मिजोरमका पर्याय तथा बहु प्रतिभाशाली व्यक्तित्व डा. किङ्ग गुनु घर्ती दक्षिण सिक्किमको नाम्चीमा सञ्चालित नेपाली
पुस्तक संग्रहालय, डिभाइन थियोलोजिकल युनिभर्सिटीमा शुक्रबार पुगेका थिए। उनले त्यहाँका प्रमुख डा. मनोज कुमार राई अनि डा. सावित्रीसङ्ग भेटघाट गरी आफ्ना दुई कृतिहरू प्रदान गरेका थिए। उनका अन्य कृतिहरू गत वर्ष नै सिलगढीमा सञ्चालित सामाजिक संस्था आरनोवामार्फत प्रदान गरिसकेका छन्।
डा. किङ्ग गुनु घर्तीको आगमनमा उनलाई नेपाली पुस्तक संग्रहालय, डिभाइन थियोलोजिकल युनिभर्सिटी परिवारले न्यानो स्वागत जनाएको थियो। स्मरण रहोस् भारतमा सबैभन्दा धेरै स्वरचित हिन्दी गीतहरूको सङ्गालो सार्वजनिक गर्ने गोर्खे, डा. किङ्ग गुनु घर्ती, यतिखेर आफ्ना गीतहरूको रेकर्डिङ्गको सिलसिलामा सिलगढी आएका छन्। उनको आठौं अनि दार्जीलिङको मिरिकबाट डुप्छेन लामाको सङ्गीतमा दोस्रो हिन्दी गीति अलबम पहाडों की रानी प्रकाशमा आउने भएको छ। यसैको लागि उनी सिलगढी आएका हुन्। डा. किङ्ग गुनु घर्तीले अहिलेसम्म आठसय नेपाली अनि छसय हिन्दी गीतहरू बनाइसकेका छन्। भारतेली सङ्गीतको क्षेत्रमा उनले गरेको योगदानकोे लागि एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स आरनोवाले आफ्नो रजत जयन्ती समारोहमा गत 6 अप्रेल 2025 को दिन गीत सङ्गीत शिरोमणि उपाधिले अलङ्करण गरिसकेको छ।
कला र साहित्यको क्षेत्रमा बहुआयामिक व्यक्तित्वको धनी डा. किङ्ग गुनु घर्ती को योगदान वास्तवमै अतुलनीय छ। आफ्नो सम्पूर्ण जीवन कला साधना र सिर्जनामा समर्पित गर्नुभएका डा. घर्ती मिजोरम राज्यकै एक मात्र प्रतिष्ठित नेपाली उपन्यासकार र नाटककारका रूपमा चिनिनुहुन्छ। उहाँको कलमले समाजका जीवन्त भोगाइहरूलाई साहित्यका पानामा उतार्ने मात्र नभई, अभिनयको माध्यमबाट पर्दामा समेत जीवन्तता प्रदान गर्दै आएको छ। नेपाली र मिजो भाषाका चलचित्रहरूमा एक कुशल अभिनेताका रूपमा आफ्नो सशक्त उपस्थिति जनाएर उहाँले दुई फरक भाषा र संस्कृतिलाई जोड्ने एउटा दह्रो पुलको काम गर्नुभएको छ। यसरी साहित्य लेखन र चलचित्र अभिनय दुवै विधामा सँगसँगै अघि बढ्दै उहाँले मिजोरमको कला जगत्मा आफ्नो एक विशिष्ट र अमिट पहिचान बनाउन सफल हुनुभएको छ।












