कविता र चित्रकलालाई एउटै सिर्जनात्मक यात्रामा जोड़ेर अघि बढ़िरहेकी कलाकार हुन् दीपा राई। उनका शब्दहरू कवितामा भाव बनेर बग्छन् भने रङ र रेखाहरू क्यानभसमा कथा बोल्छन्। नारी चेतना, संघर्ष, चियाबारीको जीवन, प्रकृति र समाजका विविध पक्षलाई उनले कविता र चित्रकलामार्फत अभिव्यक्त गर्दै आएकी छिन्।

लछुमण राई र रेन्जु राईकी छोरी दीपाले सानैदेखि पेन्सिल र पेन लिएर चित्र कोर्न थालिन्। बाबुले पेन्सिलले चित्र बनाउँथे र सुकेका चियाका बोटका जराहरूबाट ड्रिफ्टवुड शैलीमा कला सिर्जना गर्थे, जसलाई एब्स्ट्रयाक्ट आर्टको रूपमा पनि लिन सकिन्छ। बाबुको सृजनात्मक कलाले सानैमा दीपाको ध्यान खिच्यो।
‘‘चित्रकलालाई हबीको रुपमा मात्र होइन, साधनाको रुपमा लिनुपर्छ’’
विद्यार्थी हुँदा घरमा उपन्यास र कमिक्सहरू लुकिलुकि पढ़ि्थन् र स्कूलमा छोटो कविताहरू लेख्थिन्। अहिलेजस्तो इमेल, व्हाट्सएप, फेसबुक नभएको समयमा हिउँदको छुट्टिमा साथीहरू छुटिँदा चिट्ठी लेखेर हालखबर साझा गर्ने चलन थियो। यस्ता चिट्ठीलाई सृजनात्मक लेखाइको रूपमा पनि हेरिन्थ्यो र साहित्यमा पनि समेटिन्थ्यो। तर सोशल मिडियाको विकाससँगै यो चलन हरायो। यस्तै चिट्ठी लेखाइबाट आफ्नो साहित्यिक यात्रा शुरु भएको जस्तो लाग्छ भन्ने दीपा बताउँछिन्। विद्यार्थी जीवन सम्झँदै उनी भन्छिन्, ‘‘त्यतिबेला हामी प्रकृतिसित धेरै रमाउँथ्यौं, प्रकृतिको नजिक थियौं।’’ उनको पहिलो कविता ‘सुनचरी समाचार’मा प्रकाशित भयो। त्यसपछि उनका कविताहरू ‘हिमालय दर्पण’सहित विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुन थाले।
गान्तोकको स्यारी निवासी दीपाको पहिलो कृति सन् २००६ मा ४५ वटा कविताहरूको संग्रह ‘दीपाको भ्रम’ प्रकाशित भयो। सन् २०२१ मा दोस्रो कविता संग्रह ‘अन्तिम जाम’ प्रकाशित भयो। यसमा विभिन्न विषयलाई प्रमुख रुपमा राखेर शृंखला कविताहरू प्रस्तुत छन्। ‘चियाबारी’को संघर्ष पनि उजागर गरिएको छ। कविता बाहेक उनी कथा र नाटक लेख्छिन्। सन् २०२१ मा एनबीटी भारतद्वारा प्रकाशित बालकथा हिन्दी र अंग्रेजीबाट नेपालीमा अनुवाद गरेकी छिन्।
नाटकमा उनी आकाशवाणी गान्तोकका मान्यताप्राप्त नाट्य कलाकार हुन्। स्व० सानु लामाको कथा ‘पैंयु फुलेको दिन’मा आधारित दिल्ली दूरदर्शनद्वारा निर्मित वृतचित्रमा अभिनय गरेकी छिन्। रङ्गमञ्चमा थमन नौबागद्वारा लिखित नाटक ‘विक्रान्त’ तथा इन्द्र एन० प्रधानको निर्देशनमा मनबहादुर मुखियाको लोकप्रिय नाटक ‘अनि देउराली रुन्छ’ मा अभिनय गरिन्। यो नाटक सिक्किमका जिल्लाहरूमा मञ्चन भएको थियो। उनले आकाशवाणी गान्तोकबाट ‘बाल जगत’ कार्यक्रम संचालन गर्थिन्।

उर्जा विभागमा कार्यरत दीपा कविता र कथा लेखनजस्तै चित्रकलामा पूर्णरूपले सक्रिय छिन्। चित्रकलामा उनी एक्रेलिक, वाटर र ओयल कलर प्रयोग गर्छिन्। ल्याण्डस्केप, एब्स्ट्रयाक्ट, सेमी-एब्स्ट्रयाक्ट, सिम्बोलिक र पोइन्टलिजम उनका शैली हुन्। सन् २००१ तिर गान्तोकमा नेपालका चित्रकारले खोलेका प्रशिक्षण केन्द्रमा चित्रकलाको बेसिक कोर्स गरिन्। त्यसपछि मुम्बई ब्रिटिश आर्ट इन्स्टिच्युटबाट फाइन आर्ट्समा डिप्लोमा गरिन्। सन् २००४ मा जोरथाङको माघे मेलामा ‘ब्रस स्ट्रोक्स’ प्रदर्शनीमा चित्र प्रदर्शन गरिन्।
सन् २००८ मा दिवाकर लामिछाने, सागर सुब्बा, धीरज प्रधान तथा अन्य चित्रकारहरूसित मिलेर ‘ओविया आर्ट सर्कल’ गठन गर्नमा विशेष भूमिका निर्वाह गरिन्। उनी ‘ओविया आर्ट सर्कल’की अध्यक्ष हुन्। दीपाको चित्रकलामा सिक्किमको प्रकृति, संस्कृति र जीवनशैली देखिन्छ भने संघर्ष-विद्रोह पनि झल्किएको महसुस हुन्छ। ‘ओविया आर्ट सर्कल’बाटै दार्जीलिङमा भएको चित्रकला प्रदर्शनीमा सहभागी भइन्।
‘‘चित्रकला प्राकृतिक सुन्दरताहरूका साथमा धेरै विषयहरूलाई समेटेर गरिरहेकी छु। चित्रकलाले पर्यटनलाई प्रवर्द्धन गर्छ अनि आफ्नो संस्कृति, रितिरिवाजको पनि संरक्षण गरिरहेको हुन्छ’’, उनी भन्छिन्। पर्यटकहरू आउँदा सिक्किम कस्तो रहेछ भन्नेबारे चित्रकलाद्वारा पनि थाहा पाउने उनको भनाइ छ। उनी भन्छिन्, ‘‘चित्रकलाबाट हाम्रो संस्कार, संस्कृतिहरू प्रचार हुन्छ विश्वव्यापी रुपमा। चित्रकला एउटा भिजुअल ल्याङ्ग्वेज हो। एब्स्ट्रयाक्ट रुपको चित्रकलामा सबैको आ-आफ्नो दृष्टिकोण हुन्छ। एब्स्ट्रयाक्ट चित्रमा कुनै बेला चित्रकलाप्रेमी, क्रिटिकहरूबाट चित्रकारले सोचेको अवधारणा भन्दा पनि राम्रो प्रतिक्रिया आउँछ। चित्रकलाले हेर्ने दृष्टिकोण पनि फराकिलो बनाउँछ।’’
दीपाका चित्रहरू मागअनुसार बिक्री हुन्छन्। चित्रकला वर्कशप-प्रदर्शनीहरूमा उनी सिक्किमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिनिधित्व गरेकी छिन्। ललित कला संस्थान लखनऊ, छत्रपति साहुजी महाराजा विश्वविद्यालय कानपुर, उत्तर प्रदेश, ललिता कला एकडेमी नयाँ दिल्लीको आयोजनामा दिल्ली, हिमाचल प्रदेश, जम्मु, चेन्नई तथा ललित कला एकडेमी लखनऊको आयोजनामा दमन एण्ड दीव भएको वर्कशपमा सहभागी भइसकेकी छिन्। यसका साथै उत्तरपूर्वी राज्यहरू असम, मिजोराम, नागाल्याण्ड, मेघालयमा उनले वर्कशप र प्रदर्शनी गरिसकेकी छिन्। यसबाहेक नेपालको राजधानी काठमाड़ौंमा नेपाल ललित कला एकडेमीद्वारा आयोजित वर्कशप-प्रदर्शनीमा पनि भाग लिइसकेकी छिन्।
दमन-दीवमा भएको वर्कशप-प्रदर्शनी आफ्नो लागि स्मरणीय लागेको उनी बताउँछिन्, ‘‘ठाउँअनुसारले प्रभाव पार्दो रहेछ। हामी पहाड़ी क्षेत्रमा बसेका हुनाले त्यहाँको समुद्र किनारको सुन्दरताबीच भएको वर्कशपले छुट्टै रमाइलो अनुभव दियो।’’ कविता वाचनका लागि पनि उनी असम, बिहार साथै नेपालका विभिन्न ठाउँमा पुगेकी छिन्।
कविता र एब्स्ट्रयाक्ट चित्रकलाको पारस्परिक सम्बन्ध हुने गरेको दीपा बताउँछिन्। उनी भन्छिन्, ‘‘सबैभन्दा बढ़ी घोरिने एब्स्ट्रयाक्ट चित्रकला हो। हेर्न थालेपछि त्यसको मजा नै अलग हुन्छ।’’ उनले आफ्नो चित्रमा आफ्नो संघर्ष, समाजमा भित्रिएको विसंगति, हिंसा, मानव तस्करीजस्ता विषयहरूलाई प्रस्तुत गर्छिन्। आफ्नो यात्रामा निक्कै संघर्ष र चुनौतीहरूको सामना गर्नु परेको उनी बताउँछिन्। चित्रकार साथीहरू दिवाकर लामिछाने, सागर सुब्बा, धीरज प्रधान सबैले नै संघर्ष गरेको सम्झिन्छिन्। पहिला चित्रकलालाई खासै महत्त्व दिइँदैन थियो, यसलाई दुखिया कामको रुपमा हेरिन्थ्यो। तर उनीहरू सबैको संघर्षले आज चित्रकलालाई सबैले हेर्ने र प्रमुखता दिने स्थानमा पुर्यायो।
सिक्किम एकाडेमीको प्रदर्शनीमा उत्कृष्ट पाँचमा चयन भएको वाटर कलरको पेन्टिङलाई दीपाले आफ्नो विशेष सृजना मान्छिन्, कारण यसबाट चित्रकलामा जीवनको पहिलो पुरस्कार पाएकी थिइन्। आफ्नो यात्रामा चित्रकला र साहित्यमा एक दर्जन बढ़ी पुरस्कार र सम्मानहरूले सम्मानित भइसकेकी छिन्। जसमा साहित्यको क्षेत्रमा सिक्किमको प्रतिष्ठित पुरस्कार ‘परी पुरस्कार-२०२५’, असमबाट पूर्वोत्तर काव्य सर्जक सम्मान-२०२२, चित्रकलामा मणिकर्णिका कला सम्मान (प्रतियोगिता विजेता) झाँसी, अमृता शेरगिल कलाकार सम्मान, लखनऊ, चित्रकारिता सेवाश्री पुरस्कार २०२२, नेपाली साहित्य परिषद सिक्किम, सरोजनी नायडु वुमन अचिभर्स अवार्ड्स, हिमालय दर्पण एण्ड टेक्नो इण्डिया वर्ल्ड स्कूल सिलगढ़ीबाट प्राप्त पुरस्कार-सम्मानहरू प्रमुख रहेका छन्।
ओविया आर्ट सर्कलको समूहसँगै विद्यार्थीहरू तथा दिव्यांग विधार्थीहरूलाई चित्रकला, नाटक कार्यशाला साथै सरकारी विद्यालयहरू, आईसीडीएस, अस्पतालहरूको सुन्दरीकरण गर्ने सेवामूलक कार्य गर्दै आइरहेकी छिन्। उनी भन्छिन्, ‘‘चित्रकलालाई हबीको रुपमा मात्र होइन, साधनाको रुपमा लिनुपर्छ, यस्तै किसिमले जुनै पनि काममा सफल हुन्छ।’’
यसरी कविता र चित्रकलालाई आफ्नो जीवनको साधनाका रूपमा अँगाल्दै दीपा राई निरन्तर सृजनामा सक्रिय छिन्। संघर्ष र समर्पणले भरिएको उनको सिर्जनात्मक यात्राले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको छ।












