मिथकीय गाथालाई जीवन्त बनाउँदै चित्रकार देवेन 

Share this news

युवा दर्पण 

सञ्जय प्रधान

सांस्कृतिक जटिलता, मिथकीय गाथा र अभिलेखविहीन ऐतिहासिक स्मृतिहरूलाई चित्रकलाको माध्यमबाट क्यान्भस र सिमेन्टको सिलिङमा रुपान्तरण गर्नु भनेको चुनौतीपूर्ण कार्य हो। यस्तो चुनौतीलाई ओदलाबारी निवासी देवेन देवानले पूरा गरेका छन्। मुन्दुमलाई बुझेर, अध्ययन र शोधद्वारा यसभित्रका कथाहरूलाई चित्रकलामा रुपान्तरण गरेर आफ्नो चित्रकारिताको दक्षता देखाएका छन्। यही दक्षताका कारण उनी नेपालको किरात मुन्दुम अध्ययन केन्द्रद्वारा ‘मुन्दुमी चित्रकार’को उपाधिले सम्मानित भइसकेका छन्।

शिक्षा र प्रतिभाले परिचय स्थापित गर्न सकिन्छ

स्व० इन्द्र देवान र लता देवानका छोरा देवेन देवान ललित कलामा पोट्रेट, ल्याण्डस्केप र भिजुअल चित्रकार हुन्। ओदलाबारीमा जन्मिएका देवेनका लागि पहिला चित्रकला नशा थियो, अहिले भरपर्दो पेशा भएको छ। ‘नक्सा बनाएर के गरी खान्छस्’ भन्ने भनाइलाई गलत साबित गरिदिएका छन्। उनको चित्रकारिताको करियर धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। बाबु पेशाले मोटर मेकानिक थिए, र यसैको व्यवसाय चलाउँथे। आज पनि बाबुको यो पेशा तीनजना कर्मचारीलाई जिम्मा दिएर यथावत राखेका छन्।

मुन्दुमी चित्रकार देवेन देवान

देवेन आफू चित्रकलाको पेशामा पूर्ण रुपले व्यस्त रहन्छन्। सानैदेखि चित्रकलामा रुचि थियो। बाबुले खुबै राम्रो स्केच गर्थे, र यही हेरेर झनै चित्रकलामा चासो बढ़्यो। प्राथमिक शिक्षा मिरिकको ओरेन्ज लेकबाट हासिल गरेर ओदलाबारीमै माउन्टेन भ्यू इङ्गलिस स्कूल पढ़्न थाले। यहाँ पढ़्दै गर्दा अचानक बाबुको देहवासन हुँदा परिवारको धरातल धरमरायो। देवेन भन्छन्, ‘‘बाबु बितेपछि आमा र तीन छोराहरू भएको घरमा निक्कै समस्या झेल्नु पर्‍यो। व्यापार सम्हाल्नु पर्‍यो पढ़ाई रोकियो।’’

जीवनमा आएको ठूलो चुनौती सामना गर्दै बाबुको व्यापार चलाए र एनओएसबाट माध्यमिक तथा उच्च माध्यमिक शिक्षा पूरा गरे। उनको सपना थियो शान्ति निकेतनमा ललित कला पढ़्ने, तर बाबुको देहवासनपछि रोकियो। माल बजार निवासी चित्रकार अजय थापासँग चित्रकला सिके। शान्ति निकेतनको सपना उनले कलकाताको पूर्वी कला केन्द्रबाट पूरा गरे। यहाँबाट ललित कलामा तीन वर्षको सिनियर डिप्लोमा, दुई वर्षको विशारद र दुई वर्षको कलाविद अध्ययन गरे।

उनको चित्रकारिताको यात्रामा एउटा रोमाञ्चक मोड़ आयो- मुन्दुममाथिको चित्रकला। पोट्रेट र ल्याण्डस्केपभन्दा फरक यस चित्रकलाको प्रस्ताव सिक्किमको पारुहाङ साप्तेन माङ्खिम सह-अन्तर्राष्ट्रिय किरात राई भाषिक तथा सांस्कृतिक अनुसन्धान केन्द्रबाट आयो। गान्तोक नजिकैको राँकास्थित राई गाउँमा अवस्थित केन्द्रले ‘प्रकृति पूजा’को चित्र बनाउन प्रस्ताव गर्‍यो। पाँचजना  माङ्पा (धामी), पाँचजना भद्र मानिस र तीनजना वृद्धसहित १३ जनाको दृश्य चित्रण गर्ने कार्य थियो। अभिलेख नभएकाले उनले गहिरो अध्ययन गरे र दुई महिनामा सबैको ध्यान खिच्ने चित्र बनाए।

त्यसपछि उनले माङ्खिमका लागि मुन्दुमी मिथकमा आधारित चित्रहरूको श्रृङ्खला बनाउन थाले। ४ फिट उचाइ ६ फिट लम्बाइदेखि ५ फिट उचाइ ८ फिट लम्बाइसम्मका क्यानभासहरूमा कथाहरूलाई चित्रमा रुपान्तरण गरे। पहिलो खेपमा १९ वटा र दोस्रोमा २३ वटा गरी उनले सन् २०२२ को जनवरीदेखि दिसम्बरसम्म चित्र बनाइ सिध्याए। उनले सबै चित्रमा उच्च गुणस्तरको एक्रेलिक रंग प्रयोग गरेका छन्, जुन दुई-तीन सय वर्षसम्म सुरक्षित रहनसक्ने बताउँछन्। यी चित्रहरूमा कुनैको पृष्ठभूमिमा हिमाल, त्यहाँदेखि मुन्तिर स्वच्छ हरिया डाँड़ाहरू, यसको फेदमा कृषिखेती, गाउँ र किराती शैलीका घरलाई दर्शाएका छन्।

सिलिङमा पनि निलो आकाशमा हल्का सेता बादलहरूबीच मुन्दुमी चराहरू उड़िरहेको चित्र बनाएका छन्। यी चराहरु कोही हङ्रायो, धनेश रहेको उनी बताउँछन्। हरेक चित्रमा विषयवस्तु अनुसार चरित्रहरू जीवन्त छन्, जुन नेपाली कलाका जल्दाबल्दा उदाहरण हुन्। हाल उनी राई जातिको जन्मदेखि मृत्युसम्मको संस्कार दर्शाउने अझ १८ वटा मुन्दुमी चित्रहरू बनाइरहेका छन्। यसमा सहयोगीहरूमा सञ्जय थापा, दिपेन राई, देवेन्द्र राई र विकास सुब्बा छन्। राँकामा माङ्खिमकै युनिट तीन तारे होटलमा पनि उनले यस्तै ३० वटा मुन्दुमी चित्रहरू बनाएका छन्। उत्कृष्ट कलाकारिताका लागि उनी सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनका राजनैतिक सचिव जेकाब खालिङबाट सम्मानित भइसकेका छन्। जयगाउँमा पनि सम्मानित भएका छन्।

उनी विश्‍वविख्यात चित्रकारहरू लियोनार्दो भिन्सी, माइकल एन्जेलो, भ्यानगगका चित्रहरूबाट धेरै नै प्रभावित भएका छन्। उनी चित्रहरू बनाउँदा मान्छेलाई नै मोडलको रुपमा राखेर बनाउँछन्। मोडलको रुपमा उनले आफ्नो बड़ाबाबुकी छोरी दिदी तोसिबा राईलाई मोडलको रुपमा राख्छन्। उनका अनुसार, दिदी तोसिबा राईले चित्रकला साथै जीवनको हरेक मोड़मा भरपुर सहयोग गरेकी छिन्। मुन्दुमी पात्र दिदी तयामा र बहिनी खियामाको मोडल खुशी राई हुन् भने मुन्दुमी पात्र भाई लोडमाले (हेत्छाकुपा) र बुहारी रिनाखाको मोडल सचिन राई र उनका श्रीमती चन्दा मगर राई हुन्। आफ्नो सङ्घर्षमय यात्रामा पत्नी ललिता राई चट्टानजस्तै खड़ा भएर हौसला दिएको देवेन बताउँछन्। उनी मुरल चित्रकार पनि हुन्, जुन चाहिँ धार्मिकस्थल, होटल, घरका भित्ताहरूमा बनाइन्छ।

चित्रकलाको क्षेत्रमा रोजगारीका व्यापक अवसरहरू रहेको देवन बताउँछन्। चित्रकलालाई करियर बनाउन चाहने नयाँ चित्रकारहरूलाई एप्लाइड आर्ट लिने सुझाव उनी दिन्छन्। यसबाट भारत साथै विदेशतिर प्रशस्तै अवसर रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘‘चित्रकलामा ज्ञान प्राप्त गरेर यसको व्यवसाय पनि सिक्नुपर्छ। आफ्नो कामको राम्रो ब्राण्डिङ गर्नसक्नु पर्छ।’’ उनी भन्छन्, ‘‘शिक्षा र प्रतिभाले परिचय स्थापित गर्न सकिन्छ।’’ आफ्नो नशालाई पेशा बनाएर उनले समग्रमा नेपाली संस्कार-संस्कृतिलाई क्यानभासमा रुपान्तरण गरेर नयाँ चित्रकारहरूलाई नयाँ दिशा देखाएका छन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ