मानव सभ्यताको उदय, विकास तथा कृषि एकअर्काको सम्पुरक हुन्- जो एक अर्काबिना अधुरो बन्नपुग्छ। इतिहासले देखाएको ढुङ्गे युगदेखि एआईले नियन्त्रण गरेको २१औँ शताब्दीको सभ्यतासम्म आइपुग्दा कृषि र मानव एकअर्कासँग अलग हुनसकेन, भनौं यी दुई एकअर्काका दुई पाटा हुन्।
हुन पनि कृषि उत्पादन मात्रै एकमात्र यस्तो साधन हो, जसले मानवीय इञ्जिन चल्दछ। विभिन्न काल खण्डलाई नजिकबाट नियाल्दा मानव सभ्यताको विकासको क्रमसँगै कृषिमा पनि नवीनता भित्रिनु कुनै अनौठो घटना होइन। जसमा विज्ञानको आविष्कारसँगको नयाँपनले कम क्षेत्रमै यति उत्पादन बढ़्यो, अनि विश्वका एकाध मुलुकहरू बाहेक प्रायः सबै देशहरूमा खाद्यान्न भण्डार पर्याप्त बन्नपुग्यो। जसको कारणले अस्सीको दशकभन्दा अघि विश्वभर देखिने अनिकाल बिरलै बन्नपुग्यो।
‘‘दैनिक रूपमा बढ़्दो शहरीकरणले मानिसको जीवन सहज त बनायो, तर खेतीयोग्य जमिन बाँझो मात्रै होइन सर्वसाधारणलाई परजीवी उत्तिकै बनायो।’’
-दिपेन खरेल
यद्यपि भौगोलिक क्षेत्रले अलिक भिन्नै देखिने पहाड़ीक्षेत्रमा भने खेतीपातीले कुनैदिन नौलोपन देखेन, भनौं पहाड़वासीहरूले खेतीप्रति खासै चासो पनि देखाएनन्। जसको कारण सन् 2000 को दशकसम्म देखिने खेतीयोग्य जमिन बाँझो बन्न पुगेको छ। मार्सी र अट्टे उम्रिने खेतमा इलामे फुलेपछि घना जंगलमा बसोबास गर्ने वन्यप्राणीको टुड़ीखेल बन्नपुग्नु कुनै नौलो घटना होइन। जो आवादी भएको क्षेत्रहरूमै आहारको निम्ति निस्किँदा बेला बेलामा मानवससँग जम्काभेट हुँदछ। धानखेत सम्झेर आउने दुम्सीले खेती नभेटेपछि करेसाबारीमै लगाएको तरुल खाइदिँदा बाबु र छोराको भनाभैरी हुनु कुनै नौलो घटना होइन।
‘‘हामीलाई युवाहरू खेतीमा आउँदैनन् भन्ने लाग्छ, तर हामी यसको जड़सम्म पुग्ने कोशिश गर्दैनौं’’
-खन्जु शेर्पा
यद्यपि यस्ता चुनौतीहरूलाई पन्साएर आफ्नो जमिनमै केही गरौँ भन्ने सोच बनाउँदै छुट्टै पहिचान बनाउने उद्यमीहरूको पनि कमी छैन। यस्तै एकजना हुन् दार्जीलिङ पुलबजार खण्डअन्तर्गत गोक एक ग्रामको कमजेर निवासी दिपेन खरेल। दार्जीलिङ-सिक्किमको सिमाना स्थित गाउँका बासिन्दा उनले खेतीबाट गजबकै काम गरिरहेको छन्। पाँचवटा ज- (जमिन-जन-जंगल-जनावर-जाँगर) भए किसानलाई पुग्छ भन्ने सोचाइ राख्ने उनले आफ्नो जमिनमा सालभर विभिन्न प्रकारका खेती लगाउँदै मनग्गे आम्दानी साट्छन्। जसमा सब्जीखेती मुख्य रहेको छ, जसद्वारा आफू मात्र होइनन् अन्य धेरैको चुल्हा जलाउने काम गरेका छन्। परिवारका अन्य सदस्यहरूले नोकरी गर्दै गाउँ छोड़े पनि दिपेनले आफ्नो पुस्तैनी जग्गा कुनै दिन छोड़्ने सोच बनाएनन्। बरु आफ्नो जमिनमा केही नयाँ गर्न लागिरहे। काकाबाट प्रेरणा पाएका उनले खेतीकै सिलसिलामा देश साथै छिमेकी राष्ट्र नेपालका केही उद्यमीहरूरुलाई भेटे। यसपछि बिस्तारै शुरु गरे पारम्परिक र आधुनिकताको मिश्रणमा नयाँ तौरतरिकाको खेती। ‘‘तँ चिता मनुष्य म पुर्याउँछु’’ भनेजस्तै काम शुरु गरेपछि कृषि तथा वागवानी विभागको नजर उनको कार्यमाथि पर्यो।
प्रोत्साहन स्वरुप केही सहयोग विभागबाट पाएपछि हौसला दोब्बर बन्यो। यता बारीमा मौसमी खेतीदेखि दीर्घकालीन सुपारीलगायतका खेती शुरु गरे, अनि गाई-भैंसीदेखि बाख्राहरूको संख्या पनि बढ़्न थाल्यो। यस्तै घरको भित्ता हुँदै मादले ढुड़मा पारम्पारिक रूपमा रहँदै आएको मौरी पालन आधुनिक घारसम्म आइपुग्यो। आज उनकोमा तीन प्रकारका डुड़का मौरीहरू छन्। खेतीसँगै जिउने खरेल भन्छन्, ‘‘दैनिक रूपमा बढ़्दो शहरीकरणले मानिसको जीवन सहज त बनायो, तर खेतीयोग्य जमिन बाँझो मात्रै होइन सर्वसाधारणलाई परजीवी उत्तिकै बनायो।’’ उनी अझ भन्छन् ‘‘पहाड़का युवाहरूलाई खेतीमा खासै चासो छैन, उनीहरू खेतीपती भन्दा अन्य पेशा अप्नाउन राम्रो सम्झन्छ्न्, भनौं खेती गर्नु भनेको सानो कामको रूपमा ठान्छन्। जसले गर्दा एकाध खेती गर्न रुचाउनेहरू प्रभावित हुन्छन्। उनीहरूकै खेतीमा वन्यजन्तुदेखि चराचुरुङ्गीको वास हुन्छन्।’’ ‘‘फेरि अर्को कुरा खेतीमा श्रम गर्नेहरू समेत समस्यामा पर्छन्। खेती पैसाको भरमा गर्न बाध्य बनेपछि देखिने ठूलो आम्दानी नहुँदा इच्छुक किसानहरू पनि खेती छोड़्न बाध्य हुन्छन्।’’, उनी भन्छन्।
यस्तै अर्का हुन् सुदुरवर्ती रिम्बिक लोधोमा क्षेत्रको लोधोमा दुई ग्रामको फेदीखोला निवासी खन्जु शेर्पा। उनले कृषिकै माध्यमबाट आफ्नो पहिचान समाजमा बनाउँदै किसानहरू केवल आवश्यकतामा मात्रै होइन सफल उत्पादक भएर बाँच्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन्। उनले घरमा खेती तथा पशुपालन पुस्तैनी रहेको भए पनि बाल्यकालमा पुस्तैनी खेतीलाई खासै चासो देखाएनन्। चालक बनेर लगभग तीन दशक गाड़ी चलाए।
आफ्नो पेशालाई निरन्तरता दिँदै चालककै रूपमा परिवारसँगै खन्जु दिल्ली पुगे। गाड़ी लिएर प्राय:जसो दिल्लीबाट कुल्लु मनाली हिमाचल पुग्थे। आफ्नै गाउँजस्तो देखिने ठाउँहरूमा गरेको खेतीपातीलाई नजिकैबाट हेर्न थाले। अलिक फरक देख्दा उनले आफ्नो गाउँमा पारम्परिक रूपमा चलिरहेको समयमा यी स्थानहरूमा आधुनिकता भित्रिएको देख्दा एकदिन गाउँमा पनि केही नयाँ प्रकारले खेती गर्ने सोच बनाए। तर परिस्थितिले सो बेला उनलाई साथ दिएन। बिस्तारै परिस्थितिले दिल्ली छोड्न परेपछि गाउँमै नयाँ सोचले खेती गर्न कम्मर कसे। यद्यपि पहिला पहिला खेतीको पारम्परिक विचारधारालाई हटाउन चुनौतीहरू सामना गरे।
आत्मविश्वासी खन्जुलाई पारम्परिक तरिकाको आलु, मकै र पुरानो मटरको खेती नोक्सानीमा चलिरहेको गाउँलेहरूलाई विश्वास दिलाउन खासै समय लागेन। उनले शुरु गरे मटरको खेती। मटरसँगै खन्जुको खेतीको आधुनिकताको धारण फस्टाउन थाल्यो। एक केजी मटर तेह्र मनभन्दा बढ़ीको दरले फलेपछि एकै सिजनमा लगभग पच्चीस टनभन्दा बढ़ी मटर उत्पादन गरे। एकै पटकमा खन्जुलाई गाउँमा मात्रै होइन क्षेत्रमै परिचय गरायो। गाउँले व्यापारीले भनेजस्तो दाम नदिएपछि खन्जु पहिलोपटक आफ्नै बारीको मटर लिएर सिलगढ़ी पुगे। गाउँको व्यापारीको दाम र सिलगढ़ीको दाममा आकाशपताल फरक पाएपछि उनले किसानहरू उभो नलागेको कारण बुझे। यसरी शुरु भयो खन्जुको कृषि यात्रा।
एकैपटकमा निक्कै सफल भएपछि खन्जुले बारीमा विभिन्न खेतीमात्रै होइन पशुपालनमा विशेष ध्यान दिन थाले। गाई, बाख्रा, सुँगुरहरू पाल्न थाले। आधुनिक खेतीबाट उनको बारीमा एकै सिजनमा बीस टनभन्दा बढ़ी इस्कूस उत्पादन हुनथाल्यो। खेतीदेखि पशुपालन तथा माछापालनसम्म गर्ने खन्जुलाई पनि युवा पुस्ताहरू गाउँ छोड़ेर बाहिर जाने क्रमले कताकता गाउँ बिस्तारै फारस त हुँदैन भन्ने डरले सताएको छ। खेतीमा भरोसा गर्ननसक्नुको प्रमुख कारण खेतीपातीबारे शिक्षा नुहुनु उनी मान्छ्न्। यसैले उनी पटकपटक कृषि सम्बन्धित शिक्षा विद्यालय स्तरमा व्यवहारिक रूपमा हुनुपर्छ भन्ने जोड़ दिन्छन्। उनी भन्छन्, ‘‘हामीलाई युवाहरू खेतीमा आउँदैनन् भन्ने लाग्छ, तर हामी यसको जड़सम्म पुग्ने कोशिश गर्दैनौं। मलाई लाग्छ यसको जड़ हामीसँगै हाम्रो शिक्षा व्यवस्था हो, जहाँ कुनैदिन कृषिमाथि चर्चा हुँदैन। यसैले जबसम्म हामी सचेत हुँदैनौं तबसम्म टाउकोमा हात राख्नु शिवाय केही हुँदैन।’’
समग्रमा हेर्नुपर्दा दिपेन र खन्जुजस्ता केही किसानहरू छन्, जसले आफ्नै जमिनमा सुन फलाउने सोच राख्छन्। तर उनीहरूले मात्रै गरेको कोशिश ‘एउटा हुट्टीट्याउले संसार थाम्दैन’ भन्ने उखानभन्दा कम छैन यसैले समग्र पहाड़मा खेतीपाती सम्बन्धित युवामुखी काम गर्न नसके पहाड़को ग्रामीण भेगको खेतीयोग्य जमिन केवल वन्यजन्तुको निवास बाहेक अन्य केही नहोला भन्न सकिन्न।












