एचएसडब्ल्यूएसले गरेको आत्मनिर्भरताको पहलमा च्याऊ खेतीहरू पनि कतिपय ठाउँहरूमा छन्। अहिले यस संस्थासित करिब चार हजार महिलाहरू जोड़िएका छन्।
एचएसडब्ल्यूएसले एक्लो महिलाहरूलाई सहयोग गर्न सन् २०१५ देखि ‘सिङ्गल वुमन’ प्रोजेक्ट संचालन गरिरहेको छ। यस प्रोजेक्टबाट विधवा, अविवाहित, सम्बन्ध विच्छेद भएका र अलग बसेका महिलाहरूलाई आत्मनिर्भर बनाउने साथै उनीहरूको विकासको निम्ति काम गरिन्छ। उनीहरूलाई विभिन्न किसिमका सीप विकासका प्रशिक्षण दिएर आवश्यक सहयोग गरिन्छ। यसमा कतिजना सानो कोठेबारीमा सागसब्जी उमारेर, फूलखेती गरेर, अचार बनाएर आफ्नो जीविका चलाएर आत्मनिर्भर बन्नसकेका छन्। सिङ्गल वुमनले पाउनुपर्ने अधिकार र सहुलियतबारेमा जागरुक गराइन्छ।
एचएसडब्ल्यूएसले पर्यटन व्यवसायको प्रशिक्षण दिने गरेको छ। ‘‘पर्यटनको क्षेत्रमा अहिले राम्रो भएको छ, कारण सरकारको सूचीमा एचएसडब्ल्यूएस समावेश भएको हुनाले हामीले धेरैजना महिलाहरूलाई समय समय हस्पिटालिटी, म्यानेजमेन्ट, स्वास्थ्य-सरसाफईबारे प्रशिक्षणको व्यवस्था गरिदिन्छौं’’, शोभा छेत्री भन्छिन्। यस्तै प्रशिक्षण पाएर धेरैले होमस्टेहरू चलाइरहेको उनी बताउँछिन्।
एचएसडब्ल्यूएसद्वारा महिलाहरूलाई ब्यूटी वेलनेस, च्याउ खेती, भर्मिकम्पोस्ट मल बनाउने प्रशिक्षण दिएर यसको व्यवसाय गर्न पनि सहयोग गरिन्छ। महिलाहरूलाई मात्र होइन सानो खेती गर्ने र किनाराकृत पुरुष कृषकहरूलाई पनि सहयोग गरिन्छ। स्कूल ड्रप आउटको संख्या घटाउनका लागि यो संस्थाले काम गर्ने गरेको छ। संस्थाले सन् २००८ देखि २०१६ सम्म नन फर्मल एडुकेशन १२ वटा सेन्टर लप्चु-पेशोकमा संचालन गरेको शोभा छेत्री बताउँछिन्। यस संस्थाले बालश्रम, बाल तस्करी, बाल विवाह रोक्नका लागि विशेष रुपमा कम गर्दै आइरहेको छ।
एचएसडब्ल्यूएसलाई महिला सशक्तिकरणमा विशेष भूमिकाका निम्ति इण्डियन इन्स्टिच्युट अफ् म्यानेजमेन्ट, कलकताद्वारा सन् २०२४ मा २ लाख २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ। यसबाहेक दर्जनौं पुरस्कार र सम्मानहरूद्वारा संस्था सम्मानित भइसकेको छ।
समग्रमा एचएसडब्ल्यूएसले महिला सशक्तिकरणलाई व्यवहारमा उतार्दै आएको छ। दुर्गम क्षेत्रदेखि ठूला बजार-महानगरसम्म महिलाको श्रम र सीपलाई जोड़्न सफल यस संस्थाको यात्रा प्रेरणादायी छ। २६औँ वर्षमा प्रवेशसँगै एचएसडब्ल्यूएसले आत्मनिर्भर महिला, समृद्ध समुदाय र सुरक्षित भविष्य निर्माणतर्फ आफ्नो प्रतिबद्धता अझ दृढ़ बनाएको छ।












