दार्जीलिङ पहाड़बाट सिर्जित २३ मिनेट लामो लघु चलचित्र ‘डोकोको छहारी’ले रुसको मस्कोमा अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा सबैको ध्यान आकर्षण गरेको छ। यस चलचित्रका निर्माता-निर्देशक हुन् प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्पूको सानो रमाइलो रेशाप बजारका ३१ वर्षीय युवा सुजन लम्जेल।

दार्जीलिङका स्वतन्त्र चलचित्र निर्माता सुजन लम्जेलले आफ्नो लघु चलचित्र ‘डोकोको छाहारी’मार्फत अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेका छन्। यो चलचित्रले मस्कोमा आयोजित ‘किनोइन्टेलेक्ट इन्टरनेशनल फिल्म फेस्टिभल अफ् एजुकेशनल फिल्म्स् एण्ड इनोभेटिभ एजुकेशनल कन्टेन्ट’मा ‘बेस्ट एजुकेशनल फिल्म’ विधामा प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ। यसले नेपाली भाषी सिर्जनशीलताको सशक्त उपस्थिति दर्ता गराएको छ। यो समारोह मस्कोमा १४ अप्रेलदेखि १६ अप्रेलसम्म सम्पन्न भएको थियो।
यो सम्मान फेस्टिभलको औपचारिक समारोहमा प्रदान गरिएको थियो, जुन ‘इननोभेटिभ मेथड्स इन् एजुकेशन: क्रिएटिभ इन्डस्ट्रिज, फिल्म, भिडियो कन्टेन्ट’ शीर्षकको शैक्षिक सम्मेलनसँगै सम्पन्न भएको थियो। समारोह ‘अल-रसियन साइन्टिफिक एण्ड प्र्याक्टिकल कन्फरेन्स’को महत्वपूर्ण अंश थियो।
यसै सन्दर्भमा सुजन लम्जेलले भारतका प्रतिनिधि चलचित्र निर्माताका रूपमा सम्मेलनमा सहभागिता जनाउँदै चलचित्रलाई शैक्षिक तथा सामाजिक रूपान्तरणको सशक्त माध्यमका रूपमा प्रयोग गर्ने विषयमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए।
सिक्किममा पहिलो उपलब्धि
‘डोकोको छहारी’ले हालैमा भएको ‘सिक्किम इन्टरनेशनल फिल्म फेस्टिभल २०२६’ मा ‘बेस्ट सर्ट फिल्म अवार्ड’ जित्न सफल भयो। यो उपलब्धि विशेष रूपमा ऐतिहासिक मानिन्छ, किनभने उक्त संस्करणमा यस्तो सम्मान प्राप्त गर्ने यो पहिलो लघु चलचित्र थियो। यस सफलताले सुजनको सिर्जनात्मक यात्रालाई नयाँ उचाइ दिएको छ।
राष्ट्रिय स्तरमा बढ़्दो उपस्थिति
राष्ट्रिय यात्राको क्रममा यो चलचित्र ‘नागपुर फिल्म फेस्टिभल २०२६’ मा आधिकारिक रूपमा छनोट भएको थियो। यसले चलचित्रको राष्ट्रिय स्तरमा पहुँच र प्रभावलाई अझ सशक्त बनाएको छ।
हिमाली भेकको कथा उजागर
दार्जीलिङ पहाड़का चियाबारी क्षेत्रमा आधारित ‘डोकोको छहारी’मा पुस्तौंदेखिको संघर्ष र आर्थिक कठिनाइबीच हुर्किरहेका एक बालकको भावनात्मक संसारलाई संवेदनशील ढङ्गले प्रस्तुत गरिएको छ। परम्परागत ‘डोको’लाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै चलचित्रले पहिचान, शिक्षा, बाल्यकाल र सांस्कृतिक निरन्तरताजस्ता विषयहरू उजागर गर्दछ।
यसको शैक्षिक सान्दर्भिकता पनि महत्वपूर्ण छ- यसले कम प्रतिनिधित्व भएका आवाजहरूलाई अगाड़ि ल्याउँदै बाल मनोविज्ञान, पारिवारिक जिम्मेवारी र क्षेत्रीय पहिचानका विषयमा सोच्न प्रेरित गर्छ।
अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व
मस्कोमा आयोजित सम्मेलनमा सुजन लम्जेलको सहभागिताले समकालीन शिक्षा प्रणालीमा चलचित्र र क्रिएटिभ इन्डस्ट्रिजको भूमिकालाई उजागर गरेको छ। उनले स्वतन्त्र चलचित्र निर्माताहरूले कथावाचन र सांस्कृतिक संरक्षणबीच महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा प्रस्तुत गरेका छन्।
दार्जीलिङको उपस्थिति सशक्त बन्दै
सुजन दार्जीलिङका नेपाली भाषी समुदायका सामाजिक यथार्थ र सामुदायिक अनुभवलाई चित्रण गर्ने चलचित्र निर्माणमा सक्रिय रहँदै आएका छन्। सन् २०२६ मा ‘डोकोको छहारी’ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्राप्त गरेको मान्यताले उनको यात्रामा महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको छ। यसले वैश्विक चलचित्रको मानचित्रमा दार्जीलिङको बढ़्दो उपस्थिति र पहिचानलाई अझ सशक्त रूपमा उजागर गरेको छ।












