माटोसँग खेल्दै खेतीलाई व्यवसाय बनाएकी डिल्लीमाया

Authored By: सञ्जय प्रधान     

Share this news

हिमाली राज्य सिक्किमको हरियाली पहाड़बीच जन्मिएको एक साधारण महिला किसानको यात्रा आज प्रेरणाको उदाहरण बनेको छ। डिल्लीमाया भट्टराई- जसले माटोसँगै आफ्नो जीवन गाँस्दै, मेहनत र आत्मविश्‍वासको बलमा खेतीलाई सफल व्यवसायमा रूपान्तरण गरेकी छिन्। उनको हातले उब्जाएको हरियो सागसब्जी मात्र होइन, उनले रोपेको आत्मविश्‍वास र नवाचारको बीउ अहिले सयौं किसानका लागि प्रेरणाको स्रोत बनेको छ।

खेतीपातीको लागि पर्यावरण स्वच्छ, राम्रो हुनु आवश्यक छ: डिल्लीमाया भट्टराई

अहिले ६७ वर्ष पुगेकी डिल्लीमाया भट्टराई आफ्नो जन्मथलो पश्‍चिम सिक्किमको सोरेङस्थित गाउँ मलबाँसेमा सानैदेखि खेतीपातीमै हुर्किएकी हुन्। बाबुले घरको बारीमा सागसब्जी र मकैको खेती गर्थे, र परिवारको आय स्रोत पनि यही थियो। बाबुसँगै काम गर्दा उनले खेतीपाती सिकिन् र सानै उमेरमा यसको महत्व बुझिन्। गाउँमै स्कूल पढ़ेकी उनी भन्छिन्, ‘‘बेसी पढ़ि्नँ, सानै उमेरमा बिहे भयो।’’ पूर्व सिक्किमको आसाम-लिङ्जेमा किसान परिवारकै प्रेमप्रसाद भट्टराईसित उनको बिहे भयो।

खेतीप्रति रुचि बढ़ेकोबारे उनी भन्छिन्, ‘‘उहिले बजारको सब्जी किनेर खाने चलन थिएन, आफै उमार्थ्यौं, यसरी नै सिकियो।’’ बिहेपछि सासु-ससुराले पनि खेती गर्ने भएकाले उनको रुचि अझ बढ़्यो। उनी हाँस्दै भन्छिन्, ‘‘मलाई खेतीमै रुचि हुन्थ्यो- स्कूलभन्दा खेती नै ठीक लाग्थ्यो, तर अहिले सोच्दा त्यस्तो होइन रहेछ।’’ औपचारिक शिक्षा कम भए पनि अनुभवले उनलाई खेतीबारे गहिरो ज्ञान दिएको छ, र उनी आज यसका एक स्रोतव्यक्ति हुन्।

पहिला धान, मकै, कोदोको खेती गर्थिन्। पछिबाट सागसब्जीमा कमाइ राम्रो हुने बुझेपछि उनको चासो सागसब्जीको खेतीमा बढ़्न थाल्यो। उनी भन्छिन्, ‘‘सागसब्जीको खेतीमा बढ़ी रुचि भयो, र यसैको खेतीमा लागें।’’ पहिला पहिला डल्ले खोर्सानी धेरै मात्रामा रोपिन् र बिक्री गरिन्। आसाम-लिङ्जेमाको स्कूल नजिक उनको घर साथै खेतीपाती छ भने त्यहीं नै पसल खोलेकी छिन्। उनको बारीको सागसब्जीहरू यहीं पसलबाटै बिक्री हुन्छ।

डिल्लीमायाले वर्षभरि नै मौसमी खेती गर्छिन्। सेप्टेम्बर महिनादेखि सब्जीको खेती राम्रो हुने बताउँछिन्। फूलकोपी, बन्दाकोपी, ब्रोकोली, सिमी, हिउँदे सिमी, घिउ सिमी, मूला, गाजर, मटर, बैगुन, लौका, करेला, बोड़ी, लाम्चे खोर्सानी, डल्ले खोर्सानी, अदुवा, रायो, डुकु साथै अन्य सागहरू रोप्छिन्। यसबाहेक मकै, फर्सी, काँक्रा पनि रोप्छिन्। कतिपय सागसब्जी प्लास्टिकका क्रेटमा पनि रोप्छिन्, जसले बारी नहुनेलाई पनि उमार्न सकिन्छ भन्ने देखाउँछ। साग राम्रो भएपछि उनले गुन्द्रुक र सिन्की बनाएर राम्रो बिक्री गर्छिन्। गुन्द्रुकका लागि पहिल्यै अर्डर आउने र एकैजनाले चार-पाँच केजी लैजाने गर्छन्। पहिला धान पनि रोप्थिन्, तर अहिले सागसब्जीमै ध्यान बढी छ। उनले आफ्नो १२ ऐकर बारीमध्ये दुई ऐकरमा खेती गर्छिन्। उनले पर्यावरणलाई प्राथमिकता दिँदै बाँकी रहेका जमिनमा विभिन्न किसिमका रुखहरू रोपेकी छिन्। ‘‘खेतीपातीको लागि पर्यावरण स्वच्छ, राम्रो हुनु आवश्यक छ’’, उनी भन्छिन्।’’

सिक्किममा जैविक खेतीको अभियान शुरु हुनअघि नै डिल्लीमायाले जैविक प्रणालीमा गरेकी हुन्। जैविक खेतीमै उनको बाल्यकाल बितेको हो। पहिला छ सातवटा गाई-गोरूहरू, बाख्राहरू  पाल्दै आएकी हुनाले जैविक मल नै प्रयोग गर्दै आएकी हुन्। उनी भन्छिन्, ‘‘गोरु त पाल्नै पर्थ्यो, अहिले जस्तो जोत्ने मशिन थिएन। हामीलाई त्यही मलले नै पुग्थ्यो।’’ बाँझो भएका बारीका घाँसहरू गाई पाल्ने छिमेकीहरूलाई दिन्छिन्, यसको बदलीमा उनीहरूले जैविक मल दिन्छन्। अहिले दुईवटा गाई पालेकी छिन्। गाईको दुध आफ्नै पसलमा बिक्री गर्छिन्, यसका साथै दही, मही, महीको छुर्पी, घिउ, पनीरहरू बनाएर आफै बिक्री गर्छिन्, घरमै पनि खान्छन्। पनीर बनाउन छोराले सिकाएको बताउँछिन्। घरमा सागसब्जीहरू सबै आफ्नै बारीकै चलाउँछिन्, बाहिर किन्न पर्दैन।

डिल्लीमायाकी दुईजना छोरी र एकजना छोरा छन्। छोराले आफ्नै पर्यटनको व्यवसाय चलाउँछन् र बुहारी नोकरी गर्छिन्। सानैदेखि खेतीपाती गर्दै आएकी उनले घाम-पानी, हुरी-बतास साथै थुप्रै चुनौतीहरू झेलिन्। चुनौतीहरूलाई वास्ता गरिनन्, र आज उनी सिक्किममा महिला किसानको रुपमा अग्रपंक्तिमा उभिएकी छिन्। उनी भन्छिन्, ‘‘पानीझरीमा पनि यो काम हामीले नै गर्नैपर्ने हो भोलि आएर अर्काले गरिदिँदैन भनेजस्तो लाग्थ्यो र गरिनै रहन्थ्यौं।’’ उनका छोराछोरीहरूले पनि खेतीपातीमा चासो राख्ने भएका हुनाले आमालाई सहयोग गर्छन्। उनका बारीका सागसब्जीहरू आसाम-लिङ्जेदेखि बाहिर बढ़ी लैजान पर्दैन, सबै आफ्नै पसलबाट बिक्री हुन्छ।

पाकेको फर्सी धेरै राम्रो बिक्री हुने गरेको डिल्लीमाया बताउँछिन्। एक वर्षको पाकेको फर्सीबारेमा उनी भन्छिन्, ‘‘राम्रो पाकेको फर्सी टिपेर घाम देख्ने ठाउँमा राम्रोसित सुकाएर राख्नुपर्छ र राम्रो हुन्छ।’’ उनले कृषि विभागबाट थुप्रै प्रशिक्षणहरू पनि लिएकी छिन्। फ्लोरिकल्चरबाट फुलेको फूल सुकाएर राख्ने प्रशिक्षण पनि लिएकी छिन्। सिजनको फूल टिपेर  सुकाइन्छ र बट्टामा हालेर राखिन्छ, त्यसपछि पेपरमा टाँसेर आकर्षक बनाइन्छ। कृषि विभागले बिजनहरू घरमै दिने गरेको र पानीको सुविधाहरू पनि उपलब्ध गराएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘छ सातवटा ट्यांकीहरू, आवश्यक सुविधाहरू सरकारी नै पाउँदैछु। खेत जोत्नका लागि पनि पावर टिलर ट्र्याक्टर दिएका छन्। सन् २०१२ मा ठूलो दिएको थियो र पछि फेरि सानो पनि दिएको छ। पावर टिलर ट्र्याक्टर डिल्लीमाया आफू पनि चलाउँछिन् अनि छोराले पनि चलाउँछन्।

डिल्लीमायाकी श्रीमान प्रेमप्रसाद भट्टराईको देहावसान भएको यस्तै तीन वर्ष भयो, उनी पनि खेतीपातीमा सिपालु र अनुभवी थिए। डिल्लीमाया बिहान चार बजे उठ्छिन्, पूजापाठ गर्छिन्, र यसपछि बिहान नौ बजेसम्म खेतीपातीको काम गरेर पसल चलाउँछिन्, बेलुकी पनि बारीमा काम गर्छिन्। छुट्टिको दिनमा साथीहरूलाई पनि बारीमा बोलाउँछिन्, छोरा-बुहारीले पनि काम गर्छन्। उनी भन्छिन्, ‘‘बारीमा निस्केर एकछिन् माटो खेलाएन भने खाएको रुच्दैनजस्तो लाग्छ मलाई।’’ खेतीपातीकै कमाइले छोराछोरीहरू हुर्काइन्, पढ़ाइन्।

खेतीपातीको प्रेरणादायी कामले डिल्लीमाया धेरै पुरस्कार र सम्मानहरूले सम्मानित भइसकेकी छिन्। सन् 2021 मा मेघालयबाट ‘प्रोग्रेसिभ फार्मर अवार्ड’जस्ता पुरस्कार उनलाई प्राप्त भएको छ। उनीमाथि दिल्ली दूरदर्शनले वृत्तचित्र बनाएको छ भने आकाशवाणी गान्तोकमा प्राय: अन्तर्वार्ताका लागि गइरहन्छिन्। सागसब्जीमा लाग्ने किरा मार्न जैविक औषधी आफै बनाउँछिन्, र भन्छिन्, ‘‘यसको लागि गाईको गहुँत थापेर ठूला ठूला भाँड़ामा राख्छु, अनि त्यसमा धोक्रे फूल, काले झार, तितेपाती सबै ल्याएर कुटेर त्यसमा गहुँत हालेर कुहाएर राख्नुपर्छ। अनि त्यसलाई एक देखि तीन महिनासम्म राखेर स्प्रे गर्नुपर्छ, किरा सबै भाग्छ। यो पूर्ण रुपले घरेलु हो औषधी हो।’’

खेतीपातीकै सिलसिलामा डिल्लीमाया दिल्ली, कलकता, बंगलोर, देहरादुन, उत्तर प्रदेश, बिहार धेरै ठाउँमा पुगेकी छिन्। उनीकहाँ सिक्किम साथै असमतिरबाट पनि खेतीपाती अध्ययनका लागि आउँछन्। कलकतामा सेलरोटी बनाएर अवार्ड पनि जितिन्। उनी सेलरोटी मात्र होइन जेरो पनि बनाउँछिन्।

डिल्लीमायाको यात्रा केवल एक सफल किसानको होइन, आत्मविश्‍वास, निरन्तर मेहनत र प्रकृतिप्रतिको सम्मानको कार्य हो। उनले रोपेको बीउ केवल बारीमा मात्र होइन, सयौं किसानका सपनामा उम्रिरहेको छ- र यहीँबाट प्रेरणाको यात्रा कहिल्यै रोकिने छैन।

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ