सम्पूर्ण गोर्खाजातिले अहिले एउटा अवसर पाएको छ। केन्द्र अनि राज्यमा डबल इन्जिनको सरकार गठन भइसकेको छ। यो गोर्खाजातिले युगौँदेखि साँचेको सपनालाई साकार पार्ने एउटा सुनौलो अवसर हो। केन्द्र अनि राज्यमा भाजपाको डबल इन्जिनको सरकार बनेपछि गोर्खाहरूको दीर्घकालीन मागलाई रोक्ने कोही नभएको राजनीतिक वातावरण बनेको बेला सम्पूर्ण गोर्खाहरूले पनि विवेक लगाएर मुद्दा फत्ते गर्ने समय आएको छ।
यस्तोमा पहाडको राजनीतिक दलहरूले पनि बुद्धिमत्ता देखाएर अघि बढी गोर्खाले युगौँदेखि देखेको सपनालाई साकार बनाउनतर्फ आफ्नो ध्यान केन्द्रित गर्नु पर्ने समयको माग रहेको छ। भनिन्छ, फलाम तात्तिएको बेला नै कुटेर आकार दिनुपर्छ। ठीक यस्तै वातावरण अहिले केन्द्र अनि राज्यमा रहेको कारण पहाडका सबै राजनीतिक दल, बुद्धिजीवी वर्ग, युवा वर्ग, संघ-संस्था अनि आम नागरिकहरूले आपसी एकता र तालमेल कायम राखेर एक लक्ष्य बोकेर अघि बढ्नु आवश्यक देखिएको छ।
सबै अनुकूल बनेको बेला झण्डाको राजनीति, तँछाड-मछाड, पुरानै ढाँचाको व्यवस्थामा केन्द्रित हुने किसिमका गतिविधि गरियो भने गोर्खाजातिले कहिले न्याय पाउने छैन। फेरि फेरि डबल इन्जिनको सरकार हामी पाउँदैनौँ। यो एउटा सुन्दर अवसर हो। यस्तोमा आफ्नै राजनीतिक रोटी सेक्ने कार्य गरियो भने भावी सन्तानले हालका राजनीतिक नेता अनि दलहरूलाई कहिले क्षमा गर्ने छैन। शहीदहरूको त्याग र बलिदानले न्याय पाउने छैन
आजको आवश्यकता भनेको नै एकजुटता हो, मुद्दाप्रति प्रतिबद्धता हो, जसले नै हामीलाई लक्ष्यमा पुर्याएर गोर्खाको सुनौलो भविष्य सुनिश्चित गर्न सक्नेछ। यसैले यतिबेला दलगत राजनीतिलाई केही क्षण पन्छाएर सबैले गोर्खाको सपनालाई साकार पार्नतर्फ नै विवेकको शक्ति खर्च गरे अवश्य नै गोर्खा जातिले न्याय पाउनेछ।












