लामो समय पुलीस विभागको एउटा दायित्वपूर्ण जिम्मेवारीमा रहेर जनसमुदायको सेवा गरी अवकाश प्राप्त गरेपछि, आज एक सचेत नागरिकको हैसियतमा आफ्नो ‘माटो’- मिरिक, पहाड, डुवर्स र तराईको अवस्था नियाल्दा मन मर्माहत भएर आउँछ। सुरक्षा र प्रशासनिक व्यवस्थालाई नजिकबाट बुझेको अनुभवले म भन्न सक्छु; जुन शासनमा जनताको आँसु र पसिनाको कदर हुँदैन, त्यो व्यवस्था धेरै दिन टिक्न सक्दैन।
इतिहास साक्षी छ, सन् १९३० को दशकमा ‘विकास’ र ‘राष्ट्रवाद’ को चर्को नारा दिएर सत्तामा पुगेका एडोल्फ हिटलरको उदय जति गर्विलो थियो, उनको अन्त्य उति नै अन्धकारमय भयो। आफ्नो अहङ्कारले ६० लाख भन्दा बढी निर्दोषको हत्या गर्ने ती शक्तिशाली तानाशाह अन्त्यमा एउटा अँध्यारो र चिसो ‘बङ्कर’ भित्र लुक्न विवश भए। कतिसम्म विडम्बना भने, मृत्युभन्दा केही घण्टा अघि मात्र विवाह गरेकी आफ्नी प्रेमिका इभा ब्राउनलाई समेत उनले विष खान लगाएर आत्महत्या गर्न बाध्य पारे र आफूले पनि गोली हाने। शक्तिको चरम टाकुरामा पुगेको एउटा नेताले आफ्नै परिवारलाई सुख र सुरक्षा दिनुको सट्टा मृत्युको उपहार दिनु पर्यो।हाम्रा गोर्खे नेताहरूले यो ऐना हेरेर सोच्ने बेला आएको छ; तपाईँले आज कमाउनु भएको यो अलोकतान्त्रिक शक्ति र सम्पत्तिले तपाईँको परिवारलाई भोलि समाजमा शिर उठाएर हिँड्ने वातावरण दिन्छ कि इतिहासको कलङ्क?
आज हाम्रो मिरिक सब-डिभिजन, पहाडका अन्य क्षेत्रहरू, अनि डुवर्स र तराईका चिया बगान इलाकाको अवस्था स्वास्थ्यको दृष्टिकोणले हेर्दा अत्यन्तै भयावह छ। अस्पतालका ठूला-ठूला भवन त बन्छन्, बेडहरू पनि थपिन्छन्, तर भित्र न पर्याप्त डाक्टर छन्, न आधुनिक उपकरण। सामान्य स्वास्थ्य समस्या हुँदा पनि गरिब जनताले सिलिगुडी नै दौडिनुपर्ने यो कस्तो विडम्बना हो? हुनेखानेले त बाहिर गएर उपचार गराउलान्, तर हाम्रा ती निमुखा श्रमिक दाजुभाइ-दिदीबहिनीहरू, जसले न्यूनतम ज्याला र दशैँको बोनसका लागि सधैँ सडकमा रुनुपर्छ, उनीहरूको उपचार बिना नै अकालमा मृत्यु हुने यो अवस्थाको जिम्मेवार को?
स्वास्थ्य, बिजुली, पानी, बाटो र रोजगारी कुनै पनि सरकारको आधारभूत कर्तव्य हो। विकासका नाममा बन्ने नाला र झोडाहरू एक बर्खा पनि नटिक्नुको रहस्य के हो? हुन त मैले ती लेनदेनका कागजपत्रहरू आफ्नै आँखाले देखेको छैन, न त कसैले मेरो अगाडि हात थापेको नै छ। तर, जब नयाँ बनेको बाटो एक वर्ष नपुग्दै भत्किएर फेरि खाल्डो हुन्छ र ठेकेदारका घरहरू मात्र उकासिन्छन्, तब जनताका कानमा सुनिने ती ‘परसेन्टेज’का चर्चाहरूलाई कसरी निराधार मान्ने?
”आज हाम्रा नेताहरू निलो बत्ती बालेको गाडीमा हिँड्दा गर्व गर्छन्, तर त्यो गाडीको टायरमुनि जनताको आँसु र पसिना छ भन्ने बिर्सिन्छन्। जनता स्वस्थ र खुसी रहे मात्र तपाईंको त्यो निलो बत्ती सुहाउँछ।”
आजको ‘डिजिटल युग’ मा हाम्रा युवाहरू रोजगारीको अभावमा पलायन भइरहेका छन्। यदि नेतृत्वले अझै पनि सरकारसँग यी आधारभूत मागहरू राख्न डराउँछ वा आफ्नै स्वार्थमा लिप्त हुन्छ भने, इतिहासले अर्को हिटलरको कथा दोहोर्याउन बेर लगाउँदैन।
मेरो विनम्र अनुरोध:
म एक अवकाशप्राप्त बुजुर्ग नागरिकको नाताले मेरा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा भविष्यका कर्णधार युवा वर्गलाई के अनुरोध गर्न चाहन्छु भने ; लोकतन्त्रमा नेता ‘राजा’ होइन, ‘जनता’ नै मालिक हुन्। अब समय आएको छ; हामी कुनै लोभ, लालच, डर वा बहकाउमा नपरी आफ्नो विवेकले सठिक नेतृत्वको चयन गरौँ। आज हामीले गरेको एउटा सही निर्णयले मात्र हाम्रा भावी पुस्ताको स्वास्थ्य र भविष्य सुरक्षित गर्न सक्छ। यो लेख ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बीँड’ हो। समयमै सचेतबनौँ, नत्र इतिहासको न्याय सधैँ निर्दयी हुन्छ।
–डम्बर सिंह सुनार, पूर्व अतिरिक्त प्रहरी अधीक्षक मिरिक, दार्जीलिङ।












