बिहानको घामसँगै खेतबारीमा पसिना बगाउने ५३ वर्षकी धनमाया गुरुङका हातमा माटो मात्र टाँसिएको छैन, त्यहाँ वर्षौंको संघर्ष, लगनशीलता र जीवनका अनुभवहरू समेटिएका छन्। बाबुआमासँग खेतबारी पुग्ने सानी धनमायालाई थाहा थिएन- माटोसँगको त्यही सम्बन्धले एक दिन उनलाई सिक्किममा छुट्टै पहिचान दिलाउनेछ। उनले आज अन्नबाली, सागसब्जी र फूलखेतीलाई एकसाथ अघि बढ़ाउँदै सफलताको यात्रा निर्माण गरेकी छिन्।
‘‘संघर्ष त निक्कै कड़ा गर्नुपर्छ। कोही बेला खेतीपाती असिनाले सबै सखाप पारिदिन्छ। तर हरेश खाँदिनँ, हरेश खायो भने त जिन्दगी खत्तम हुन्छ’’
पूर्व सिक्किमको पाक्योङस्थित अप्पर नाम्चेबुङको राई गाउँ निवासी धनमाया गुरुङले पहिला बाबुआमाले गर्ने मकै, अलैंचीको पुस्तैनी खेतीपाती गर्थिन्। चन्द्रवीर गुरुङ र स्व0 धनकुमारी गुरुङका छोरी धनमायाले खेतीपातीबाट सिक्किममा आफ्नो पहिचान बनाएकी छिन्। बाबुआमाले मकै, अलैंचीको खेती गर्दा सानै उमेरमा धनमाया पनि हातेमालो गर्दै खेल्दै खेतीपातीको काम सिकिन्। ‘‘अलैंचीको खेतीमा किरा लागेर सबै सखाप भयो’’, उनी भन्छिन्।’’ पुस्तैनी खेतीलाई उनले विस्तार गरेर अघि बढ़ाइन्। अहिले मकै, कोदो, फापर, हर्दी, फूलकोपी, ब्रोकोली, मुला, मटर, रायो, डुकु, पालक, धनियाँ, पुदिना, डल्ले खोर्सानीको खेती गर्छिन्। यसबाहेक किवी पनि रोपेकी छिन् र गएको दुई वर्षदेखि फल्न थालेको छ।

खेतीपातीलाई आफ्नो जीवन शैली बनाएकी धनमायाले बेसी पढ़्न पाइनन्, आठ कक्षासम्म पढ़ेकी छिन्। खेतीपातीको ज्ञान माटोसितै खेल्दाखेल्दै पाएकी हुन्। सागसब्जीहरू बिक्री हुँदै जाँदा कमाइ हुन थालेपछि अझ बढ़ी जाँगर बढ़्दै गएको उनी बताउँछिन्। एक्लैले विभिन्न किसिमका सागसब्जीहरू रोपेर खेतीपातीलाई ठूलै रुप दिइन्। बिस्तारै उनले गरेको खेतीको चर्चा हुन थालेपछि कृषि विभाग, हर्टिकल्चर विभागबाट आएर निरीक्षण गरेपछि अझ बढ़ी जोश आएको बताउँछिन्। उनी भन्छिन्, ‘‘विभागले सागसब्जीको बीऊहरू सबै दिन्छ।’’ पाक्योङ नजिक बाबु माली काम गर्थे, उनले रोपेका फूलहरू हेरेर धनमाया फूलखेतीतर्फ आकर्षित भइन्। घरमा केही फूलहरू रोपिन्, र यस्तै सन् २०१२ देखि फूलखेती विस्तार गरिन्। उनको नर्सरीमा विभिन्न प्रजातिका करिब छ सय अर्किडहरू छन्। यसमा कतिपय दुर्लभ प्रजातिका प्रकृतिक रुपमा पाइने अर्किडहरू पनि छन्, जसलाई जंगली अर्किड भनिन्छ।

गान्तोकको व्हाइट हलतिर साथै अरुतिर हुने फूल प्रदर्शनीहरूमा भाग लिएर कुनैमा पहिलो कुनैमा दोस्रो पुरस्कारहरू जितेकी छिन्। पाक्योङस्थित इण्डियन काउन्सिल अफ् एग्रिकल्चर रिसर्च-आईसीएआर (एनआरसीओ-नेशनल रिसर्च सेन्टर फर अर्किड्स) ले प्रदर्शनीहरूमा सहभागी गराउने, प्रशिक्षण दिने र बिजन दिने गरेको उनी बताउँछिन्। यस्तै सिक्किमको फ्लोरिकल्चर विभागले पनि फूलखेतीका लागि सहयोग गर्ने गरेको उनी बताउँछिन्। आईसीएआरले राख्ने अर्किड प्रदर्शनीहरूमा उनी निरन्तर सहभागी बन्छिन्। ‘‘मेलामा राख्दा हाइब्रिड र जंगली अलग अलग राख्छौं’’, उनी भन्छिन्।
धनमायाले अर्किडहरू गमलासँगै बिक्री गर्दिनन्, केवल कट फ्लावर मात्र बिक्री गर्छिन्। उनी भन्छिन्, ‘‘पटसँगै किन्न आउँछन्, तर बिक्री गर्दिनँ।’’ उनकोबाट अर्किड कट फ्लावर किनेर दिल्लीतिर लगिन्छ। उनको नर्सरीमा अध्ययनका लागि पनि आउँछन्। ‘‘आईसीएआरले ट्रेनिङहरू गराउँछ’’, उनी भन्छिन्।
धनमायाको जीविकाको मूल आयस्रोत भनेको नै खेतीपाती हो, यसैबाट उनी पूर्ण रुपले आत्मनिर्भर बनेकी छिन्। उनी भन्छिन्, ‘‘म त एक्लै गर्छु। हप्ता दिनसम्म मल खोज्छु पत्करको, त्यसपछि पाँच छ दिन एक्लैले काट्छु, एक्लै गर्छु।’’ उनी पूर्ण रुपले जैविक प्रणालीमा खेती गर्छिन्। मलकै लागि गाई पालेकी छिन्। खेतीपाती र फूलखेतीमा चाहिने मलहरू आफै बनाउँछिन्। ‘‘एग्रिकल्चर-हर्टिकल्चर विभागले खेत जोत्नका लागि मशिन दिएको छ’’, उनी भन्छिन्। यो मशिन चलाउन मात्र छेउछाउका मानिसहरूलाई बलाउँछिन्। खेतीपातीमा गोड़्ने कामहरू एक्लै गर्छिन्, र भन्छिन्, ‘‘एक्लैले गर्नुपर्यो नी, नगरी त हाम्रो पैसा आउँदैन, हाम्रोमा कहाँबाट आउँछ र पैसा? पैसा त चाहिन्छ नी दु:ख त गर्नै पर्यो।’’ एउटी महिलाले यति ठूलो खेती एक्लैले गरेको देखेर धेरैले उदेक मान्छन्।
धनमाया खेतीपातीसँगै गाउँ-समाजमा पनि सक्रिय छिन्। गाउँको समाजमा उनी महा-सचिव हुन् भने सेल्फ हेल्प ग्रुप (एसएचजी)को सचिव हुन्। उनले आफ्नो सागसब्जीहरू, फूलहरू बिक्री गर्न पाक्योङ बजार, गान्तोकतिर पठाउँछिन्। धनमायाको नर्सरीमा केवल अर्किड मात्र होइन लिलियम, कार्नेसन, लिसियन्थस जस्ता अन्य थुप्रै किसिमका मौसमी फूलहरू छन्। यस्ता मौसमी फूलहरू राम्रो संख्यामा बिक्री गर्छिन्। सयपत्री फूलहरू धेरै मात्रामा बारी साथै गमलामा रोप्छिन्, जुन तिहारका बेला राम्रो बिक्री हुन्छ। ‘‘यसपाली निक्कै असिना-पानी परेर खेतीमा धेरै बिगार गर्यो। हालैमा राज्यको फ्लोरिकल्चर विभागले मलाई ७५० लिसियन्थस दिएको छ’’, उनी भन्छिन्, ‘‘खेतीपाती आमाबाबुले सिकाउनु भयो। म एक्लै भए पनि यही खेती नै गरेर खाँदैछु।’’
खेतीपातीले धनमायालाई फरक उचाईमा पुर्याएको छ। १५ अक्टोबर २०२४ मा ‘महिला किसान दिवस’को अवसरमा गुवाहाटीमा आयोजित कार्यक्रममा उनी ‘महिला किसान सम्मान’द्वारा सम्मानित भइन्। सन् 2015 मा सिक्किमलाई जैविक राज्य घोषणा गर्न प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किम आउँदा गान्तोकको रिज पार्कमा जैविक उत्पादनहरूको प्रदर्शनी राखिएको थियो। सो बेलाको कुरा धनमाया सम्झिन्छिन्, ‘‘त्यति बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट भयो। उहाँले मसित कुरा पनि गर्नुभयोे। उहाँसित खिचेको फोटो फ्रेम बनाएर राखेकी छु।’’
‘‘खेतीपातीबाट धेरै मान-सम्मान पाउँछु भनेर पहिला सोचेकी थिइनँ’’, धनमाया भन्छिन्, ‘‘खेतीपाती गर्दाखेरि पनि यस्तो नाम चल्दो रहेछ भनेर थाहा थिएन। अहिले खेतीपाती गर्दा सबैले चिन्छन्- यसको लागि खट्नु पनि पर्छ।’’ वर्षौंको अनुभवका कारण खेतीपाती सिक्नेहरू पनि उनीकहाँ आउँछन्। बेला बखत कहिले मिडियामा कहिले कतिवटा ठाउँमा खेतीपातीबारे बोल्छिन्।
प्रदर्शनीको स्टलमा राख्न कहिले फापरको पिठो, मकैको चामल, कोदोको पिठो, अदुवा हर्दी, सागसब्जीहरू लगेर राख्छिन्। गुन्द्रुक, सिन्कीहरू बनाएर बिक्री गर्छिन्। खेतीपातीकै सिलसिलामा उनी गुवाहाटी, हैदरावाद, पुणे, कलकता पुगिन्। बाहिर भाषाको आवश्यकताबारे उनी भन्छिन्, ‘‘भाषा त सिक्नुपर्ने रहेछ, बाहिर अप्ठ्यारो पर्दो रहेछ।’’ सिक्किम सरकारको एग्रिकल्चर, हर्टिकल्चर, फ्लोरिकल्चर अनि आईसीएआरले सहयोग गर्ने गरेको उनी बताउँछिन्।
वर्षौंको संघर्षले आज धनमाया खेतीपातीमा अग्रणी उद्यमी महिलाको रुपमा स्थापित भएकी छिन्। खेतीपातीमा संघर्षशील महिला बनेर उनले धेरै पुरस्कार-सम्मानहरू पाइसकेकी छिन्। उनी भन्छिन्, ‘‘संघर्ष त निक्कै कड़ा गर्नुपर्छ। कोही बेला खेतीपाती असिनाले सबै सखाप पारिदिन्छ। तर हरेश खाँदिनँ, हरेश खायो भने त जिन्दगी खत्तम हुन्छ।’’
माटोसँगको बाल्यकालीन सम्बन्धलाई संघर्ष, मेहनत र आत्मविश्वासले सफलताको यात्रामा रूपान्तरण गर्दै धनमाया गुरुङ आज सिक्किमकी प्रेरणादायी महिला किसान बनेकी छिन्। असिना-पानी, दु:ख र चुनौतीले रोक्न नसकेको उनको अठोटले प्रमाणित गरेको छ- माटोसँग प्रेम गर्ने हातले केवल अन्न मात्र होइन, सम्मान र पहिचान पनि फलाउँछ।












