सञ्जय प्रधान-
चलचित्रको पर्दामा नारी सङ्घर्षको यथार्थ कथालाई उजागर गर्ने एउटा नाम थपिएको छ- नियारा लिम्बू। उनी केवल एक निर्देशक मात्र होइनन्, एकजना सक्रिय सामाजिक कार्यकर्ता हुन्। नारी समानताको परिभाषा फरक तरिकाले उजागर गर्छिन्। नारी सशक्तिकरण सजिलो सुविधा र सहुलियतले होइन, बरु चुनौतीको सामना गर्दै आफैंलाई प्रमाणित गर्नुपर्छ भन्ने विचारधाराका हुन् उनी। यही सोंचले उनी नेपाली चलचित्र जगतमा फरक देखिएकी छिन्।
चलचित्रको क्षेत्रमा उनले आफ्नो नाम नियारा कुधाक लिम्बू प्रयोग गर्छिन्। उनको पहिलो ठूलो पर्दाको चलचित्र ‘नुमाहाङमा’ भर्खरै गान्तोकमा प्रिमियर भएको छ। यो चलचित्र सन् १९४० को ब्रिटिशकालीन भारत, दार्जीलिङको मिरिक क्षेत्रको सियोक चिया बगानकी मेट्रिक पास गर्ने पहिलो महिलाको सङ्घर्षपूर्ण जीवनकथा हो। नियारा चलचित्र क्षेत्रमा आउनु अघिदेखि नै सामाजिक कार्यकर्ताको रूपमा सक्रिय छिन्। पश्चिम सिक्किमको खेचोपेरीको दुर्गम गाउँ सेकेण्ड थिङलिङमा जन्मिएकी उनले बाल्यकालदेखि नै चलचित्रप्रति चासो राखेकी हुन्।
‘म नारी हो मैले विशेष प्राथमिकता पाउनु पर्छ भन्नेमा लाग्दिनँ। मैले के सहयोग गर्दा हामी बराबर हुन्छौं भन्ने कुरामा म लागि पर्ने मान्छे हो।’
गाउँमा एक दुईवटा मात्र टेलिभिजन भएको हुँदा काकाको घरमा दिदीसँग सिनेमा र धारावाहिक हेर्न जान्थिन्। गेजिङको निजी स्कूल मञ्जुश्रीमा कक्षा एकसम्म अध्ययन गरिन्। आमा शान्ति राई सिक्किम सरकारको शिक्षा विभागमा कार्यरत थिइन् भने बाबु सुकवीर लिम्बू शिक्षक थिए। घरमा चलचित्रको वातावरण नभए पनि चलचित्रसँगै उनको ठूलो इच्छा थियो समाज सेवा। नियाराले गान्तोकको तादोङस्थित सरकारी कलेजबाट बीए, मेघालयबाट पब्लिक एडमिनिस्ट्रेसनमा एमए गरेकी छिन्। उनले रेडियो जकिको तालिमसमेत लिएकी छिन्। एमए पछि सन् २०१४ मा सामाजिक सेवामै समर्पित हुँदै जालीपुलस्थित ईश्वरम्मा ओल्ड एज होममा कार्यालय प्रभारीको रूपमा काम गरिन्। त्यहाँ उनले कुनै पारिश्रमिक मागिनन्, आफ्नै खर्चमा आउजाउ गरिन्।

सन् २०१४ मा नियाराले दूरदर्शनको अधिनमा मेकअप आर्टिस्टको एसिस्टेन्ट भएर काम शुरु गरिन्। कुनै दिन चलचित्र बनाउने सपना बोकेकी नियाराले त्यहाँ निर्देशकहरूको कामलाई गहिरो चासो दिएर सिक्न थालिन्। दूरदर्शनमा गान्तोकका निर्देशक रवी पिल्लैले नियाराको काम मन पराएर सह निर्देशकको कार्यमा लगाए। यसपछि निर्देशनको क्षेत्रमा उनको मार्ग खोलियो। दूरदर्शनको प्रोजेक्टमा मेकअप आर्टिस्टको एसिस्टेन्ट भएर पसेकी नियारा दुई महिनामा त्यहाँबाट फर्किँदा सह निर्देशक बनेर फर्किन्।
यसपछि उनले डीडी किसान, डीडी नर्थ ईष्टका लागि आफ्नै निर्देशनमा वृत्तचित्रहरू तयार गरिन्। राष्ट्रिय प्रोजेक्ट अरुण प्रभा च्यानलमा मुख्य सह निर्देशकको रूपमा काम गरिन्। ‘फ्रेन्ड्स’, ‘गेम’, भुटिया लघु चलचित्रमा मुख्य सह निर्देशक रहिन्। सिक्किमको साइन्स एण्ड टेक्नोलोजीको ठूलो प्रोजेक्टमा सह निर्देशकको काम गरिन्। भारतभरका निर्देशक, टेक्निसियन रहेको पूर्वोत्तरबाट चयन भएको ठूलो प्रोजेक्ट ‘ओम’ दैनिक धारावाहिकमा पनि उनले निर्देशन गरिन्। अर्को ठूलो प्रोजेक्ट युधाजित बसुद्वारा निर्देशित ‘कुइरो’मा सत्यजित राय फिल्म इन्स्टिच्युटबाट आएका विद्यार्थीहरूसित काम गरिन्। यसमा उनी कार्यकारी निर्माताको रुपमा रहेर अभिनय पनि गरिन्। यो चलचित्रले अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको थियो।
सन् २०१७ मा ‘बेटी प़ढ़ाउ बेटी बचाऊ’ अभियानलाई लिएर उनले पटकथा लेखिन्, यसमा पूर्ण रुपले निर्देशक चयन भएर दूरदर्शनको अधिनमा टेलिफिल्म बनाइन्। उनले नेशनल जियोग्राफीको अधिनमा पनि काम गरिन्। उनले नेपाली, भुटिया, लिम्बू, हिन्दी, भोजपुरी भाषाहरूमा धेरै काम गरेकी छिन्। कामले खारिन्दै गएर उनले आफ्नै नियारा प्रोडक्सन खोलेर लाघु चलचित्र, वृत्तचित्रहरू निर्माण गरिन्। आफ्नो यात्राका धेरै पाइलाहरूमा उतारचढ़ावको सामना गर्दै दुई दर्जन भन्दा बढ़ी वृत्तचित्र, लघु चलचित्रहरूमा सह निर्देशक र निर्देशकको रूपमा काम गरिसकेकी छिन्।
अहिले ३३ वर्ष पुगेकी नियारालाई हेर्ने हो भने तीनवटा पाटामा देखिन्छ- सामाजिक कार्यकर्ता, चलचित्र निर्माता-निर्देशक र सांस्कृतिक जनजागरणका कार्यकर्ता। संस्कृतिको क्षेत्रमा उनले लिम्बू जातिको मुख्य पर्व ‘चासोक तोङनाम’बारे सन् २०१६ मा प्रभावकारी अभियान चलाएकी थिइन्। सोही वर्षदेखि सिक्किममा यो पर्व भव्य रूपमा मनाइन्छ भने यस दिन राज्यमा सरकारी विदा पनि घोषणा गरिएको छ। नियारा प्रोडक्सनको ठूलो पर्दामा बनिएको पहिलो चलचित्र हो ‘नुमाहाङमा’। यसको निर्माता एचएम लिम्बू हुन् भने कथा उनकै रहेको छ। संवाद तथा सह लेखिका अनि निर्देशक नियारा हुन्। अहिले ‘नुमाहाङमा’को सेन्सर सर्टिफिकेटको लागि पहल शुरु गरिएको छ, अब केही दिनमा सबैतिर प्रदर्शन हुनेभएको छ। ग्राण्ड प्रिमियरबाट यो चलचित्रले राम्रो चर्चा पाएको छ।
उनी फरक विचारकी नारीवादी हुन्। उनी भन्छिन्, ‘‘म नारी हो मैले विशेष प्राथमिकता पाउनु पर्छ भन्नेमा लाग्दिन। मैले के सहयोग गर्दा हामी बराबर हुन्छौं भन्ने कुरामा म लागि पर्ने मान्छे हो।’’ नारीको सङ्घर्षलाई चलचित्रमा उजागर गर्छिन्। भारतमा चलचित्रको क्षेत्रमा नेपाली समुदायको कथावस्तुहरूको सम्भावना राम्रो रहेको बताउँदै उनी भन्छिन्, ‘‘त्यसलाई प्रस्तुत कसरी गर्छौं, त्यसमा फरक पर्दो रहेछ।’’
नियाराले अब अर्को प्रोजेक्ट लिम्बू भाषामा नाम भएको नेपाली चलचित्र ‘आम्मो’को छायांकन अक्टोबरमा गर्ने लक्ष्य राखेकी छिन्। ‘आम्मो’को अर्थ नेपाली भाषामा ‘आमा’ हो। चलचित्र बाहेक उनले नियारा प्रोडक्सनबाट लिम्बू भाषामा गीतको रियालिटी शो ‘याक्थुङ आइडल’ शुरु गरेकी छिन्। यो विश्वमै लिम्बू भाषाको पहिलो गीतको रियालिटी शो भएको उनी बताउँछिन्। नियाराको यात्रा प्रेरणादायक छ- सामाजिक सेवासँगै चलचित्र निर्माण गर्दै, नेपाली चलचित्रलाई नयाँ दृष्टिकोण दिने अभियानमा उनी लागिपरेकी छिन्।











