खरसाङ, (निसं): यो विधानसभा चुनाउमा खरसाङवासीले झल्दै गरेको बाँदरको समस्या पनि मुद्दा हुन पर्ने शहरका कतिपय मानिसहरूको भनाइ रहेको छ। वर्तमानमा खरसाङ शहरी क्षेत्रका प्रत्येक मानिस बाँदरको समस्याबाट दिक्क बनेका छन्। नगरवासी बाँदरको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहान्छन्। सम्बन्धित निकाय बाँदरको समस्याप्रति मौन बसेकोमा नगरवासी आक्रोश पनि व्यक्त गर्ने गर्छन्।
गड्डी लाईन निवासी सालिन पोद्दारले यो विधानसभा चुनाउमा खरसाङ्मा रहेको बाँदरको समस्या पनि एउटा मुद्दा हुन पर्ने बताए। तिनले भने, वर्तमानमा प्रत्येक मानिस नै बाँदरको समस्यादेखि दिक्क बनेका छन्। अब बाँदरको समस्यालाई हामीले विधानसभा चुनाउमा मुद्दा बनाउनलाई काम गर्न पर्छ। वर्द्धवान रोडमा एउटा पसल गरेर बस्ने एक व्यक्तिले खरसाङ शहरमा रहेको बाँदरको समस्यालाई जसले समाधान गर्छ त्यसैलाई कुनै पनि चुनाउमा भोट गर्ने बताउदै भने, बाँदरले हत्तु-हैरान बनाइसकेको छ, कहिले दोकानको सामान लगिदिन्छ, कहिले घरभित्र पसेर सामानहरू नष्ट गरिदिन्छ। अहिले प्रत्येक व्यपारीले आफ्नो दोकानमा एउटा लठ्ठी अथवा क्याटिक राख्न पर्ने बाध्यता हुन्छ बाँदर धपाउनको निम्ति, कुनै कुनै दिन दिनभर बाँदर धपाउन पर्ने स्थिति हुन्छ।
स्मरण गराइन्छ, खरसाङ शहरी क्षेत्रमा अहिले धेरै हुल बाँदर बस्ने गरेको छ। यी बाँदरहरू नगरवासीले फालेको खानेकुरोहरू, खाएर दोकान र नगरवासीको घरको विभिन्न सामग्री चोरेर खाएर पेट भर्ने गर्छन्। दोकानमा बाँदरले सामान थुतेर लैजाँदै गरेको, दोकानेहरूले बाँदर धपाउदै गरेको, क्याटिसले बाँदरलाई हान्दै गरेको वा ताक्दै गरेको दृश्य खरसाङ बजारमा साधरण बनेको छ। कुनै कुनै समय शहरका बाँदरले मानिसहरूमाथि आक्रमण गरेको घटनाहरू पनि प्रकाशमा आइरहेका छन्। केही दिन अघि वर्द्धवान रोडमा बाँदरको आक्रमणको कारण कतिपय मानिसहरूलाई चोट लागेको घटना प्रकाशमा आएको थियो। बाँदरको आक्रमणदेखि आतंकित बनेर बाँदरबाट बाँच्न अनि बाँच्ने उपाट खोज्न समिति गठन गर्ने नर्णयसम्म लिएका थिए।












