गत चारवर्षदेखि बहरिनमा कार्यरत् खरसाङ निवासी मिण्टु सुब्बाको पार्थिव शरीर आज सकुशल घर ल्याइपुऱ्याइयो। तिनको निधन गत 29 मार्चमा आकस्मिक निधन भएको थियो। तर हाल खाँड़ी मुलुकतिर भइरहेको युद्धको कारण स्वर्गीय सुब्बाको पार्थिव शरीरलाई घरसम्म ल्याउन परिवारपक्ष असमर्थ बनिरहेका थिए। यस्तो अवस्थामा दार्जीलिङ माटोको माया सेवा संस्था अनि यसका अध्यक्ष दिवस दियालीले विशेष पहल शुरु गरेपछि प्रायः तेह्र दिनपछि तिनको पार्थिव शरीर शुक्रवार घर ल्याइपुऱ्याइयो।
बिहीवार स्वर्गीय सुब्बाको पार्थिव शरीरलाई साउदी अरबबाट दिल्ली अनि त्यसपछि कलकत्ता ल्याइपुऱ्याइपछि त्यहाँ सुब्बाका परिवारपक्ष अनि दार्जीलिङ माटोको माया सेवा संस्थाका प्रतिनिधिहरूले आफ्नो जिम्मामा लिएपछि एम्बुलेन्स मार्फत शुक्रवार बिहान प्रायः साढ़े चारबजी तिनको घर खरसाङ ल्याइपुऱ्याइयो। यसबारे जानकारी गराउँदै परिवारपक्षले मिण्टु सुब्बाले आफू छुट्टीमा आउनको निम्ति 8 अप्रेलको हावाई जहाजको टिकट समेत काटेकी थिइन्। तर यसैबीच तिनको आकस्मिक निधन भएपछि सपरिवारमा बज्र पऱ्यो। मृत्युको कारण उस्तो थाहा नलागेपछि स्व0 सुब्बा त्यहाँ भइरहेको युद्धको कारण मानसिक तनावमा थिइन् अथवा तिनीभित्र एकप्रकारको डर अनि त्रास थियो,जुन कुरालाई तिनले आफ्ना परिवारसँग साझा पनि गरेकी थिइन्। यसैबीच तिनको निधन भएपछि घरकाहरू पनि आश्चर्यचकित बनेको बताएका छन्। तर अब तिनको पार्थिव शरीरलाई त्यहाँबाट घरसम्म ल्याइपुऱ्याउन धेरै कठीन भइरहेको समय दिल्लीमा एउटा संस्था चलाइरहेकी तिनकी फुपुले संस्थाको कार्यकर्ता पञ्चु थामीसँग कुरा गरेपछि तिनले माटोको माया सेवा संस्थासँग सम्पर्क गराएपछि माटोको माया सेवा संस्थाले खुबै सक्रियताका साथ अनि पूर्ण समर्पण भएर लगातार रुपमा कार्य गरेपछि आज सुरक्षित पूर्वक आफ्ना परिवारको सदस्यको पार्थिव शरीरलाई यसरी घरसम्म ल्याइपुऱ्याउन सक्षम बनेको जनाउँदै माटोको माया सेवा संस्था अनि यसका अध्यक्ष दिवस दियाली अनि सम्पूर्ण सदस्यहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। यदि माटोको माया सेवा संस्थाले यस्तो पहल र सहयोग नगरेको भए यसरी घरसम्म ल्याउन सकिने थिएन भन्दै उनीहरूको यो गुणलाई आजन्म नभूल्ने पनि जनाएका छन्।
यता संस्थाको पक्षबाट संयोजक मणिन्द्र सुब्बाले माटोको माया सेवा संस्थाले यसभन्दाअघि पनि यस्ता धेरै आपद्-विपदमा परेकाहरूको उद्धार गर्ने तथा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको जनाउँदै मानव सेवाको सोच लिएर अघि बढ़िरहेको यस संस्थालाई आगामी दिनमा अझ यस्ता धेरै सुकार्यहरू गर्नको निम्ति सबैले साथ र सहयोग दिने आग्रह गरे। तिनले संस्थाका अध्यक्ष दिवस दियाली आफू स्वयं पनि परदेशमा रहेर यस्ता सेवामूलक कार्यहरू गर्न पछि हट्दैनन् भन्दै स्व0 मिण्टु सुब्बाको पार्थिव शरीरलाई घरसम्म ल्याउनको निम्ति पनि उनको महत्त्वपूर्ण अनि ठूलो साथ, सहयोग र सहभागिता रहेको जनाए। तिनले नै एम्बासीहरूतिर सम्पर्क गरेर कसरी मिण्टुको पार्थिव शरीरलाई घरसम्म पुऱ्याउन सकिन्छ भन्नेर बारम्बार संस्थाका सदस्यहरू पनि सम्पर्क स्थापित गरेर आज प्रायः तेह्र दिनमा उनको शरीरलाई घर ल्याउन सक्षम बनेको जनाए। यदि भविष्यमा यस्ता घटनाहरू कसैसँग घटे अथवा कोही पनि यस्ता घटनाहरूको शिकार भए तिनीहरूले निःसंन्देह अनि निःसंकोच माटोको माया सेवा संस्थासँग सम्पर्क गर्न सक्ने जनाउँदै यस कार्यलाई सफल बनाउन सबै प्रकारको सहयोग प्रदान गरेकोमा संस्थाका अध्यक्ष दिवस दियालीलाई संस्थाका सम्पूर्ण सदस्य अनि शोकित परिवारको पक्षबाट आभार व्यक्त गरेका छन्। स्व0 सुब्बाको अन्तिम संस्कार शुक्रवार उनको पैतृक थलो तीनधारे लगियो भने त्यहीँ नै तिनको अन्तिम संस्कार पनि गरियो।












